भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ, घटना मिलाउन पिडीत बालिकालाई दबाब

0
211

झापा । आफ्नै भान्जी बलात्कार गरेको अभियोगमा झापाको शिवसताक्षी—११ स्थित दुधेबाट एक व्यक्ति पक्राउ परेका छन् । तर यसरी आफ्नै सहोदर मामाले जबरजस्तीकरणी गरेको घटना ढाकछोप गर्न परिवारका सदस्य नै सक्रिय भएको समेत खुलेको छ । दुधेका ४१ वर्षिय एक अधवैशें मामाले आफ्नै घरमा बस्ने १६ वर्षिय बालिका भान्जीलाई करणी गरेपछि घटना ढाकछोपको प्रयास भएको हो ।

गत बिहीबार बिहान घरमा कोही नभएको मौकाछोपी मामाले करणी गरेको र कसैलाई नभन्न दबाब दिएको बालिकाले बताईन् । ‘घरमा कोही पनि हुनुहुन्थ्यो, माइजुलाई पनि मासु किन्न पठाएर मामाले मलाई मुख थुनेर त्यस्तो गर्नुभयो’ ती बालिकाले भनिन् । स्थानीय एक विद्यालयमा अध्ययनरत ती बालिकाले आइतबार साथीलाई रुँदै घटनाबारे सुनाएपछि उनीहरुले प्रहरीलाई जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय झिलझिलीका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले अभियुक्त मामालाई सोमबार नै पक्राउ गरेको बताए ।

पिडीतकी बुबा भारतको दार्जिलिङ र आमा वैदेशिक रोजगारमा रहेका कारण प्रहरीमा जाहेरी दिने अभिभावक समेत नरहेको अवस्थामा प्रहरीको आग्रहमा विद्यालयकी एक शिक्षीकाले जाहेरी दर्ता गरेकीछिन् । अभियुक्त पक्राउ परेसँगै वैदेशिक रोजगारीमा रहेकी पिडीत बालिकाकी आमालाई समेत दबाब र प्रभावमा पारेर ‘मेडिकल टेष्ट’ र जाहेरी दर्ता नगर्न दबाब दिइरहेको समेत पाइएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलले पिडित बालिका र अभियुक्तको समेत ‘मेडिकल टेष्ट’ गराएको र थप अनुसन्धान भइरहेको जनाएको छ । दार्जिलिङ घर भएकी पिडीत बालिका अहिले विद्यालय र प्रहरीको संरक्षणमा छिन् । ती बालिका विगत २ वर्ष देखि मावलमा बसेर अध्ययनरत थिइन् । मामाले यस अघि पनि चुम्बन गर्ने लगायतका शारीरिक र्दुव्यवहार गर्दै आएको पिडीत बालिकाले बताइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्