कथाः म केही पर सरेँ, ऊ झन् नजिक आई

0
5
        तीर्थ सिग्देल

जीवनको गति जसोतसो अघि बढ्दै हुन्छ । मान्छे हो, मान्छेको जुनी लिएपछि मानवीय कर्म त गर्नै पर्छ । तर, मान्छे संसारकै उत्कृष्ट र ज्ञानी जात हो, मान्छेहरु नै भन्छन् । सर्वोत्कृष्ट प्राणी हो ।

आज फेरि आमाले बिहे गर भन्नुभयो । बिहेको कुरा गर्नेबित्तिकै मेरो अनुहार हेर्न लायकको हुन्छ ।

के बिहे गर्नै पर्छ र ? विवाह किन गर्ने ? केका लागि गर्ने ? सन्तानका लागि की सन्तुष्टिका लागि ?

आमालाई नातीको मुख हेरेर मर्न मन छ । दिदी कराउँछे । बैनी भुतभुतिन्छे ।

भन्छे– दादा हजुर त के हो ? अब पनि बिहे नगर्ने ?

मसँग जवाफ छैन । जवाफ के दिउँ म ? किनभने विवाहको अर्थ र परिभाषा के हो र यसको काम, कर्तव्य, अधिकार र परिभाषा के हो ?

कसैले न बताउन सकेको छ । न कसैले यस शब्दको अर्थ खोज्ने प्रयास गरेको छ ।

यो कुराको चुरो खोतल्न खोज्ने हो भने मान्छेहरु अल्मलिएलान् । तर, मलाई केही फरक परेको छैन ।

बिहे गर्दा र नगर्दा बीचको अन्तर खोज्न मैले प्रयत्न पनि गरेको छैन । बरु अरुले यसो गरेका छन् ।
आज फेरि दाजु कराउँछ ।

अए… कान्छा तैँले त हाम्रो वंश र परम्पराको धज्जी उडाइस् । अब तेरो बिहे नगरिदिइ नै भएन ।

ऊ निरुत्तरित हुन्छ, बोल्दैन ।

के तँ बिहे नै गर्दैनस् त ? ठुल्दाइले कडा स्वर निकाले ।

म जवाफ दिन सक्दिनँ । सक्दिनँ त के भन्नु मलाइ जवाफ दिनु पनि छैन । किनभने मलाई कुनै परम्पराभन्दा पनि जीवनको गति अघि बढाउनु छ ।

जीवनरुपि यात्रामा अब्बल बन्नु छ । उनीहरु केबल स्वार्थको कुरा गर्छन् ।

आ–आफ्नो फाइदाको कुरा गर्छन् । आमालाई नातीको मुख हेर्नु छ । दाजुलाई घर जिम्मा लगाउनु छ ।

बैनीलाई दाजुको बिहे भए मेरो पालो आउँथ्यो भन्ने छ ।

भाउजु बाहिर मुखले ठिक्क मात्र पार्ने हुन् । उनी एकछिनमा एउटा कुरा गर्छिन् र एकै छिनमा अर्को कुरा गर्छिन् । उनी भित्रभित्र कुरा मात्र काट्छिन् । दाजुलाई उकास्ने उनै हुन् ।

मेरो बिहे भए एक्ली आमालाई छोडेर बाहिरै बस्ने दाजु भाउजुको इच्छा छ । अंश लिएर जाने मन छ, दुवैको ।

बुबाले अत्यन्तै दुःख गरेर कमाएको सम्पत्तिमा भाउजुले आँखा लगाएकी छिन् । बिचरा बुबाले अकालमै जीवन गुमाउनुभयो ।

दाजुलेसम्म अलिअलि बुबाको माया पाउनु भयो होला ।

म सानै थिएँ । बुबा बित्नु भयो । आमाले त्यस पछिको एक्लो जीवन दुःखले बिताउनुभयो ।

दाजु त बाहिर पढ्न गइहाले । दाजुलाई पढ्न पठाउँदाको दुःख कसले सम्झेको छ र ? सबैले बिर्सिसके । आज त्यो कुरा निकाल्यो भने सबैले बौलाहा बनाउँछन् ।

खासमा भन्ने हो भने मैले पढ्न नपाएको पनि दाजुकै कारणले हो ।

उनका लागि घरको काम गर्दागर्दा मैले पढ्न नै पाइनँ । खासमा मेरो ध्यान पढाइमा भन्दा पनि काम धन्दामा बढी गयो ।

म परिबन्दमा परेँ । त्योभन्दा पनि मैले आफ्नो कर्तब्य बढी सम्झेँ ।

मैले बुबाको दुःख सम्झेँ । आमाको बचनको ख्याल गरेँ । दाजुको कुरालाई मानेँ ।

आज तीनै मान्छेहरु एकतिर लागेर मेरो कुरा काट्छन् ।

दाजुलाई पढ्नलाई महिनामा १५ हजार भन्दा बढी खर्च लाग्थ्यो ।

त्यो पैसा कहाँबाट जुटाउनु पर्ने हो ? कसैलाई चिन्ता थिएन । साँच्चै भन्ने हो भने मैले एउटा राम्रो लुगा पनि लगाउन पाइनँ । के दशैँ, के तिहार ? के अरु दिन ? मेरा लागि सबै दिन उस्तै भए ।

अरुलाई पु¥याउँदा पु¥याउँदैमा मेरो हालत हुन्थ्यो । अरुका इच्छा र चाहनाका अगाडि मेरा सबै चाहनाहरु फिक्का साबित भए । त्यसमाथि आमा बिरामी, हप्तैपिच्छे अस्पताल पु¥याउनु पर्ने हुन्छ ।

घरका अरु कसैको कुनै आम्दानीको बाटो थिएन ।

भाउजु पनि उस्तै एक पैसा निकाल्दैन थिइन् । आफ्ना इच्छा पूरा गरौँ त अरु नाङ्गै, अरुका आवश्यकता पूरा गरौँ आफू बुच्चै हुनु पर्ने अवस्था थियो ।

अनि, फेरि पनि मलाई बिहे गर भन्न छाड्दैनन् । त्यसमा सबैको स्वार्थ जोडिएको छ ।

भाउजु मेरो बिहे भएमा घरबाट निक्लिन चाहन्छिन् । घर छाडेर सहरतिरै बस्न चाहन्छिन् । दाजु निरीह छन् । भाउजुको अगाडि चुँ सम्म बोल्दैनन् ।

के बिहे गर्नैपर्छ र ?

आज संसारमा बिहे नगरी बस्ने मान्छे छैनन् र ?
आज मलाई के भो कोनी ! एकदमै टाउको दुखेर आएको

छ । टाउको दुख्नुको पनि हद हुन्छ नि । हुन त जुनसुकै रोग लागे पनि पीडा उस्तै हुँदो रहेछ ।

अस्ति भर्खरै आमा बिरामी पर्नुभयो । रातदिन अस्पतालमा बस्दाको पीडा छुट्टै थियो ।

आफूले पढ्न नपाउँदाको पीडा अलग्गै खालको छ ।
सँगै पढेको साथी पोहोरको दशैँमा घर आउँदा कार चढेर आयो । मेरै उमेरको भएर पनि ऊ कति भर्खरको देखिएको ? मान्छेलाई समयले कति परिवर्तित गराउँदो रहेछ ।
त्यो साथीको छोरो पनि ठूलो भइसकेछ । उसले अंकल भनेर बोलायो मलाई । मलाई कस्तो कस्तो भो ।
***
कालो चस्मा । टल फिगर । गोरो अनुहार । परबाट एउटी केटी ट्रली ब्याग बोकेर मतिर नै आउँदैछे । म यसो घर पछाडिको बाटोमा सामान्य काम गरिरहेको छु ।

अचानक त्यो केटी बोली, ‘सिस्ने गाउँ यही होइन ?’मैले उतातिर राम्ररी हेर्न पनि नभ्याई भनेँ, ‘हो त । कसकोमा जान खोज्नु भएको ?’
उसले भनि, ‘थाहा छैन । कसकोमा हो ।’

म तीन छक्क परेँ ।
मनमनै भनेँ– ‘कस्ती केटी रैछ । कहाँ जाने ? कसकोमा जाने भन्ने थाहा नभइ पनि कोही कतै जान्छ र ?’

अनि एकछिनमा फेरि सोचेँ– ‘कही जान खोजेकी पनि त हुन सक्छ नी । मान्छेको नाम बिर्सेर पनि त हुन पनि सक्छ !’
फेरि ऊ बोली– ‘बस्नेत साँल्दाइको घर यतै कतै थियो । तपाईलाई थाहा छ ?’

मैले जवाफ फकाएँ, ‘ए उनीहरु त यहाँबाट बसाईं गएको वर्षौं भइसक्यो ।’

किन उहाँलाई भेट्न पर्ने थियो ? अब तल सहरतिरै जानुपर्छ होला उहाँलाई भेट्न त । उसले भनि–, ‘हैन हैन, केही छैन । भेट नभए पनि केही छैन ।’ त्यसपछि ऊ अघि लागि । म भने उसको पिच्छा गर्न थालेँ ।

अलिपर पुगेपछि म अगाडि पुगेँ । त्यताबाट म घरतिर लागेँ । अलिपर पुगेर यसो फर्केर हेर्दा त त्यो केटी यतैतिर आउँदै रहिछ । अनि मैले भने, ‘अब कता जाने ?’

उसले जवाफ फर्काई, ‘खोई थाहा छैन । कहाँ जाने हो । सायद यतै कतैतिर हुन सक्छ ।’ मैले उसको कुरा बुझिनँ । त्यत्तिकैमा म आँगनमा पुगेँ । ऊ पछिपछि रहिछ ।

घरमा पुगेपछि उसले हाम्री आमालाई नमस्कार गरी । म अब भने तीन हैन, सात छक्क नै परेँ ! अचम्म यो केटीले मेरी आमालाई नमस्कार पो गरी । फेरि आमाले पनि यसलाई एक हेराइमै चिन्नु भो । यो कसरी भयो । म अचम्मित भएँ ।

अनि, आमाले भन्नुभयो, ‘बिपना, तिमी ! कहाँबाट आइपुग्यौ ?’

‘हेर कत्री भइछ । हेर, मैले तिमीलाई कसरी चिने भन त ?’, उल्टै आमाले यस्तो प्रश्न पो गर्नुभयो । पछि आमाले उसलाई चिनाउँदा मात्र मैले उसलाई चिनेँ । ऊ त म सानो हुँदाको साथी पो रहिछे ।

त्यसपछि भने मलाई लाज लागेर आयो । के गर्ने, कसो गर्ने भयो । सोचेँ, ‘यो केटी त कति राम्री भइछ ।’

बसाइँ सरेर ऊ पढ्न काठमाडौँ गइछ । त्यहाँबाट प्लस टु सकेपछि ऊ पढ्न अष्ट्रेलिया गइछ ।

त्यहाँबाट पढाइ सकेर केही वर्ष उसले काठमाडौँमा जागिर खाइछ ।

त्यसपछि ऊ क्यानाडामा सेटल भइछ ।

त्यहाँ बस्दै गएपछि उसका बाबुआमाले बिहेका लागि कचकच गर्न थालेछन् ।

बाबुआमाको कुरा टार्न नसकेपछि ऊ भौतारिँदै यहाँ आइपुगेकी रहिछ ।

उसले भनेको, मलाई ऊ सधैँ सम्झिन्थी रे ।

कति पटकसम्म फेसबुकमा उसले मलाई खोजी रे ।

बिचरीलाई के थाहा मैले फेसबुक चलाउन नै जानेको थिइनँ भन्ने कुरा ।

त्योभन्दा पनि यो गाउँमा न नेपाल टेलिकमको न एनसेलको टावर टिप्थ्यो ।

उसले तत्कालै मोबाइलबाट मेरो फोटो खिची ।

म तनक्क तन्किएँ । उसले मेरो सर्टको कलर मिलाइदिई ।

म केही पर सरेँ । ऊ झन् नजिक आई । ऊ पटक्कै लजाइन । बरु मलाई नै कस्तो कस्तो लागेर आयो ।

उसले मेरो फेसबुक आइडी पनि बनाइदिइ ।

उतैबाट ल्याएको एउटा मोबाइल निकाली र भनि, ‘लौ लेउ, यो तिम्रो मोबाइल हो ।

उसले त्यहीँ मोबाइलमा अनेक कुरा देखाई । म छक्क परेँ ।

उसले हामी स्कूल पढ्न जाँदा राई बुढाको स्टुडियोमा खिचेको फोटो पनि त्यहीँ उसको मोबाइलमा देखाई । उसले विश्वको नयाँनयाँ प्रविधिका बारेमा धेरै कुरा बताइ ।
***
त्यसपछि ऊ केही दिन हराई । एक दुई दिनमा ऊ फेरि आई । र, आमालाई भनिछ, ‘म उसँग बिहे गर्न चाहन्छु ।’

आमा त अचम्ममा पर्नुभएछ । साह्रै जिद्दी गरिछे । त्यसपछि आमाले नाइँ भन्न सक्नुभएनछ ।

उसको जीवनमा पहिलो पटक खुशीको सञ्चार भयो ।

अहिले ऊ क्यानडामा छ । बिपनाले उसलाई विवेह गरेर उतै लगी ।

त्यहाँ पुगेपछिका केही दिनपछि उसले फेसबुकमा यस्तो स्टाटस लेख्यो– ‘संयोग पनि कस्तो कस्तो । जसलाई पराई ठान्यो । ऊ आफ्नो बन्दो रहेछ । तर, जसलाई आफ्नो ठानेको हुन्छ, उसले कहिले पनि आफ्नो ठान्दैन ।’

प्रतिक्रिया व्यक्त गर्नुस्