सीमावर्ती नाकामा वन्यजन्तुको तस्करी मौलायो, हरिणको सिङसहित नेपाली नागरिक भारतमा पक्राउ

0
19

(पार्थ मण्डल) झापा । झापाका सीमावर्ती नाकाबाट वन्यजन्तुको छाला तथा हड्डी तस्करी अझै रोकिएको छैन । नेपालका वन्यजन्तुको छाला तथा हड्डी भारततर्फ तस्करी हुँदा समेत यसको नियन्त्रण तथा रोकथामका लागि झापाका प्रहरी, प्रशासन असफल देखिएको छ । जसका कारण सीमावर्ती नाकामा छाला तथा हड्डी तस्करीको मौलाएको हो ।

सीमावर्ती नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी छाला तथा हड्डी तस्करी नियन्त्रण गर्न असफल देखिएको अवस्थामा भारतीय सुरक्षाकर्मी सफल भएको देखिन्छ । यसैक्रममा जङ्गली हरिणको सिङसहित एक नेपाली नागरिकलाई भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्लाको ठाकुरगञ्जबाट एसएसबी १९ नम्बर बटालियन टोलीले पक्राउ गरेको छ ।

एसएसबीका उप सेना नायक अन्जयकुमार रजकको नेतृत्वको टोलीले विशेष सूचनाको आधारमा हरिणको सिङसहित बाह्दशी गाउँपालिका राजगढ बस्ने २४ वर्षीय सदरुल आलमलाई पक्राउ गरेको एसएसबीले जनाएको छ । दक्षिणी झापाको कचनकचव नाकाबाट मोटरसाइकल चढेर आलम भारतको ठाकुरगञ्ज बजारतर्फ गरेका थिए । ठाकुरगञ्ज पुगेका उनलाई एसएसबीले हरिणको आधा दर्जन सिङसहित रंगेहात पक्राउ गरेको हो ।

हरिणको सिङसहित पक्राउ गरिएको आलमलाई आवश्यक कारबाहीका लागि एसएसबीले वन विभागलाई जिम्मा लगाइसकेको जनाइएको छ । भारतीय एसएसबीले सो नाकाबाट भारततर्फ वन्यजन्तुको छाला तथा हड्डी तस्करी गर्ने व्यक्तिलाई यसअघि पनि पटक पटक पक्राउ गरिसकेको छ । तर, झापामा अहिले सम्म छाला तथा हड्डीको तस्कर गर्ने गिरोहका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । यता स्रोतका अनुसार सो नाकाहरूबाट अहिले पनि नेपालका वन्यजन्तुको छाला, रौ तथा हड्डी तस्करी हुँदै आइरहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्