मेची अस्पतालको गेटमै चटपटे बेचेर पतिको उपचार

0
62

भद्रपुर । मेची अञ्चल अस्पतालको प्रवेशद्वारमा एउटा सानो चटपटे पसल छ । त्यो रीना दियालीको हो । उनी चटपटे बेचेर मृगौलाका बिरामी पति पदमको नियमित डायलाइसिस गरिरहेकी छन् ।

मृगौलाका बिरामी पतिको उपचारका लागि मेची अञ्चल अस्पताल परिसरमा चटपटे बेच्दै रीना दियाली । पदम विगत ३ वर्षदेखि दुवै मृगौला फेल भएर उपचाररत छन् । वैदेशिक रोजगारीका क्रममा करिब ५ वर्ष खाडीमा गुजारेका पदमको विदेशबाट फर्किएपछि मृगौला बिग्रिएको थाहा भयो । करिब दुई वर्ष काठमाडौंमा उपचार गराए । उपचारका क्रममा भएभरको जायजेथा सकियो । तर, रोग बिसेक भएन ।

अहिले मेची अञ्चल अस्पतालमा सातामा दुई पटक डायलाइसिस गरिरहेका छन् । निस्शुल्क डायलाइसिस सेवाका लागि पदमले निकै लामो समय पर्खनुपर्‍यो । सातामा दुई पटक डायलाइसिस गर्नुपर्ने बाध्यतापछि दियाली परिवार दुई बच्चासहित अन्तुबाट भद्रपुर डेरा सरेको छ । ‘सातामै दुईपटक डायलाइसिस गर्नुपर्छ’, रीनाले भनिन्, ‘घरबाटै धाउन गाह्रो भयो, त्यसैले डेरामा बसेर उपचार गराइरहेकी छु ।’

चटपटे बिक्रीबाट दैनिक २, ४ सय आम्दानी हुन्छ । त्यही रकम जोहो गरेर पतिको उपचारसँगै डेरा भाडा र खानामा खर्च गर्छिन् रीना । रीनाका अनुसार तीन वर्षमा पतिको उपचारमा ३० लाख रुपैयाँ जति खर्च भइसक्यो । ‘उपचारमा धेरै खर्च सकियो’, उनले बिलौना गरिन्, ‘सास हुन्जेल आस हुदोरहेछ ।’

अस्पतालको डायलाइसिस वार्डकी इन्चार्ज स्मृति पाण्डेका अनुसार अहिले पदमजस्ता ३८ बिरामीले नियमित उपचार गराइरहेका छन् । ३२ जना वेटिङ सूचीमा छन् । अस्पतालमा तीन वटा डायलाइसिस मेसिन छन् । एउटा बिग्रिएर थन्किएको छ । त्यसैले बिरामीले पर्खनुपर्ने बाध्यता छ ।

‘मेसिन धेरै हुन्थ्यो भने बिरामीले पर्खनुपर्ने थिएन’, पाण्डेले भनिन्, ‘बिरामीलाई पालो पाउनै गाह्रो छ ।’ मेची अञ्चल अस्पतालबाहेक निजी अस्पताल ओमसाई पाथीभरा र वीरता सिटीले पनि मृगौला बिरामीको निःशुल्क डायलाइसिस गर्दै आएका छन् । एकपटक डायलाइसिस गर्दा न्यूनतम ५ हजार रुपैयाँ खर्च हुन्छ । तर, अञ्चल अस्पतालसहित तीन अस्पताललाई सरकारले निस्शुल्क सेवाका लागि तोकेको छ । कान्तिपुरबाट

प्रतिक्रिया व्यक्त गर्नुस्