श्रीमती हत्या गर्नेदेखि मोटरसाइकल चोरी गर्नेसम्म पक्राउ

झापा ।  छुट्टाछुट्टै घटनाका ४ जना आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

आइतबार पत्रकार सम्मेलन गरी इलाका प्रहरी कार्यालय बिर्तामोडले उनीहरुलाई सार्वजनिक गरेको हो । यसरी पक्राउ पर्नेमा श्रीमतीको हत्या गर्नेदेखि छोरालाई घरेलु हतियार प्रहार गर्ने र मोटरसाइकल चोरी गर्नेसम्मका छन् ।

खोलामा धकेलेर हत्या
२०७० साल असोज ६ गते आफ्नै श्रीमतीलाई खोलामा धकेलेर फरार भएका राजगढका २९ वर्षीय कमलसिंह राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार राजवंशीले २५ वर्षकी श्रीमती गंगा राजवंशीलाई स्थानीय सार्की खोलामा धकेलेको जाहेरी परेको थियो ।

हाल अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

हतियार प्रहार गरी श्रीमतीको हत्या
माघ ६ गते बेलुका ५ बजे श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले अर्जुनधारा–१ का २३ वर्षीय दिनेश गहतेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गहतेले १८ वर्षकी श्रीमती योनिताहाङ लिम्बूलाई घाँटीमा घरेलु हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

१५ दिन अघि मात्र उनकी श्रीमतीको ५ महिनाको गर्भ खेर गएको प्रहरीले जनाएको छ । घरमा यसअघि पनि श्रीमान–श्रीमतीबीच झगडा भइरहने प्रहरीको भनाइ छ । अदालतबाट म्याद थप गरी घटनाका विषयमा अनुसन्धान भइरहेको डिएसपी कोइरालाले जानकारी दिए ।

छोरालाई हतियार प्रहार
घरायसी विवादमा झट्केलो छोरालाई घरेलु हतियार प्रहार गरी घाइते बनाउने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

कन्काई–३ का १६ वर्षीय छोरा देवकमार ऋषिदेवलाई ४० वर्षीय बाबु राजकुमार ऋषिदेबले हतियार प्रहार गरेका थिए ।

गर्धनमा हतियार प्रहार हुँदा गम्भीर घाइते देवकुमारको अहिले उपचार भइरहेको छ । प्रहरीका अनुसार बाबु राजकुमारले माघ ५ गते बेलुका ७ः३० बजे देवकुमारलाई हतियार प्रहार गरेका थिए ।

मोटरसाइकल चोरी गर्ने पक्राउ
केही समयअघि भारतबाट चोरी गरेर नेपाल भित्र्याइएका मोटरसाइकल नियन्त्रणमा लिएको बिर्तामोड प्रहरीले नेपालबाटै हराएका मोटरसाइकलसहित त्यसमा सम्लग्न व्यक्तिलाई समेत पक्राउ गरेको छ ।

बिर्तामोडस्थित बिर्ताबजारबाट हराएका दुईवटा मोटरसाइकलसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बिर्तामोड–७ का २५ वर्षीय विशाल राजवंशी छन् । उनले लक्ष्मीनारायण घिमिरे र मनोजराज भट्टराईको मोटरसाइकल चोरी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका राजवंशीलाई चोरीसम्बन्धी अनुसन्धानमा म्याद थप गरिएको डिएसपी कोइरालाले बताए ।

पक्राउ परेका राजवंशीबाट मोटरसाइकल चोरीमा अन्य व्यक्तिको पनि संलग्नता खुलेको प्रहरीको भनाइ छ । उनीहरु फरार रहेको र खोजतलास जारी रहेको डिएसपी कोइरालाले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )