मलाई कसैले चिन्दैनन्

0
73

गफका लागि बजारको कुनै कुनामा चिया पसल नै उपयुक्त भएकाले पनि खुद्रा खुद्री कुरालाई चिया गफ भनिएको होला । चिया गफमा देश चलाउँनेदेखि चुलो जलाउँनेसम्मका कुरा हुन्छन् । गफै गफमा राजा मन्त्री पनि भइन्छ । बकम्फुसे नै सही गफ गरेर आनन्द लिने परम्परा मलाई चाही राम्रै लाग्छ ।

गफै गरेर दिन बिताउँनेहरुलाई गफाडी पनि भनिन्छ ।
कुनै पनि कुरा कुरामा सिमित रह्यो भने त्यो कुरामात्र हुन्छ । कुरा कामतिर सोझियो भने त्यो योजना बन्छ र कुरा लम्बियो भने गफ बन्दोरहेछ । त्यसैले लामालामा कुरागरेर बस्नेहरु गफाडि भए । कुरा अनुसारको काम गर्नेहरु कर्मी भए र कुरा गरेर कुरैमा सक्नेहरु कुरा गर्यो कुरैको दुःख वाला भए । आज मलाई यस्तै कुरा गरेर कुरैमा सक्न मन छ । अर्थात कुरा गर्यो कुरैको दुःख नि ।

विर्तामोडको एक कुनामा हामीले पनि चिया खाने र गफ गर्ने गरेका छौं । एक दिन गफै गफमा तीर्थजीले कुरा निकाल्नु भयो । “हेर्नुस् हामीलाई धेरैले चिन्छन् जस्तो लाग्छ तर मेरो अनुभवमा चाही कसैले पनि चिन्दैनन् कि जस्तो पो लाग्यो ।”

विर्तामोडदेखि विराटनगरसम्मको सार्वजनिक सवारीमा यात्रा गर्दाको कुरो रेहछ । रातो गाडिमा विर्तामोडदेखि विराटनगरसम्म पुग्दा त्यतिका मान्छे थिए तर मलाई कसैले चिनेन् हौं, कुराको अन्तर्यबाट सिग्देलजी उवाच ।

चियाको चुस्कीसँगै एकफेरो सबै हास्यौ । तर मलाई भने यो कुराले घत पर्यो । म पनि यस्तो मनोदशामा परेको छु । केहि समय अघिको कुरा हो । टेलिभिजनको दैनिक ड्युडि सकिएर काँकरभिट्टा फर्कनु थियो । यो मेरो दिनचर्या नै हो ।
सामान्यतया मोटरसाइकल मै आवत जावत गर्ने गर्छु ।

त्यसबेला भने मोटरसाईकल मर्मतका लागि ग्यारेजमा जिम्मा लगाएको थिएँ । ग्यारेजले तीन दिनजति लाग्ने भने पछि मैले यो तिन दिन सार्वजनकि यातायातमा आवत जावत गर्ने अवसर पर्यो । दिनभरीको काम सकेर साँझ करिब साढे सातबजे तिर बस स्टेसनबाट बस समाउनु पर्ने । एक दिन अलिक ठिलो भयो ।

पूर्व जाने बस करिब करिब सकिए छन् । त्यस पछि कोही न कोही चिनेका मान्छे मोटरसाइकलमा आउँलान नि त भन्दै बाटो भरी आँखा ओछ्याउँन थाले । करिब आधा घण्टासम्म मैले यस्तो आश गरे । यस क्रममा राजमार्गमा बग्रेल्ती मोटरसाईकल गुढिरहेका थिए । तर सकैले पनि मलाई लिफ्ट दिएनन् अर्थात मैले चिनेको या मलाई चिनेको कोही भेटिएनन् । निक्कै समय पछि एउटा ट्याक्सी आयो र त्यसैमा काँकरभिट्टासम्म जाने मौका मिल्यो ।

ट्याक्सीमा बसेको बेला दिमागमा भने यति धेरै मोटरसाइकल गुढिरहेको ठाउँमा कस्तो एक जना पनि चिनेको मान्छे नभएका ? भन्ने लागि रह्यो । एक ढिंगले दिक्क पनि लाग्यो ।

दैनिक कुनै न कुनै विषयमा, कसै न कसैसँग कुराकानी भइरहेकै हुन्छ । एक ढंगले भन्ने हो भने झापाको सिडियोदेखि गाउँको मुखियासम्मलाई हामी चिन्दछौं ।

हामी समान्यता झापामा बसेर पत्रकारिता गरिरहेका छौं । दैनिक कुनै न कुनै विषयमा, कसै न कसैसँग कुराकानी भइरहेकै हुन्छ । एक ढंगले भन्ने हो भने झापाको सिडियोदेखि गाउँको मुखियासम्मलाई हामी चिन्दछौं । उनीहरुले पनि हामीलाई चिन्दछन् । नेता, उद्योगी, प्रशासक, प्रहरी यी त हाम्रा दैनिक संग तगर्ने मनुवा हुन् ।

कसैलाई केही अप्ठेरो पर्यो भने पनि पत्रकारलाई नै खोज्छन् । हामी यत्ति विघ्न छ्याप्छ्याप्ती छौं । त्यसैले हामी सबैलाई चिन्दछौं र सबैले हामीलाई चिन्दछन् भन्ने छ । म पनि यस्तै सोच्छु । सायद तीर्थजीले पनि यस्तै सोच्नु हँुदो हो र अन्य साथीहरुले पनि यस्तै सोचेका हुनन् ।

तर जब भिडभाड र सार्वजनिक जमघटमा पुगिन्छ । जब लिफ्टका लागि बाटो कुरेर बस्नु परेको हुन्छ । जब सार्वजनिक यातायातमा यात्रा गरिहरेको बेला हुन्छ । यस्तो बेलामात्र थाहा हुँदो रहेछ कि हामी कत्तिलाई चिन्दछौं र हामीलाई कत्तिले चिन्दछन् भन्ने । मलाई पनि यस्तो भ्रम भएकै हो । बाटोमा सवारी कुरेर बसेको बेला होस या माघे संक्रान्तिको माइमेला, या यस्तै कुनै मेला पर्व होस् ।

त्यहा पुगे पछि मात्र थाहा हुन्छ कि मानिसले आफ्नो परिचानको क्षेत्र कत्रो बनाएको छ । भन्ने । यो प्रसंगले हाम्रो पहिचानको दायरालाई छर्लङ् पारिदियो । झापाको जनसंख्या करिब ९ लाख पुग्यो होला । नौ लाख मध्ये आफुलाई चिन्नेको संख्या कत्ति छ ? आफैले चिनेको संख्या कति छ ।

कुनै आँकडा नै नराखी मलाई त सबैले चिन्छन् भन्नु त आत्मरति पो हुन्छ । यस्तो आत्मरति घातक हो हौ । बास्तवमा आफुले चिनेको र आफुलाई चिन्ने मान्छेको संख्या त कत्ति पनि रहेन छ । यस्ता चिया गफले कहिले काही त मान्छेको ब्रह्मज्ञान पो खोल्दो रहेछ ।

लु है कुरा त यस्तो पो आए त भन्यो भने अब साथीहरुले भन्दा हुन् कि कुरा गर्यो कुरैको दुः ख । गफ गर्छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्