सिम्रिकले दियो सदस्यलाई सहकारी शिक्षा

0
4

बनियानी । झापाको उत्कृष्ट सहकारीमध्येको एक बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ ।

संस्थाले यस वर्षको सहकारी शिक्षा कार्यक्रम बनियानी सेवा केन्द्रबाट सुरु गरेको हो ।

बुधबार बनियानीस्थित सामुदायिक भवनमा कचनकवल वडा नम्बर ६ का वडाध्यक्ष कुलबहादुर कार्कीले सो सहकारी शिक्षा प्रशिक्षणको उद्घाटन गरे ।

संस्थाको शिक्षा उपसमितिका संयोजक संस्थाका सचिव सुवास भट्टराईको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाले बर्षेनि सदस्य सहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्नुको उद्देश्यमाथि प्रकाश पार्दे सबै सदस्यले संस्थाको समग्र अवस्था, सहकारी मूल्य–मान्यता, ऐन, नीति नियम जान्न आवश्यक रहेको बताए ।

उनले सदस्यहरुलाई संस्थाको माघ मसान्तसम्मको वित्तीय अवस्थासमेत जानकारी गराए ।

संस्थाका विभागीय प्रमुख मीनबहादुर अधिकारीले सञ्चालन र सदस्य विजय वस्नेतले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि कार्कीले ग्रामीण क्षेत्रमा सहकारीहरुको उपस्थितिले स्थानीय साना व्यवसायी, उद्यमी महिला, किसानहरुलाई निकै सहज भएको भन्दै सिम्रिकले बनियानी क्षेत्रमा दिइरहेको वित्तीय तथा सामाजिक सेवाको प्रशंसा गरे भने सो कार्यक्रमका प्रशिक्षक जिल्ला डिभिजन सहकारी कार्यालयका नासु डिल्ली दाहालले सहकारीको नयाँ ऐन कार्यान्वयनमा आइसकेकोले सबै सदस्यले ऐन अध्ययन गर्नुपर्नेमा जोड दिए । सदस्यहरुलाई दाहाल र संस्थाका अध्यक्ष बस्नेतले प्रशिक्षण दिएका थिए ।

झापाको उत्कृष्ट १० मध्येको एक सिम्रक सहकारीले झापाभरि १२ वटा सेवाकेन्द्रमार्फत् सहकारी तथा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । सहकारी शिक्षा सबै सेवाकेन्द्रमा सञ्चालन गरिने संयोजक भट्टराईले जानकारी दिए ।

संस्थाको माघ मसान्तसम्मको विवरणअनुसार सहकारीतर्फ शेयर सदस्य संख्या १५ हजार ३०६ जना पुगिसकेका छन् भने शेयरपूँजी ४ करोड २२ लाख २७ हजार पुगेको छ ।

यस अवधिसम्ममा २८ करोड ८१ लाख ७४ हजार १३४ रुपैयाँ निक्षेप संकलन भएको छ भने ३९ करोड ९४ लाख ७२ हजार १८७ रुपैयाँ लगानी गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्