कचनकवलमा विषालु सर्पको बिगबिगी : स्थानीयद्धारा सर्पदंश उपचार केन्द्रको माग

0
285

भद्रपुर । झापाको दुर्गम क्षेत्र भनेर चिनिने कचनकबल गाउँपालिकामा स्थानीयवासीले सर्पदंश उपचार सेवा माग गरेका छन् । सर्पले डसेका विरामीले उपचारका लागि टाढा धाउनु पर्दा ज्यान जाने जोखिम भएको जनाउँदै स्थानीय ठाउँमै सर्पदंश उपचार केन्द्र स्थापना गरिनु पर्ने कचनकबलबासीको माग रहेको छ ।

गत वर्षको असार २२ गते कचनकबल गाउँपालिका वडा नं। ३ की १५ वर्षीया स्वस्तिमा भट्टराईको सर्पले डसेर मृत्यु भएपछि कचनकबलबासी झस्किएका छन् । आफ्नै ठाउँमा उपचार केन्द्र भए स्तस्तिमाको अकालमा ज्यान जाने थिएन भनेर स्थानीयबासी बनियानी बजारमा उपचार केन्द्र स्थापनाको अभियानमा जुटेका छन् । गर्मी याम सुरु भएसँगै झापामा सर्पको विगविगी सुरु भइसकेको छ । कचनकबलबाट नजिक भनेको मेचीनगरको चारआलीस्थित सर्पदंश उपचार केन्द्र नै ५० किलोमिटर टाढा पर्दछ । कनकाई र दमकमा रहेको सर्पदंश उपचार केन्द्र त्योभन्दा दोब्बर दुरीले टाढा छ ।

कचनकबल–७ स्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापक टिकाराम गुरुङ सरकारले दक्षिण झापाको दुर्गम भेगका लाखौं नागरिकलाई सर्पको डसाइबाट अकालमा ज्यान जान नदिन बनियानीमा सर्पदंश उपचार केन्द्र स्थापना गर्नु पर्ने बताए ।बनियानी बजारमा चिया पसल सञ्चालन गर्दै आएका उमेश भट्टराईले विगत १५ वर्षदेखि स्थानीयबासीले कचनकबल क्षेत्रमा सर्पदंश उपचारको आवश्यकता औँल्याउँदै आए पनि जनताको मागको सुनुवाई नभएको गुनासो व्यक्त गरे ।

स्थानीय युवाहरुले ‘दक्षिण क्षेत्रमा सर्पदंश उपचार केन्द्र चाहियो’ भन्ने भित्तेलेखन समेत गरेर सरकारी निकायको ध्यानाकर्षण गर्दै आएको सर्पदंश उपचार केन्द्र स्थापनाको अभियन्ता भट्टराई बताउँछन् । कचनकबल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापामगरले स्थानीयको माग भए पनि गाउँपालिकासँग साधनस्रोत न्यून भएकाले आफ्नै बलबुतामा सर्पदंश उपचार केन्द्र स्थापना सम्भव नहुने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी कचनकबलका गाउँ समिति अध्यक्ष रविचन्द्र ओझाले प्रदेश र संघीय सरकार गुहारेर भए पनि सर्पदंश उपचार केन्द्र बनाउनु पर्ने धारणा व्यक्त गरे ।रासस

प्रतिक्रिया व्यक्त गर्नुस्