सुकुम्बासी र बाढीपीडितलाई सहारा

0
6

झापा ।  मेचीनगर नगरपालिकास्थित फुलवासा नदीको किनारमा बस्दै आएका ४५ वर्षीय डिगल बिर्जा वर्षात्को समयमा खोला बढ्नासाथ आफ्नो ७ जनाको परिवार लिएर नजिकैको विद्यालयतर्फ दौडिन्थे ।

कति महिना त वर्षात्को समयमा उनीजस्तै मेची नगरपालिका–१३ गैरीगाउँका ५१ सुकुम्बासी परिवारले विद्यालयमै दिन/रात कटाए ।

फुलवासा नदी बढ्नासाथ सो टोल डुब्ने हुँदा उनीहरुलाई खाद्यन्नसहित बालबच्चा जोगाउनै मुस्किल पथ्र्यो भने बाढीले घर बगाउँदा बर्षेनि विस्थापित हुनुपर्ने पीडामा उनीहरु हुन्थे । तर, अब उनीहरुको दैनिकी फेरिएको छ ।

विगत २५ वर्षदेखि मेचीनगर नगरपालिका–११, १२, १३ र १४ वडामा सुकुम्बासी जीवन बिताइरहेका डिगल बिर्जासहित ५१ परिवारलाई एक गैरसरकारी संस्थाको सहयोगमा सहारा नेपालले घर निर्माणमा सहयोग गरेपछि बस्तीभर नयाँ घर निर्माण भएका छन् ।

पक्की भुइँ, जस्तापाताको छानो र बाँसको भाटाले बनाएको चिटिक्क परेको घरले सुकुम्बासी बस्तीको मुहार पनि फेरिएको छ ।

सो बस्तिमा पुग्दा कोही घर निर्माण सम्पन्न गरी आराम साथ दिन बिदाइरहेका भेटिन्छन् भने कोही घरलाई सिँगारपेटार गरिरहेका देखिनछन् ।

‘सात, आठ वर्षदेखि लगातार बाढीले बर्खाभर विस्थापित बनायो, अहिले त घर बनाउन संस्थाले सहयोग गर्दा खुशी छौँ,’ नयाँ घरमा भर्खरै सरेकी मेचीनगर नगरपालिका–१३ की ४२ वर्षीया विष्णु बिर्जाले हर्षित हुँदै भनिन् ।

‘वर्षा हुनासाथ दुई छोरा र एक छोरी च्यापेर दौडनु दैनिकी हुन्थ्यो, अब त्यस्तो नहोला,’ नयाँ घरमा सर्न लागेकी सोही बस्तीकी प्रमिला किसान भन्छिन् ।

नयाँ घरको भित्ता रङ रोकनले सिँगारेर अरु घरको तुलनामा चिटिक्क पारेका ३६ वर्षीय कुमार खजुन घर निर्माणसँगै आफ्नो जीवन नै परिवर्तन भएको महसुस गर्छन् ।

‘अब घरको कारण समस्या छैन,’ खजुनले भने, ‘जीवनमा नयाँ अनुभव भएको छ, अब पहिलेको दुःख नफर्केला भन्ने लागेको छ ।’

मेचीनगर नगरपालिकाका ५१ सुकम्बासी परिवार मात्र होइन अर्जुनधारा नगरपालिकाका १० र कन्काई नगरपालिकाका ११ बाढीपीडित तथा सुकुम्बासी परिवार पनि नयाँ घर पाएपछि दंग छन् ।

ह्याविट्याट फर हुम्यानिटी नामक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा सहारा नेपालले झापाका मेचीनगर, अर्जुनधारा र कन्काई नगरपालिकामा ६२ वटा घर निर्माणका लागि सहयोग गरेपछि उनीहरुको जीवनमा परीवर्तन आएको हो ।

सो संस्थाले ती नगरपालिकाका बाढीपीडित र सुकुम्बासीको छनोट गरी प्रतिपरिवार घर निर्माणका लागि ६४ हजार रुपैयाँ सहयोग गरेको सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले बताए ।

मेचीनगर नगरपालिकाको सुकुम्बासी बस्ती निर्माणमा भने ११ र १२ वडाले प्रतिपरिवार २०/२० हजार, १३ र १४ ले ५/५ हजार साथै १२ र १३ वडाको घर निर्माणमा स्थानीय सामुदायिक वनले १०÷१० हजार नगदसमेत सहयोग गरेका थिए ।

गिरीले स्थानीय तहको सहभागिता र बाढीपीडित तथा विस्थापितको आफ्नै श्रमदानमा संस्था घर निर्माण अभियानमा सफल भएको बताए ।

‘घर निर्माण गरी बाढी र डुबानको समयमा हुने जोखिमबाट त केही हदसम्म जोगाएका छौँ,’ गिरीले भने, ‘अझै बाढीपीडित र सुकुम्बासीको भाग फुलवाषा खोलामा बाँध निर्माणको छ ।’

प्रतिक्रिया व्यक्त गर्नुस्