राजधानीको माग्न रित्तो थाल बजाएर

धनकुटा ।  धनकुटालाई प्रदेश नम्बर १ को प्रादेशिक राजधानीको माग राख्दै तीन सातादेखि आन्दोलनमा उत्रिएका धनकुटावासीले आइतबार धनकुटा बजारमा थाल बजाउँदै जुलुस निकालेका छन् ।

प्रादेशिक राजधानीको भाग धनकुटाको भएको र धनकुटाको भाग खोसिन लागेको भन्दै स्थानीयले आफ्ना माग सरकार समक्ष ध्यानाकर्षण गरिएको संकेतस्वरुप हातमा रित्तो थाल बजाउँदै स्थानीयले धनकुटा बजार परिक्रमा गरेका थिए ।

जिल्लामा क्रियाशील राजनीतिक दलको अगुवाईमा गरिएको प्रदर्शनमा राणाकालदेखि हालसम्म प्रशासनिक केन्द्र रहेको धनकुटालाई हाल आएर प्रदेश नम्बर १ को राजधानी नबनाई आफूहरूको भाग खोस्न लागेकाले जसरी धनकटालाई प्रादेशिक राजधानी बनाइनुपर्ने माग गरिएको छ ।

आन्दोलनमा उत्रिएका आन्दोलनकारीले हातमा बोकेको थालमा ‘हाम्रो भाग नखोसियोस्’ भन्ने लेखिएको थियो ।

धनकुटाबजार मुख्य केन्द्र स्थानीय मदन चोकबाट थालिएको थाल जुलुस बजारका विभिन्न भागको परिक्रमापछि पुनः सोही स्थानमा आएर सभामा परिणत भएको थियो ।

सभालाई प्रदेशसभा सदस्य निरन राईलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले सम्बोधन गरेका थिए । स्थानीयले पर्याप्त पूर्वाधार र भौगोलिक रुपमा उपयुक्त स्थल रहेको भन्दै धनकुटालाई राजधानी बनाउनुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन् । माग पूरा नहुन्जेल चरणबद्ध आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )