७ करोड ६७ लाख भारतीय रुपैयाँसहित ६ पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँ लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूनुसमिया अन्सारीसहित ६ जनालाई पक्राउ गरेको छ ।

पाकिस्तानबाट कतार हुँदै नेपाल भित्रिएको नक्कली भारतीय रुपैयाँ लिन जाने क्रममा उनीहरुलाई आज बिहान ९ः३० बजे विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

अन्सारी यसअघि पनि विभिन्न घटनामा मुछिएका व्यक्ति हुन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अन्सारीसँगै अन्य दुई नेपाली र तीन पाकिस्तानी पनि पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो ।

 

‘तीनवटा सुटकेस भित्र राखिएको पैसा गन्दा सबै २ हजार रुपैयाँका ७ करोड ६७ लाख ९४ हजार भारती रुपैयाँ भेटिएको छ ।’, रञ्जितकाले जानकारी दिनुभयो ।

पक्राउपर्नेमा अन्सारीसहित सोपल खान र सुजन रानाभाट तथा पाकिस्तानी नागरिक मोहम्मद अख्तर, नासिर उद्दिन र नाजीया अनुवर रहेका छन् । पाकिस्तानीहरु कतार एयरवेजबाट पैसा ल्याउँदै गरेका थिए भने अन्सारीसहित तीन जना पैसा लिन विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्