क्याप्टेन छान्न ग्लोरी इङग्लिस बोर्डिङ स्कूलमा निर्वाचन

क्याप्टेन छान्न ग्लोरी इङग्लिस बोर्डिङ स्कूलमा  निर्वाचन

बिर्तामोड । झापाको बिर्तामोड–४ स्थित बिर्ताबजारमा रहेको ग्लोरी इङग्लिस बोर्डिङ स्कूलमा मंगलबार अनौठो दृश्य देखियो ।

त्यहाँ उम्मेदवारहरु आफूलाई जिताउन मत मागीरहेका थिए भने मतदाताहरु लाइनमा पंक्तिबद्ध भएर उभिएका थिए । मतपत्र एउटा थियो भने मतदान केन्द्र दुईवटा थियो । मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गरेपछि मतदान प्रारम्भ गरिएको थियो । बाहिरबाट हेर्नेलाई त्यहाँ निर्वाचनको दृश्य देख्दा फेरी निर्वाचन पो भएछ कि ? जस्तो लाग्थ्यो । भर्खरै स्थानीय तहको निर्वाचनमा भाग लिएकाहरु त्यो दृश्य देख्दा छक्क पर्दै ट्वा परेर हेर्थे । स्थानीय तहको निर्वाचनको झल्को आउने गरी त्यहाँ स्कूल क्याप्टेन छान्न निर्वाचन भइरहेको थियो ।
प्रजातान्त्रिक प्रकृयाद्वारा उम्मेदवारको छनौट गर्नुका साथै सम्पूर्ण निर्वाचन प्रकृया अपनाएर स्कूल क्याप्टेन छान्न निर्वाचन गरिएको बिद्यालयका ब्यवस्थापन प्रमुख सन्तोष प्रसाईले जानकारी दिए।
कक्षा ३ देखि १० सम्मका दुईसय ५० बिद्यार्थीले मतदान गर्ने उक्त निर्वाचनमा एक छात्र र एक छात्रा क्याप्टेन गरी दुईजनाका लागि ६ जना छात्र र ४ जना छात्रा गरी १० जनाले उम्मेद्वारी दिएका थिए ।

उम्मेद्वारहरुमा छात्रतर्फ कक्षा ९ का साइमन बस्नेत, कक्षा ८ का अमन यादव, मोहम्मद फैजान, कृष राजवंशी, रोशन साह र कक्षा ७ का शिराज पाठक रहेका थिए भने छात्रातर्फ कक्षा ९ की दिपिका अधिकारी, कक्षा ८ की तनिषा साह, समिक्षा साह र कक्षा ७ की जानु थापा रहेका थिए ।
कक्षा ३ देखि १० सम्मका दुईसय ५० बिद्यार्थीले मतदान गर्ने उक्त निर्वाचनमा २०२ मत खसेको निर्वाचन अधिकृत सामाजिक बिषयका शिक्षक राजु निरौलाले बताए । निर्वाचनमा १६ मत बदर भएको उनले बताए ।
निर्वाचनमा छात्रतर्फ क्याप्टेनका उम्मेद्वार साइमन बस्नेत १३४ मत प्राप्त गर्दै क्याप्टेनमा निर्वाचित भएका छन् भने छात्रातर्फ दिपिका अधिकारी १२८ मत प्राप्त गर्दै क्याप्टेनमा निर्वाचित भएकी छिन् ।
निर्वाचन गराउन सामाजिक बिषयका शिक्षक राजु निरौला निर्वाचन अधिकृत, र बिद्यालयका प्रिन्सिपल इन्द्रदेव केरुङ, ब्यवस्थापन प्रमुख सन्तोष प्रसाई, शिक्षक शानबहादुर बस्नेत रहेको सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
बिद्यार्थीलाई निर्वाचन सम्बन्धी ज्ञान दिने उदेश्यले बिद्यार्थीहरु मध्येबाट क्याप्टेन छनौटका लागि निर्वाचन गरिएको बिद्यालयका प्रिन्सिपल इन्द्रदेव केरुङले बताए ।
यस प्रकारको निर्वाचनले बिद्यार्थीहरुलाई प्रजातान्त्रीक अभ्यासको समेत ज्ञान दिने बिद्यालयका ब्यवस्थापन प्रमुख सन्तोष प्रसाईले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )