नारी सञ्चार गृहको पद हस्तान्तरण

0
2

बिर्तामोड । नारी सञ्चार गृह झापाको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम आज झापाको विर्तामोडमा सम्पन्न भएको छ ।

गत माघ २५ गते सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो ।

नारी सञ्चार गृहकी निवर्तमान अध्यक्ष शावित्रा दाहालले नवनिर्वाचित अध्यक्ष अम्बिका भण्डारीलाई संस्थाको माइन्युट तथा खातापाता हस्तान्तरण गर्दै पद हस्तान्तरण गरिन् ।

भवानी क्षेत्रीको संयोजकत्वमा इन्दु पूर्वेली र लीला अनमोल सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

अम्बिका भण्डारीको नेतृत्वमा गठित समितिको उपाध्यक्षमा भीमा शिवाकोटी, सचिवमा रेजिना गौतम, सहसचिवमा स्वस्तीका आचार्य, कोषाध्यक्षमा सुशीला संग्रौला छन् ।

सदस्यमा ज्योस्ना श्रेष्ठ, भूमिका सुब्बा र राधा खनाल छन् ।

भूगोल र जातजातिको आधारमा नयाँ समितिले केही सदस्य थप गर्ने बताइएको छ ।

सोही अवसरमा २०२६ सालमा प्रकाशक/सम्पादकको भूमिका निर्वाह गर्दै झापाली पत्रकारितामा कलम चलाउने पहिलो महिला पत्रकार बेदकुमारी रेग्मीलाई नगद पुरस्कार, सम्मान पत्र र दोसल्ला अर्पण गर्दै सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्वको जीवनीबारे भवानी क्षेत्रीले प्रकाश पारेको कार्यक्रममा सम्मानपत्र वाचन स्वस्तीका आचार्यले गरिन् ।

कमल गाउँपालिकाकी अध्यक्ष मेनका काफ्लेको प्रमुख आतिथ्य र नारी सञ्चार गृहकी निवर्तमान अध्यक्ष शावित्रा दाहाल तथा नवनिर्वाचित अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेनका काफ्ले, विशिष्ट अतिथि तथा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा वीरता जेसीजका अध्यक्ष एकराज गिरी, बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाई, सम्मानित व्यक्तित्वका तर्फबाट भाषाविद चुडामणि रेग्मी, नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाललगायतले शुभकामना मन्तब्य राखेका थिए ।

शुभकामना राख्ने अधिकांश वक्ताहरुले सामाजिक विषयवस्तु र खोजमूलक समाचारलाई प्राथमिकता दिँदै न्यायमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

भीमा शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन इन्दु पूर्वेलीले गरेकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्