झापामा बाउन्सको चेक दिनेको संख्या बढ्यो

0
143

झापा । पछिल्लो समय झापामा पनि चेक बाउन्सको समस्या बढेको । गत वर्ष एउटा पनि चेक बाउन्सको उजुरी नपरेको इलाका प्रहरी कार्यालय अनारमनीमा यस वर्ष चेक बाउन्सका नौ वटा उजुरी परेका छन् । अधिकांश उजुरीमा साथीले नै झक्याएको भनिएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मोहन कुमार थापाका अनुसार मंसीरमा १, फागुनमा २, चैतमा ३ र जेठमा तीन वटा उजुरी परेका छन् । विशेषगरी काठमाडौंमा यस्तो समस्या धेरै आउँथे थापाले भने– ‘झापामा पनि चेक बाउन्सको समस्या देखापर्न थाल्यो ।’

थपाका अनुसार काठमाडौंमा दैनिक ५०÷६० वटा यस्ता उजुरी पर्ने गरेका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा काठमाडौंमा पाँच हजार सात सय ९५ वटा उजुरी परेकोमा नौ सय १० वटा मुद्दा फर्छाैट भएको थापाले जानकारी दिए ।
‘जनशक्ति र स्रोतसाधनको कमीका कारण चेक बाउन्सका मुद्दा हेर्न प्रहरीलाई निकै समस्या छ’ –उनले भने– ‘अन्य मुद्दाका कारण चेक बाउन्सका मुद्दा ओझेलमा पर्ने गरेका छन् । तर, झापामा म त्यस्तो हुन दिन्न ।’

पछिल्लो समय प्रहरीले चेक बाउन्सको मुद्दा हेर्न थालेपछि यसको दुरुपयोग पनि बढेको तथ्याङ्कले देखाएको छ । चेक मार्फत लेनदेन गर्दा यस्तो समस्या आएको हो प्रहरी उपरीक्षक थापाले भने– ‘चेक बाउन्स मुद्दामा अदालतले जति रकम चेकमा छ सोही बराबर धरौटी माग्ने गरेको छ ।’

चेक बाउन्स भएको प्रमाणित भएपश्चात अदालतले सजाय तोक्ने गरेको छ । चेक बाउन्स प्रमाणित भएको खण्डमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम प्रहरी कार्यालयमा जाहेरी दरखास्त दर्ता गरी सरकारवादी फौजदारी मुद्दाको रुपमा कारवाही हुने व्यवस्था छ ।

प्रहरी कार्यालयमा उजुरी गर्ने हदम्याद बाउन्स भएको मितिले एक वर्ष रहने व्यवस्था गरेको । विनियम अधिकार पत्र ऐन, २०३४ बमोजिम चेक बाउन्स भएको मितिले पाँच वर्ष्भित्र सिधै सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिने प्रहरी उपरीक्षक थापाले बताए ।

‘बंैकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) मा आफ्नो खातामा मौज्दात रकम नभएको जानी–जानी चेक काटी दिन नहुने । दिएमा दफा १५ मा देहाय बमोजिम सजाय हुने व्यवस्था गरेको छ’ –थापाले भने– ‘बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिम जरिबाना र तीन महिनासम्म कैद हुन्छ ।’ चेक बाउन्स भएमा राष्ट्र बैंकमा कालो सूचीमा राख्न समेत सकिने व्यवस्था गरेको उनको भनाई छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्