पहिले आगलागी पिडित, अहिले नगरपालिका पीडित

0
123

काँकरभिट्टा । भानुटोलका आगलागी पीडित सुकुम्बासीले टहरा नहटाए डोजर लगाउने धम्कीको विरोध गर्दै गरीब उठिवास गराउँने सरकारको आलोचना गरेका छन् ।

पाँचदिन भित्र टहरा हटाउन सूचना जारी गर्दा नगरपालिकाका उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहितको टोलीले डोजर लगाएर टहरा भत्काइदिने धम्की दिए ।

गत पुस १२ गते राती ८ बजे भएको आगलागी बाट घोसखानमा साना  छाप्रा हालेर जीवकोपार्जन गर्दै आएका २२ घर परिवारको विचल्ली भएको थियो । आगलागीबाट सर्वस्व गुमाएका उनीहरुको बसोवासको व्यवस्थापन गर्नको सट्टा उठिबास लगाउने प्रपन्चमा नगरपालिका जुटेको उनीहरुले बताएका छन् ।

‘हामीले पटक पटक राहत र वसोवासको व्यवस्थापन गर्न आग्रह गर्यौं,” आगलागी पीडित गोपाल मिश्रले चार महिनादेखि आफुहरु विचल्ली भएको बताउँदै भने–“ हाम्रो कुरा कसैले सुनेनन्,” आगलागीपछि नगरपालिकाले कुनै न कुनै व्यवस्थापन गर्ला भनेर पर्खिएको पनि उनीहरुले बताएका छन् ।

“यत्तिका समयसम्म पख्यौं, बर्खा लाग्न लागे पछि फेरी टहरा हालेर लालाबालालाई राख्न खोज्दा डोजर लगाएर हटाउँने धम्की आयो” उनले भने ।

२२ घर परिवार मध्ये १४ घर परिवारले सोही स्थानमा फेरी छात्रा हालेका छन्े भने अन्य ८ घर परिवारले आर्थिक अवस्था नभएका कारण छात्रा हाल्न नसकेको पीडित मानप्रसाद गुरुङले बताए । गुरुङ अजै त्रिपालको सहारामा गुजारा गरिरहेका छन् ।

ख्याम्याङले दिए धम्की

पाँच दिनको म्याद सकिएको दिन नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख महेन्द्रकुमार ख्याम्याङले टहरा हटाउन धम्की दिएको पीडितले बताएका छन् । प्रहरी सहित उपप्रमुखसँगै घोसखान पुगेका ख्याम्याङले गरीबले आफ्नो हैसियतमा बस्नु पर्ने अन्यथा यस्तालाई तहलगाउँन आफुले जानेको भन्दै धम्क्याएको पीडितले बताएका छन् ।

आगलागी पीडित मदन कडेलले भने “स्थानीय सरकारले त हाम्रो दुख पो बुझ्ने हो तर, हामीलाई त तह लगाइदिने धम्की दिदाँ पनि जनप्रतिनिधि कोही बोल्दैनन् ।” आगलागी भएको ठाउँमा ठुलो कमर्सियल महल बनाउँने योजना सहित नगरपालिकाले उपभोक्ता समिति समेत निर्माण गरिसकको स्थानीयले बताएका छन् । तर उपभोक्ता समिति बनेको उनीहरुलाई भने थाहा छैन ।

नगरपालिका जसरी पनि उनीहरुलाई हटाउँने योजनामा छ भने पीडितहरु उचित व्यवस्थापन नभइज्याल कुनै हालतमा नहट्ने अडानमा छन् । आगलागी पीडिहरुको शनिवार बसेको एक भेलाले “मर्ने तर नहट्न” अडान राखेको स्थानीय अगुवा युवा गोपाल सिवाकोटीले बताए ।

साँसद र दल पनि पीडितको पक्षमा किन देखिएनन् ?
पुस १२ गते आगलागी भई बेघरबार बनेका भानुटोलका सुकुम्बासीहरुलाई नगरपालिकाले डोजर लगाउने धम्की दिइरहेको छ । राजनैतिक दल, साँसदहरुसमेतसँग सल्लाह परामर्श गरेर उनीहरुको उठिबास गर्ने सहमति भएको विज्ञप्ती नै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रकाशन गरेका छन् ।

नगरपालिका स्थापना हुनु पूर्व देखि बसोवास गरिरहेका उनीहरुलाई नगरपालिकाको तर्फबाट प्रकाशित गरिएको सूचनामा नगरपालिकासँग अनुमति नदिई बसोवास गरेको भन्ने उल्लेख गरिएको छ ।

सुरुमा घोसखानका लागि भनेर छुट्याइएको सो जग्गामा हाल नगरपालिकाले बहुउद्देश्यीय भवन निर्माण गर्ने भन्दै अग्नि पीडितको उठिबास गराउने योजना बनाएको छ । यो योजनामा साँसद र राजनीतिक दलका मान्छेहरुको पनि सहमति भएको सूचनामा उल्लेख छ ।

नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख भएको माननीय र दलहरुको सहमति भन्ने शब्दको खण्डन नहुनुले उनीहरुपनि नगरपालिकासँग मिलेको पीडितहरुले गुनासो गरेको छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्