आज झापा–११ फुटबल क्लब र आरपी एफसी भारत सिक्किम बीच भिडन्त

आज झापा–११ फुटबल क्लब र आरपी एफसी भारत सिक्किम बीच भिडन्त

बिर्तामोड । झापाको बिर्तामोडमा जारी नेपाल आइस पाँचौं झापा गोल्डकपमा आज घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच प्रतिष्पर्धा हुँदैछ ।

आफ्नै घरेलु मैदानमा झापा–११ फुटबल क्लबका खेलाडीहरु बिमल घर्ती मगर, विशाल राई बी,देवेन्द्र तामाङ, बिश्वास श्रेष्ठ, दीप कार्की , आन्द्रेस नियालगायतले भारत सिक्किमको आरपी एफसीका खेलाडीहरुसंग प्रतिष्पर्धा गर्दैछन् । लामोसमयको कोरोना कहरपछि बिर्तामोड –३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालाको मैदानमा झापा–११ फुटबल क्लबका खेलाडीहरुलाई स्वागत र समर्थन गर्न झापाली दर्शक उत्साहित भएका छन् । बिहीबारको घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच हुने खेल रोमाञ्चक हुने झापा गोल्डकपका अध्यक्ष विनोद वस्नेत बताउँछन् । उनले उक्त खेल हेर्न सहभागिताका लागि सवैलाई आग्रह गरेका छन् ।

यसैबीच बुधबारको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारत दार्जिलिङको एम एफसीलाई ३–०ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले एक÷एक गोल गरे । खेलको १० औँ मिनेटमा सन्तोष तामाङको प्रहार गोलमा परिणत भयो । त्यस्तै, ३५ औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल थपे । उनले २३ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भयो । त्यसैगरी, खेलको ६८ औँ मिनेटमा आर्मीका विकास तामाङ अर्को गोल थपेर जित सुनिश्चित गरे ।खेल अवधिमा दुवै टोलीले उल्लेख्य मुभ बनाउन सकेनन् । खेलको सुरुवाती १९ औँ मिनेटमा एम एफसीका रोवर्ट खोन्जोले मैदानको मध्यभागबाट एकल प्रयासमा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ५२ औँ मिनेटमा एम एफसीकै आदर्श तामाङले डिएरियाबाट गरेको हेडर पोस्ट माथिबाट बाहिरियो ।
६५ औँ मिनेटमा आर्मीका विवेक बस्नेतको पासमा कमल थापाले डिएरियाबाट गरेको हेडर बार नजिकैबाट बाहिरयो । ७८ औँ मिनेटमा एम एफसीका कप्तान प्रतीक लामाको क्रस पास रोबर्ट खोन्जोले सदुपयोग गर्न सकेनन् । ८६ औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठको कडा प्रहर विपक्षी गोलरक्षक कुन्जाङ भुटियाले नियन्त्रणमा लिए । बुधबारको खेलको प्लेयर अफ दि म्याच आर्मीका विकास तामाङ भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए । फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ । सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डफेन्डरले नगद २१ हजार प्राप्त गर्ने आयोजक झापा गोल्डकपका अध्यक्ष विनोद वस्नेतले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )