मिर्गौला पीडितलाई राहत

झापा ।  मिर्गाैलामा समस्या आएपछि झापा पृथ्वीनगरका फर्शुराम आचार्य डाइलोसिसका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्थे ।

महिनामा मुस्किलले दुई पटक पालो आउँथ्यो । कहिले पालो आउला भनेर कुर्नु पर्ने बाध्यता थियो । घरबाट हिँडेकै दिन डाइलोसिस गरेर फर्किन सम्भव पनि थिएन ।

तर, आचार्य अहिले घर नजिकैको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा नियमित डाइलोसिस गर्छन् ।

सरकारले मेची अञ्चलका मिर्गाैला पीडित बिरामीको सुबिधाका लागि भद्रपुरमा निःशुल्क रुपमा डाइलोसिस सेवा उपलब्ध गराएपछि आचार्यजस्ता धेरै विरामीलाई सेवा लिन सहज भएको छ । अन्यत्र धाउनु पर्ने बाध्यताबाट उनीहरुले मुक्ति पाएका छन् ।

‘अहिले त कति आनन्द छ आनन्द, यहाँभन्दा हुने ठाउँ छैन’, आचार्यले भने, ‘टाढा जानु पनि परेन । धेरै पैसा पनि खर्च भएन ।’

बिहान अञ्चल अस्पतालमा आएका आचार्य डाइलोसिस गरेपछि दिउँसो घर फर्किन्छन् । एक वर्षदेखि धरानमा डाइलोसिस गराइरहेका आचार्य उतै डेरा लिएर बसेका थिए ।

भद्रपुरमा निःशुल्क डाइलोसिस सेवा सुरु भएपछि आचार्यजस्ता मिर्गाैला पीडितले भोग्नु परेको समस्या समाधान भएको छ । धरानसम्म आउने जाने भाडा, उतै डेरा लिएर बस्नुपर्ने बाध्यताबाट उनीहरुले मुक्ति पाएका छन् ।

डाइलोसिस गर्न जाँदा लाग्ने यातायात खर्च र आवासका लागि होटलमा बुझाउनु पर्ने अतिरिक्त रकमको भार कम भएको छ ।

आचार्य मात्रै होइन, डाइलोसिस सेवा उपलब्ध नहुँदा अञ्चल अस्पतालसँग घर जोडिएका स्थानीय रामप्रसाद दुङ्गाना कहिले काठमाडौँ त कहिले धरान पुग्थे ।

पछिल्लो समय उनले आफ्नै खर्चमा निजी अस्पतालमा पनि डाइलोसिस गराए । तर, अहिले उनी घरसँगै जोडिएको अञ्चल अस्पतालमा नियमित निःशुल्क रुपमा डाइलोसिस गराइरहेका छन् ।

‘अञ्चल अस्पतालमै सरकारले डाइलोसिस सेवा उपलब्ध गराएकोमा खुशी छु’, उनले भने, ‘अब झापाका मिर्गाैला पीडित बिरामीले धेरै टाढा धाइरहनु पर्दैन ।’ ढुङ्गाना सातामा कम्तीमा एक पटक डाइलोसिस गराउँछन् ।

अहिले मेची अञ्चल अस्पतालले चारवटा मेसिनको सहायतामा डाइलोसिस सेवा उपलब्ध गराइरहेको छ ।

अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा.पिताम्वर ठाकुर दैनिक आठ जना मिर्गाैला पीडित बिरामीले डाइलोसिस सेवा लिइरहेको बताउँछन् ।

‘कुनै शुल्कबिना उनीहरुले डाइलोसिस सेवा पाउँछन्,’ डा. ठाकुरले भने, ‘एक पटक डाइलोसिस गर्दा लाग्ने दुई हजार पाँच रुपैयाँ सरकार आफैँले बेहोर्छ ।’

अञ्चल अस्पतालले ७० लाख रुपैयाँ खर्च गरेर डाइलोसिस सेवा सञ्चालनमा ल्याएको हो । सेवा सुरु भएपछि मिर्गाैला पीडित बिरामीको चाप बढेको छ । बिरामीको चापलाई ध्यानमा राखेर अस्पताल प्रशासनले दुई सिफ्टमा सेवा सुरु गरिएको जनाएको छ ।

पहिलो सिफ्टमा बिहान आठ बजेदेखि दुई बजेसम्म बिरामीले डाइलोसिस सेवा पाउँछन् । दोस्रो सिफ्टमा राति आठ बजेसम्म डाइलोसिस गर्न सकिने व्यवस्था मिलाइएको छ ।

‘दुई सिफ्टमा गरेर अब दैनिक १६ जना बिरामीले डाइलोसिस सेवा लिन सक्छन्’, डा.ठाकुरले भने, ‘सकेसम्म बिरामीलाई सहजरुपमा सेवा दिने हाम्रो उद्देश्य हो ।’

डाइलोसिस सेवाका लागि अहिले चार जना नर्सिङ स्टाफ, दुई जना डाइलाइजर असिस्टेण्ट र दुई जना कार्यालय सहयोगीसहितको जनशक्ति व्यवस्थापन गरिएको छ । डा. ठाकुरका अनुसार झापामा ७० जना भन्दाबढी मिर्गाैला पीडित बिरामी नियमित डाइलोसिसमा छन् ।

सरकारी स्वास्थ्य प्रतिष्ठानमा पालो आउन मुस्किल भएपछि उनीहरु आफ्नै खर्चमा निजी अस्पतालमा डाइलोसिस गराइरहेका छन् ।

जनस्वास्थ्य कार्यालयको सम्पर्कमा आएका मिर्गाैला पीडित बिरामीको तथ्याङ्कलाई आधार मान्ने हो भने अञ्चल अस्पतालमा कम्तीमा पनि १० वटा डाइलोसिस मेसिन आवश्यक हुने डा. ठाकुरले बताए ।

‘१० वटा मेसिन हुने हो भने ४० जनासम्मलाई सुविधा उपलब्ध गराउन सकिन्छ’, उनले भने ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )