झापा आइपुग्यो चलचित्र शत्रु गतेको युनिट

0
2

बिर्तामोड । यतिबेला चलचित्र शत्रु गते युनिट देश दौडाहाका क्रममा झापा पुगेको छ ।

९ चैतदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारप्रसारका लागि यो टोली देश दौडाहामा निस्किएको हो ।

‘रुस्लान मह शत्रु गते यात्रा–२०७४’ नाम दिएर कलाकारहरु हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, दिपाश्री निरौला, आँचल शर्मा, गायक तथा संगीतकार टंक बुढाथोकी लगायतको टोली झापा आइपुगेको छ ।

किरण केसीको प्रस्तुतिमा मह सञ्चारद्वारा निर्मित यो चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दिपाश्री निरौला, दिपकराज गिरी, शिवहरी पौडेल, राजाराम पौडेल, आँचल शर्मा लगायतको अभिनय छ ।

चलचित्रलाई युवा निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका छन् ।

‘हामीले १७ वर्षअघि तँ त साह्रै बिग्रिस नि बद्री र जे भो राम्रै भो भन्ने चलचित्र बनाएका थियौँ,’ सोमबार बिर्तामोडमा सञ्चारकर्मीसँग कुराकानी गर्दै हरिवंशले भने, ‘त्यसको १७ वर्षपछि हामी चलचित्रमा फर्किएका छौँ ।’

१७ वर्षअघि चलचित्रको बजार राम्रो भए पनि मुलुकमा द्वन्द्व सुरु भएसँगै चलचित्र उद्योग थला परेको उनले स्मरण गरे । अहिले चलचित्रको लहर चलेका कारण आफूहरु पनि चलचित्रमै फर्किएको उनले सुनाए ।

‘नेपाली चलचित्रले पनि भारतीय चलचित्रलाई उछिन्दैछन्,’ उनले भने, ‘दर्शकले भारतीय चलचित्र भन्दा पनि आफ्नै भाषाको चलचित्र रुचाउँछन् ।’

चलचित्रको प्रचारप्रसारका क्रममा आफूहरु काठमाडौँबाट हेटौँडा, नारायणघाट, बुटवल, पोखरा, चितवन हुँदै झापासम्म आइपुगेको दिपाश्रीले बताइन् ।

१७ वर्षपछि फिल्म कर्म गरेकाले संसारभर एकैपटक रिलिज गर्ने जमर्को गरिएको कलाकार किरण केसीले बताए । चलचित्रकी नायिक आँचल शर्माले चलचित्र राम्रो बनाउन आफूले सक्दो मेहनत गरेको बताइन् ।

चलचित्रका दुईवटै गीतमा टंक बुढाथोकीले स्वर तथा संगीत दिएका छन् ।

उनले गाएको रुपै मोहनी बोलको गीतले रेकर्ड राखेको छ । चलचित्र रिलिज हुनुभन्दा अघि नै युट्युवमा १ करोड भ्युज कटेको टंकले सुनाए ।

प्रतिक्रिया व्यक्त गर्नुस्