सिक्किमः २५ वर्षमा सत्ता पलट

0
127

सिक्किम । सिक्किममा पवन चाम्लिङको २५ वर्षे शासन सत्ता उल्टिएको छ । १७ औं विधानसभा चुनावमा पवनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले नराम्रोसँग पराजय व्यहोरेको छ ।

सिक्किममा विधानसभाका ३२ सिटमध्ये प्रेमसिंह तामाङ (पी.एस. गोले) नेतृत्वको क्रान्तिकारी मोर्चाले १७ सिटमा जित हासिल गरेको छ । चाम्लिङ नेतृत्वको डेमोक्रेटिक फ्रन्ट १५ सिटमा विजयी भएको छ । जबकी सन् २०१४ को चुनावमा चाम्लिङको पार्टीले २२ सिट जितेको थियो ।

सिक्किमको एकमात्र लोकसभा सिटमा पनि सिक्किम क्रान्तिकारी मोर्चा नै विजयी भएको छ । यससँगै सिक्किम क्रान्तिकारी मोर्चाले राज्य विधानसभा र लोकसभा दुवैमा आफ्नो पकड जमाएको छ ।

को हुन् प्रेमसिंह ?

अब गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले नयाँ सरकार बनाउने छ । गोले विगतमा पवन चाम्लिङकै पार्टीमा थिए । तर, उनले त्यहाँबाट अलग भएर नयाँ पार्टी ‘सिक्किम क्रान्तिकारी मोर्चा’ (एसकेएम) गठन गरेका थिए ।

सन् १९९० मा प्रेमसिंहले ग्राजुएट शिक्षकको रुपमा सरकारी जागिर खाए । तर तीन वर्षमै शिक्षक पदबाट राजीनामा दिए । त्यसपछि उनी सामाजिक र राजनीतिमा अझ सक्रिय भएर लागेका थिए । भ्रष्टाचारको मुद्दामा केही महिना जेल सजायँसमेत भोगेका गोले आफू चुनावमा प्रतिष्पर्धा नगरे पनि उनको पार्टीले विधानसभाका ३२ वटै सिटमा उम्मेद्वार खडा गरेको थियो ।

सिक्किमको प्रमुख प्रतिपक्षी सिक्किम क्रान्तिकारी मोर्चाले भ्रष्टाचार नियन्त्रण गर्ने र बेरोजगारलाई रोजगारी दिने मुख्य एजेन्डा लिएर चुनाव लडेको थियो ।

प्रेमसिंहको राजनीतिक यात्रा

गोले पवन चाम्लिङको पार्टी एसडीएफमा रहँदा पश्चिमी सिक्किमको चुखुंग निर्वाचन क्षेत्रबाट सन् १९९४ मा विधानसभा सदस्यमा निर्वाचित भएका थिए । एसडीएफमा रहँदा उनले राज्य युवा संयोजक र उपाध्यक्षको रुपमा काम गरेका थिए ।

त्यसपछि उनले लगातार तीन पटकसम्म सिक्किम सरकारमा मन्त्रीस्तरीय भूमिकामा रहेर काम गरे । १९९४ देखि १९९९ सम्म र १९९९ देखि सन् २००४ सम्म पशुपालन तथा उद्योगमन्त्रीको रुपमा उनले काम गरेका थिए । त्यसपछि सन् २००४ देखि सन् २००९ सम्म भवन तथा आवास विभाग मन्त्रीको रुपमा काम गरे । सन् २००९ मा बर्टुक संविधानसभा चुनाव जितेपछि उनी उद्योग विभागको अध्यक्षको रुपमा नियुक्त भए ।

तर, उनले सन् २०१३ को सेप्टेम्बरमा चाम्लिङ नेतृत्वको एसडीएफ पार्टीका सबै जिम्मेवारी त्यागेको घोषणा गरे । त्यसपछि उनले सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) नामको नयाँ पार्टी खोले । सन् २०१४ को विधानसभा चुनावमा उनको पार्टीले १० सिट जित्यो । उनी आफैं बर्टुक निर्वाचन क्षेत्रबाटै सांसद निर्वा्चित भएका थिए । उनको पार्टीले सिक्किममा कूल भोटको ४२ प्रतिशत भोट पायो ।

उनलाई सन् २०१६ मा भ्रष्टाचारको मुद्दा लाग्यो । सन् १९९४ देखि १९९९ को बीचमा एसडीएफ पार्टीमा रहँदा उनीमाथि सरकारी सम्पत्ती दुरुपयोग गरेको अभियोग थियो । सन् २०१७ मा उनी अदालतबाट दोषि ठहरिए । त्यसपछि सिक्किम विधानसभा सदस्यका लागि उनलाई अयोग्य घोषित गरियो ।

उनी जेलबाट रिहा भएपछि १० अगष्ट सन् २०१८ मा सिक्किममा भव्य जनसभा आयोजना भयो । जसलाई सिक्किममा सबैभन्दा धेरै मानिस जम्मा भएको राजनीतिक कार्यक्रम मानिन्छ ।

सधैं क्षेत्रीय दलको दबदबा

पवन कुमार चाम्लिङ सिक्किम डेमोक्रेटिक फ्रन्टको संस्थापक अध्यक्ष हुन् । उनी सन् १९९४ देखि लगातार २५ वर्ष सिक्किमको मुख्यमन्त्री बनेका छन् । पहिला छुट्टै देश सिक्किम भारतमा विलय भएपछि सबैभन्दा लामो समय राज्यमा शासन गर्ने पवनकुमार चामलिङ नै हुन् ।

उनी सिक्किमको तेस्रो मुख्यमन्त्री हुन् । उनीअघि काजी लेन्डुप दोर्जी र नरबहादुर भण्डारी सिक्किमका मुख्यमन्त्री थिए । भण्डारीको शासनकालमा चामलिङ भण्डारीका विश्वासपात्र थिए । तर, पछि चामलिङले पार्टी फुटाएर सिक्किम डेमोक्रेटिक फ्रन्ट नामको पार्टी स्थापना गरेका हुन् ।

सिक्किममा सुरुदेखि नै क्षेत्रीय दलको दबदवा छ । चाखलाग्दो कुरा के छ भने सन् १९७९ देखि अझैसम्म सिक्किमको सत्तामा राष्ट्रिय दल भाजपा पुग्न पाएको छैन । सन् १९८४ मा कांग्रेस केबल १३ दिन सत्तामा थियो । त्यसपछि कांग्रेस फेरि सत्तामा फर्किन सकेन । भाजपा सिक्किम संग्राम परिषदसँग मिलेर चुनाव लड्दै आएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्