झापाका सुस्त श्रवण विद्यार्थीलाई छात्रवृत्ति

झापा ।  बिर्तामोडको चारपानेस्थित मोहनमाया माविमा कक्षा–४ मा अध्ययनरत् फरक क्षमताकी आशिका पोखरेल मंगलबार औधि खुशी थिइन् ।

मेचीनगर–१४ घर भएकी १५ वर्षीया आशिकाले मंगलबार एक कार्यक्रममा विद्यालय पोशाक, शैक्षिक सामाग्री र नगद एक सय रुपैयाँ पनि पाइन् ।

फरक क्षमता (सुस्त श्रवण) की आशिका बोल्न नसके पनि हातैले इशारा गरेर मनका कुरा व्यक्त गर्छिन् ।

उनीजस्तै खुशी थिइन्, बिर्तामोड–२ की फरक क्षमता भएकी बालिका अनुषा ढुंगाना पनि । १० वर्षकी अनुषा मोहनमाया माविमै कक्षा २ मा पढ्छिन् ।

कन्काई नगरपालिकास्थित हिमाली आधारभूत विद्यालयमा अध्ययनरत् सागर राजवंशी र मार्मिक भट्टराई पनि उत्तिकै दंग देखिन्थे ।

छात्रवृत्ति पाउँदाको खुशी उनीहरुको मुहारमा प्रष्टै झल्किन्थ्यो । आफूले पाएको छात्रबृत्ति अरु साथीहरुलाई देखाउँदै उनीहरु इशाराले नै गफ गरिरहेका थिए ।

फरक क्षमता भएका झापाका ८० जना विद्यार्थीलाई मंगलबार कन्काई नगरपालिकाको लक्ष्मीपुरस्थित हिमाली आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमका बीच छात्रवृत्ति वितरण गरिएको हो ।

‘कापी, कलम, पैसा र कपडा पाएँ, साह्रै खुशी छु,’ मोहनमाया मावि चारपानेकी विद्यार्थी आशिकाले इशारा गरेको कुरा हिमाली आधारभूत विद्यालयका शिक्षक हरि अधिकारीले बुझाइदिए ।

उनले आफ्नो नाम, ठेगाना, विद्यालयको नाम र आफ्नो उमेर पनि इशारा गरेरै बताएकी हुन् । अपाङ्ग तथा असहाय बालबालिकाको हितमा समर्पित शिवांश स्मृती प्रतिष्ठानले झापाका ४ विद्यालयका सुस्त श्रवण विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

गत वर्ष स्थापित प्रतिष्ठानले कन्काईको हिमाली आधारभूत विद्यालयका २०, मोहनमाया मावि बिर्तामोडका २०, कन्काई मावि सुरुंगाका १२ र मंगलमय मावि लखनपुरका २८ जना फरक क्षमताका विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामाग्री र नगद एक सय रुपैयाँ प्रदान गरेको हो ।
विद्यार्थीलाई नगद ७० हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको प्रतिष्ठानका संस्थापक एवम् हिमाली आधारभूत विद्यालयका प्रधानाध्यापक केशव ओझाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि झापाका सहायक जिल्ला शिक्षा अधिकारी होम भण्डारी लगायतले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरे ।
सोही कार्यक्रमका बीच प्रतिष्ठानका तर्फबाट मेची बहिरा संघको कार्यालय बिर्तामोडलाई एक थान टेबल समेत हस्तान्तरण गरिएको थियो ।

के हो शिवांश स्मृति प्रतिष्ठान ?
शिवांश स्मृति प्रतिष्ठान गत वर्ष स्थापना भएको हो । प्रतिष्ठानको यो दोस्रो सहयोगार्थ कार्यक्रम हो ।

२८ फागुन २०७१ मा डेनमार्कमा जन्मिएका शिवांश विमलीको ब्रेन ट्युमरका कारण २५ पुस २०७२ मा डेनमार्ककै एक अस्पतालमा मृत्यु भएको थियो ।

उनै शिवांशको स्मृतिमा उनका बुबा नवीन विमली तथा आमा राधिका विमली लगायतले प्रतिष्ठान स्थापना गरेका हुन् ।

प्रतिष्ठानले ६ लाख रुपैयाँको अक्षयकोष समेत खडा गरेको छ । सोही कोषबाट आउने ब्याजबाट प्रत्येक वर्ष फरक क्षमताका बालबालिकालाई छात्रवृत्ति वितरण गरिने प्रतिष्ठानका अध्यक्ष एवम् संरक्षक नवीन विमलीले बताए ।

अक्षयकोषको रकम बृद्धि गरी १० लाख रुपैयाँ पु¥याउने प्रतिष्ठानको लक्ष्य छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )