पाँचथर हत्याकाण्ड : मानबहादुरले हत्या गरेको प्रारम्भिक निष्कर्ष

पाँचथर । सोमबार राति मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा दुई घरका नौजनाको हत्या भएको घटनाबारे भइरहेको स्थलगत अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ।

रवि बजारमा रहेको इलाका प्रहरी कार्यालयलाई केन्द्र बनाएर केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेशअन्तर्गतको विशेष प्रहरी र जिल्ला प्रहरीको टोली घटनास्थल आसपासका क्षेत्रमा अनुसन्धानका लागि खटिएको छ। घटनाबारे बढेको चौतर्फी चर्चाका कारण सुरक्षा चिन्ता बढेसँगै अनुसन्धान प्रभावकारी बनाउने भन्दै खटाइएको सो विज्ञ टोली फर्कने तयारीमा छ।

घटनास्थल मिक्लाजुङ–३ को आरुबोटे र आसपासका क्षेत्रको स्थलगत अनुसन्धान, हत्यामा प्रयोग भएका सामग्री संकलन, छिमेकी, आफन्तलगायत विभिन्न व्याक्तिसँगको सोधपुछ तथा प्राविधिक परीक्षणमा प्रहरी जुटेको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँरले बताए। हालसम्मको अनुसन्धानमा हत्या मानबहादुर माखिमले गरेको भन्ने निष्कर्षनजिक प्रहरी पुगेको छ।

माखिम घटनास्थलभन्दा झन्डै २५ किलोमिटर टाढा कम्फु खोलामा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनी हत्या भएका बमबहादुर फियाकका कान्छा ज्वाइँ थिए। बमबहादुरकी छोरी मनकुमारी फियाकसँग केही वर्षदेखि उनको असमझदारी हुँदै आएको पाइएको छ। पारिवारिक किचलोकै कारण उक्त हत्याको घटना भएको प्रहरी विश्लेषण छ। याे खबर नागरिक दैनिकले छापेकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्