फौजीमा फेल, कृषिमा पास

0
68

शम्भु दाहाल
झापा । गाउँ घरमा लाउरेको छुट्टै सान र मान हुन्छ । लाउरेहरुलाई ‘देशी’ भन्ने चलन छ । ‘देशी’ भने पछि गाउँका सबै डराउँछन् र मानमर्दन गर्छन । गाउँमा १४–१५ बर्ष टेक्दा नटेक्दै सुरुहुन्छ छाती नाप्न र ढुङ्गाको भारी बोकेर दौडन । त्यसमा पनि मंगोलीयन जातीले त पुर्खौली पेसाकै रुपमा यस पेशालाई लिँदै बाउबाजेको शाख जोगाउनकै लागि पनि लाउर जाने निर्णय लिन्छन् । त्यसबाट अछुत रहन सकेनन् बिर्तामोडका विसाल राई ।

२०६८ सालबाट ब्रिटिस लाउरे बन्ने चाहानाका साथ डिप्लोमाबाटै पढाई छाडेर पोखरा पुगेका उनि ३ पटक कोशिस गर्दा पनि भर्ती हुन सकेन् । आफन्त र साथी भाईको लइलईले दोस्रो पटक १२ लाख र तेस्रो पटक १५ लाख रुपैयाँ घुस दिँदा पनि असफ भएका उनि त्यहि पैसा लिएर घर फर्केर बंगुर पालन सुरु गरे ।

भुकम्पको चौतर्फी असरले बंगुरपालन बाट पनि २० लाख रुपैयाँ घाटामा गएका राईले हरेश खाएनन् । मनग्य धान फल्ने खेतमा माछा पाल्नका लागि खाडी खने । धान फल्ने खेतमा खाडी खनेर राईको छोरो डुब्ने भयो भनेर कुरा काट्ने छिमेकीहरुको कमी थिएन । तर, माछा पालन सुरु गरेरै छाडो राईले सुनाए । एउटा सानो पोखरीबाट माछा पालन सुरु गरेर कृषि कर्ममा होमिएका झापाको बिर्तामोड—१० का २८ बर्षीय विशाल राई अहिले नेपालकै उत्कृष्ट युवा कृषकमा दर्ज भएका छन् ।

२०७१ सालमा विशाल एग्रो फर्म दर्ता गरेर माछापालनलाई व्यवसायीकलाई बढाए । १ करोड ५० लाख रुपैयाँ लगानीमा गरे । अहिले उनले बार्षीक ५० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकाु बताउँछन् । गतवर्ष राई राष्टपतिबाट ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार’ बाट सम्मानित समेत भए ।

धान फल्ने खेतमा खाडी खनेर राईको छोरो डुब्ने भयो भनेर कुरा काट्ने छिमेकीहरु माछापालेरै १ बिघा २ कठ्ठा जमिन जोडर व्यवसाय समेत बढाएको देखेर अहिले भने दंग छन् । पङगास र टिलपिया जातका माछापालन गर्दै आएका उनको माछा फर्ममा अहिले ६ जना मजदुरले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

गत बर्षको सिजनमा १२ लाख भुरा उत्पादन गरेर बेचेका विशाल यस सिजनमा ५० लाख भुरा उत्पादन गर्ने तयारीमा छन् । ३ बिघा जमिनमा ९ वटा पोखरीबाट बार्षीक ५० टन सम्म माछा उत्पादन गर्ने राईले बताए ।

भारतको विभिन्न ठाउँमा माछापालन अवलोकन र थाइलेण्डमा माछासम्बन्धि अध्ययन गरेका विशालले पङगास र टिलपिया जातको माछाको भुरा समेत उत्पादन गर्ने गरेका छन् । भियतनामी जातको माछा पङगासको भुरा उत्पादन गरेर उनले पूर्वका किसान भुराका लागि भारतको कलकक्ता जानुपर्ने बाध्यताको समेत अन्त्य गरि दिएका छन् । स्वदेशमा नै माछा उत्पादन हुन थालेपछि अहिले बिक्रीका लागि बजारको पनि समस्या छैन ।

माछापालनसँगै बंगुरपालन, लोकल कुखुरापालन, अर्गानीक तरकारी खेती, माछाको परिकार पाउने रेष्टुरेन्ट समेत संचालन गरिरहेका उनले सो फर्मलाई कृषी पर्यटनको क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिएको बताए ।
यसरी पढेलेखेका युवाले आधुनिक तरिकाले कृषि उद्यम गर्ने र सरकारले सहयोग गर्ने हो भने थोरै ठाउँमै धेरै उत्पादन गरि कृषिबाट आत्मनिर्भर मात्रै नभएर रोजगारीसँगै राम्रो आम्दानी हासिल गर्न सकिन देखिन्छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्