सुस्तमनस्थिति भएकी बालिकाको उद्धार

झापा ।  उपचार अभावमा ७ वर्षदेखि दाम्लोमा बाँधेर राखिएकी दमक–७ की एक बालिकाको उद्धार पछि उपचार सुरु भएको छ ।

आर्थिक बिपन्नताका कारण उपचार हुन नसक्दा सुस्तमनस्थितिकी १२ वर्षीया देविका तामाङ दाम्लोमा बाँधिएर बाँच्न बाध्य थिइन् ।

आमा ४४ वर्षीय सीता तामाङले आफू दिनभर मजदुरी गर्न जानुपर्ने र छोरीलाई त्यसै राख्दा नबस्ने, आफूखुसी दौडने, लड्ने जस्ता समस्या हुने गरेकाले छोरीलाई बाँध्नु परेको दुखेसो गरिन् ।

श्रीमान बेपत्ता भएपछि मजदुरी गरेर छोरी हुर्काउँदै आएकी छन भनिन्–‘कसको रहर हुन्छ र छोरीलाई यसरी राख्ने तर आफु काममा नगई छाक टर्दैन, छोरीलाई त्यसै राखौं भने कुदेर, लडेर झनै समस्या हुन्छ ।’

बालिकाको यस्तो अवस्था भएको थाह पाएपछि नगरपालिकाकी उपपप्रमुख गीता अधिकारी, वडाध्यक्ष भीम पौडेल लगायतको टोली घरैमा पुगेर उनको उद्धार गरी उपचार सुरु गरेको हो। उनलाई प्रारम्भीक उपचारपछि थेरापी सुरु गरिएको छ ।

डा.अनुजा भट्टराईले यी बालिकाका लागि हेरचाह र स्याहारसुसार आवश्यक रहेको बताइन् ।

हेरचाह र स्याहार राम्रो भएका अवस्थामा सुधार आउने उनको भनाइ छ । नगर प्रमुख रोमनाथ ओलीले नगरभित्र रहेका यस किसिमका समस्या समाधानका लागि सहयोग गर्न तयार रहेको बताए ।

यसैबीच विभिन्न संस्थाले पनि ती बालिका र परिवारलाई सहयोग गरेको छ ।

लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतम र तृतीय उपाध्यक्ष मनोज अग्रवालले व्यक्तिगततर्फबाट दुई महिनाका लागि पुग्ने गरी खाद्यन्न, दाल, तेल लगायत भान्साका सबै सामाग्रीहरु उपलब्ध गराएका छन् ।

अध्यक्ष गौतमले बालिकाको उपचारमा सहयोगका लागि ५ हजार नगदसमेत प्रदान गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )