‘नेकपालाई कसैले फुटाउन सक्दैन’

इलाम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी कसैले फुटाउन नसक्ने बताउनु भएको छ ।

वरिष्ठ नेता खनालले इलाम जिल्ला कमिटीद्वारा मंगलबार आयोजित कार्यक्रममा एमाले र माओवादी केन्द्र वैचारिक रुपमा एकता भएको उल्लेख गर्नुभयो ।

‘सिदान्त र विचार मिलेन भने जति एकतामा प्रयास गरेपनि सम्भव हुँदैन’ उहाँले भन्नुभयो, ‘ तर एमाले र माओवादी केन्द्र वैचारिक रुपमा एक भएका हुन् । त्यसकारण नेकपालाई अब कुनै शक्तिले फुटाउन सक्दैन ।’

वरिष्ठ नेता खनालले नेकपाले मुलुक समृद्ध पार्ने दाबी गर्नुभयो । ‘हामीले जनवादी क्रान्ति सम्पन्न गरेर एक युग पार गरेका छांै’ उहाँले भन्नुभयो, ‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको अवधारण प्रस्तुत गरेका छौ । यो अवधारण कम्युनिष्ट सरकारले मात्र पूरा गर्न सक्छ ।’

नेता खनालले नेकपा अब सिद्धात कार्यान्वयनमा लाग्ने बताउनु भयो । ‘पार्टी एकीकरणको एक वर्ष पूरा भएको छ’ उहाँले भन्नुभयो, ‘यस अवधिमा हामीले केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी समिति, जनवर्गीय संगठनको एकीकृत रुप दिइसकेका छौं । सबै कमिटी पूर्ण भएपछि पार्टीले नयाँ कार्यदिशा, नीति र सिद्धान्त सार्वजनिक गर्नेछ ।’

प्रतिक्रिया व्यक्त गर्नुस्