काँकरभिट्टा नाकाबाट ४ अर्ब ४४ करोडको तरकारी नेपाल भित्रियो

0
12

बिर्ताज्योती ब्युरो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ४४ करोड रुपैयाँ मुल्य बराबरको तरकारीजन्य वस्तु आयात भएको छ । गत आर्थिक वर्षमा ४ अर्ब ३६ करोड मूल्य बराबरको तरकारीजन्य वस्तु आयात भएको थियो ।

काँकरभिट्टास्थित मेचीभन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको असार तेस्रो सातासम्म भारतबाट १ लाख मेट्रिक टन तरकारीजन्य वस्तु नेपाल भित्रिएको छ । गत आर्थिक वर्षमा पनि १ लाख ३ हजार मेट्रिन तरकारी नेपाल भित्र्याईएको थियो । आयात भएको सबैभन्दा बढी तरकारीजन्य वस्तु मध्ये आलु र प्याज रहेको छ । यो वर्ष झण्डै २० हजार टन आलु र पाँच हजार टन प्याज नेपालमा आयात गरिएको छ । त्यस्तै भारतबाटै गोलभेंडा, लसुन, दाल, केराउ, बोडी साथै सागपात र हरियो तरकारी नेपाल भित्रिएको छ ।

भन्सार कार्यालयले तरकारीजन्य वस्तुको आयातबाट चालु आर्थिक वर्षमा ३८ करोड ४७ लाख ७२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, गत आर्थिक वर्षमा २६ करोड ९४ लाख रुपैयाँ तरकारी आयातबाट राजश्व संकलन भएको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिनुभयो ।

यस अवधीमा नेपालबाट समेत तरकारीजन्य वस्तुको निर्यात भएको देखिन्छ । नेपालबाट चालु आर्थिक वर्षमा १२ हजार २ सय ३८ मेट्रिक टन तरकारी निर्यात भएको छ । जुन एक अर्ब २६ करोड ६९ लाख रुपैयाँ मुल्य बराबरको हो । यसबाट भन्सार कार्यालयले १ करोड २० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा समेत ९९ करोड २१ लख मुल्य बराबरको ११ हजार २ सय ९८ मेट्रिकटन तरकारी भारत निकासी भएको थियो । सो अवधीमा तरकारीजन्य वस्तुको निकासीबाट भन्सार कार्यालयले ९९ लाख ६६ हजार रुपैयाँ राजश्व असुली गरको थियो ।
सरकारले जीवनाशक विषादीको अवशेष परीक्षण गरेर मात्र आयात गर्न पाइने कानुन बनाई गत असार ३ गते राजपत्रमा प्रकाशित गरेको थियो । तर सो निर्णयमा टिक्न सकेन र गत असार १३ गतेको मन्त्रिपरिषद् बैठकबाट हालको अवस्थामा आवश्यक उपकरण ल्याब नभएको भन्दै पहिलेकै अवस्थाबाट तरकारीजन्य वस्तु आयात गर्ने गरी छुट दिएको थियो । जसका कारण त्यसपछि मेची भन्सार कार्यालयमा तरकारीजन्य वस्तुको आयात न्यून भएको थियो । तर अहिले भने आयातनिर्यात सामान्यअवस्थामा आएको भन्सार प्रमुख अर्यालले बताउनुभयो ।

कृषिजन्य वस्तुको निर्यात बढी

पूर्वी नाका काँकरभिट्टाबाट निर्यात हुने प्रमुख १० वस्तुमध्ये कृषिजन्य उत्पादन बढी छ । निर्यात हुने मध्ये ७१ प्रतिशत वस्तु नेपालको कृषिजन्य उत्पादन छ ।

चालु आर्थिक वर्षको जेठसम्ममा नेपालबाट सबैभन्दा बढी २ अर्ब २५ करोड १६ लाख मुल्य बराबरको चिया भारत निर्यात भएको छ । त्यस्तै, नेपालबाट दोस्रोमा कर्कट तथा जस्तापाता निर्यात हुने गर्दछ ।

त्यसपछि भने क्रमशः अलैँची, मुसुरो दाल र अम्रिसो कुचो बढी निकासी हुने गरेको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाउँछ ।

पेट्रोलियम पदार्थको आयात धेरै

काँकरभिट्टा नाकाबाट आयात हुने प्रमुख मालवस्तु मध्ये पेट्रोलियम पदार्थ पहिलो हो । आयातवस्तुमध्ये सबैभन्दा बढी पेट्रोलियम पदार्थ २७ प्रतिशत ओगट्छ ।

चालु आर्थिक वर्षको जेठसम्ममा यो नाकाबाट २ अर्ब २१ लाख मुल्य बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ । त्यसपछि क्रमशः कोइला, किङ्कर, बंगलादेश जुस बढी आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्