दैविक प्रकोप तथा मानवीय उद्धार कोष स्थापना गर्न पुराण

दैविक प्रकोप तथा मानवीय उद्धार कोष स्थापना गर्न पुराण

बिर्तामोड । दैविक प्रकोप तथा मानवीय उद्धार कोष स्थापना गर्ने उद्धेश्यले झापाको बिर्तामोड–२ रामचौकस्थित हिमाल सागर पार्टी प्यालेसमा शनिबारबाट श्री शिवमहापुराण ज्ञान महायज्ञ शुरु हुँदैछ ।

धार्मिक अनुष्ठान सेवा समाज बिर्तामोड – ५ र इश्वरादेवी र दिपा संग्रौलासहित संग्रौला परिवारको संयुक्त आयोजनामा शनिबारबाट हुने श्री शिवमहापुराण ज्ञान महायज्ञको उद्घाटन पशुपतिनाथ धार्मिक विकास कोषका केन्द्रीय सदस्य स्वामी डा. केशवानन्द गिरी महाराजले गर्ने महायज्ञका संयोजक देवीप्रसाद संग्रौलाले जानकारी दिए ।
शनिबार विहान ८ बजे झापा बिर्तामोडका सिंहवाहिनी नौमती बाजा महिला समिति , पूर्वेली नौमती बाजा महिला समिति , देवीपञ्चकन्या नौमती बाजा महिला समितिको नौमती बाजा, झाँकी र भक्तजनहरुको समूहले शोभायात्रा गरी बिर्तामोड नगर परिक्रमा गरी १० बजेबाटश्री शिवमहापुराण ज्ञान महायज्ञको मण्डप पूजा गरी शुभारम्भ गरिने उनले बताए । साउन १४ गते देखि २४ गतेसम्म सञ्चालन हुने श्री शिवमहापुराण ज्ञान महायज्ञको प्रमुख वाचक पण्डित दिनानाथ मिश्र, उपवाचक पण्डित देवेन्द्र पौडेल र पाठ पारायण भने पण्डित भिमप्रसाद मिश्रले गर्ने उनले बताए ।
५ बर्ष भित्र १०८ पुराण आयोजना गर्ने लक्ष्य लिएर २०७६ साल पुस १३ गते स्थापना भएको धार्मिक अनुष्ठान सेवा समाज बिर्तामोड – ५ ले देशका विभिन्न स्थानमा हालसम्म नौ वटा पुराण लगाइसकेको र झापाको बिर्तामोड–२ रामचौकस्थित हिमाल सागर पार्टी प्यालेसमा आयोजना हुने श्री शिवमहापुराण ज्ञान महायज्ञ दशौं पुराण भएको धार्मिक अनुष्ठान सेवा समाज बिर्तामोड – ५का अध्यक्ष माधव खनालले बताए । विभिन्न दुर्गम स्थानहरुमा पुराण आयोजना गरेर त्यहाँ संकलन भएको भेटी सोही स्थानको धार्मिकस्थलको व्यवस्थापन र मठमन्दिरको संरक्षण एवम् प्रवद्र्धनका लागि खर्च गरिएको उनले बताए ।
श्री शिवमहापुराण ज्ञान महायज्ञ सम्पन्न गर्न करिव ८ लाख रुपैंया लाग्ने र पुराण सम्पन्न गर्ने खर्च र कोषको लागि जम्मा गर्ने रकम भक्तजनले दिने भेटी र धार्मिक अनुष्ठान सेवा समाजको सदस्यता वितरणबाट संकलित रकमले गर्ने उनले बताए । धार्मिक अनुष्ठान सेवा समाज बिर्तामोड – ५ का हाल सम्ममा दुई हजार सदस्य भइसकेको र यस महायज्ञबाट थप तिन हजार सदस्य विस्तार गर्ने योजना रहेको उनले बताए । धार्मिक अनुष्ठान सेवा समाज बिर्तामोड – ५ को आजिवन सदस्य बन्नको लागि तिन हजार रुपैयाँ संस्थालाई सहयोग गर्नुपर्ने कार्यविधी बनेको र ५ बर्ष भित्रमा एकलाख जना सदस्य बनाउने धार्मिक अनुष्ठान सेवा समाजका अध्यक्ष माधव खनालले बताए । उनले हिमाल सागर पार्टी प्यालेसमा शनिबारबाट हुने श्री शिवमहापुराण ज्ञान महायज्ञमा सहभागी बनेर पुण्यको भागी वन्न सवैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )