कनकाई अस्पतालमा उत्पन्न बिवाद साम्य, गल्ती गर्ने प्रहरीलाई कार्वाही हुने

0
229

शम्भु दाहाल
झापा । बिरामीको मृत्यु पश्चात बिर्तामोडको कनकाई अस्पतालमा उत्पन्न तनाव सहमती पछि साम्य भएको छ । पिडित पक्ष र अस्पताल प्रशासन बीच आइवार राती दुई बुँदे सहमती भएसँगै पिडितले लास उठाएका छन् ।

उपचारका क्रममा मृत्यु भएकी बिविता तामाङको परिवारलाई समवेदना स्वरुप ५ लाख रुपैयाँ क्षतीपूर्ती दिने सहमती भएको छ । उपचारका क्रममा स्वास्थ्यकर्मीको लापरवाही भएको नभएको छानबिन गर्न ९ सदस्य छानविन समिति गठन गरि १० दिन भित्रमा बिर्तामोड नगरपालिकामा प्रतिबेदन बुझाउने सहमती पत्रमा उल्लेख छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजेन्द्र कुमार लिङदेनको संयोजकत्वमा बनेको छानबिन समितिमा स्वास्थ्यकर्मी, जनप्रतिनिधी र अस्पतालका प्रतिनिधि र पिडित पक्षका प्रतिनिधि रहेका छन् ।

बिर्तामोड नगरपालिकाका मेयर ध्रबकुमार शिवाकोटी र अर्जुनधारका मेयर हरीकुमार रानाको रोहवरमा समती पत्रमा हस्ताक्षर भएको छ । बिर्तामोड नगरपालिकाको कार्यालयमा भएको छलफलमा झापा प्रहरी प्रमुख दिनेशाज मैनालीको पनि उपस्थिति रहेको थियो ।

गोली ठोक्छु भन्ने प्रहरीलाई कार्वाही हुने

झापाका एस्पी दिनेशाज मैनालीले बिना कसुर जनप्रतिनिधी माथी लाठी प्रहार गर्ने प्रहरीको पहिचान गरि तीन दिन भित्र कार्वाही गर्ने बताएका छन् । छलफका क्रममा बोल्दै मैनालीले पत्रकारले खिचेको भिडियो र अस्पतालको सिसिक्यामेराको फुटेज हेरेर दोषीलाई तीन दिन भित्र कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बार्तामा बसिरहेका सुर्योदय वडा नम्बर १० का अध्यक्ष पेमा उगेन लामालाई प्रहरीले टाउको र ढाडमा लाठी बजारेको थियो । इलाका प्रहरी कार्यालय धुलावारी इन्पेक्टर टिका कार्कीले लामालाई गोली ठोक्छु भन्दै लछारपछार गरेको लामाले बताएका छन् । वडा अध्यक्ष लामा मृतकका तर्फबाट बार्तामा बसेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्