दिसा गर्न अझै खोला धाउने ?

झापा । ‘चर्पी बनाउन सक्ने भए मैले धेरैअघि बनाउने थिएँ, फेरि हामीलाई चर्पी जान अहिले त्यसै पनि सजिलै छ,’ भद्रपुर ७ का शनिचरे ऋषिदेवले घरनजिकैको खोला देखाउँदै भने, ‘ऊ त्यही खोलावरपिरि बाँसघारी टन्नै छन्, त्यतै जान्छौँ ।’

उनको परिवारमा छोराछोरी र श्रीमती पनि उठ्नेबित्तिकै दिसापिसाब गर्न खोलातिर नै जान्छन् । शनिचरे पनि झिसमिसै खोलातिर जान्छन् ।

ऋषिदेवलाई भद्रपुर नगरपालिकाले चर्पी निर्माण गरिदिने आश्वासन दिएको छ ।

तर, चर्पी बनाउँदा झन् झन्झट हुने सोच्ने उनी भन्छन्, ‘हामीलाई त चलेकै थियो, चर्पी बनाएपछि पानी बोकेर लानुपर्छ अहिले खोलामै गयो ढुक्क छ ।’

घरमा सोलार प्यानल, डिसहोम टीभीको एन्टेना, हातमा सामसुङ जे सेभेन सेट बोकेका भद्रपुर १० का रामबहादुर मगर पनि घरवरपरको खोल्साखाल्सीबाटै काम चलिरहेको बताउँछन् । ‘हामीलाई चलेकै छ, किन चाहियो चर्पी ?’

उनले भने, ‘नगरपालिकाले रिङ दिन्छ भनेको सुनेको छु, दियो भने म प्यान किनेर ल्याउँछु, चलिराखेकै छ ।’

कसैको आर्थिक अवस्था कमजोर त कसैको हेलचेक्र्याइँका कारण सिंगो झापा नै खुल्ला दिसामुक्त जिल्ला घोेषणा हुन सकेको छैन ।

दुई वर्षअघि रेडक्रसले वितरण गरेको रिङ पनि कतिले गाईवस्तुलाई घाँसपराल हाल्न र कतिपयले बेवारिसे अवस्थामा फालेका छन् ।

हाल जिल्लाभरि एक लाख ८२ हजार २ सय १५ घरधुरी रहेकोमा अझै २६ हजार घरधुरी खुला ठाउँमा र कच्ची शौचालयमा शौच गर्दै आएका छन् ।

पछिल्लो तथ्यांकअनुसार सदरमुकाम भद्रपुर नगरपालिकाभित्र भने १४ हजार ६ सय १५ मध्ये २ हजार ७४ घरधुरीका परिवार खुला दिसा गर्छन् ।

२०६८देखि नीतिगत रूपमै सुरु भएको यो कार्यक्रम हालसम्म खुला दिसामुक्त हुन सकेको छैन ।

नीतिगत व्यवस्था हुँदाहुँदै पनि कार्यान्वयन नभएकाले भद्रपुर नगरपालिका कार्यक्रम अधिकृत फणिन्द्र दाहाल स्वीकार्छन् ।

पोलपोलमा बत्ती बलेन भनेर गुनासो गर्ने छिमेकी, छिमेकीले बनाएनन् र खुला दिसा गरे भनेर गुनासो नगरिदिँदा पनि चर्पी बनाउनुपर्नेलाई चासो नभएको दाहाल बताउँछन् ।

स्थानीय निकाय पुनर्संरचना भएपछि व्यवस्थापनमा र चुनावका कारण यो अभियान ठप्प नै भएको र अब पुनः जनप्रतिनिधिसहितको सक्रियताले सहयोग पुग्ने अपेक्षा दाहालले गरे । त्यसो त सन् २०१६ मै झापालाई खुला दिसामुक्त गर्ने लक्ष्य पूरा भएको छैन ।

खुला दिसामुक्त क्षेत्र अभियानको मुख्य सहयोगी संस्था यूएन ह्याबिट्याटले मात्र गतवर्ष भद्रपुर नगरपालिकालाई ३६ लाख रुपैयाँ अभियानका लागि छुट्याएको थियो । यो वर्ष भद्रपुर नगरपालिका आफैँले २५ लाख रुपैयाँ छुट्याएको भद्रपुर नगरका कार्यकारी अधिकृत काजीमान राईले जानकारी दिए । नगरपालिकाले अनुगमन समिति पनि बनाएको छ ।

भद्रपुर नगरपालिकाका सामुदायिक विकास प्रमुख राजन न्यौपानेको संयोजकत्वमा बनाएकोसमितिले प्रत्येक दिन मेयर र अन्य जनप्रतिनिधिसहितको टोलीले दिनको २ बजे देखि ५ बजेसम्म अनुगमन गर्दै आएको छ ।

आफ्नो नगरपालिकाको कारणले समग्र झापा नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुनबाट वञ्चित नहोस् भनेर अनुगमन अभियान सुरु गरिएको मेयर जीवनकुमार श्रेष्ठ बताउँछन् ।

‘खाना खानु न भन्दा जति सजिलै सम्झाएर खुवाउन सकिन्छ, तर शौचालयमा नै शौच गर्नु भनेर सम्झाउन धेरै गाह्रो पर्दा रहेछ,’ श्रेष्ठले भने, ‘अनुगमन अभियान थालेपछि मात्र शौचालय बनाउन सक्नेले गर्दै आएको हेलचक्र्याइँ र जसको शौचालय छैन उनीहरू पूर्णरूपमा नगरपालिकासँग आशावादी देखिन्छन् ।

हामी किन बनाउने यो त नगरपालिकाले बनाइदिने हो भनेर सीधै भन्ने गर्छन् ।’

उनका अनुसार कतिलाई त सम्झाइबुझाइ गर्ने गरेको र कतिपयको आर्थिक अवस्था नाजुक भएकोले नगरपालिका आपैंँले अहिले चर्पी बनाउन दिन सक्ने अवस्था छैन ।

त्यस्ता घरहरूमा उनीहरूको आँगनमै गिटी, बालुवा, सिमेन्टहरू झार्दिने र उनीहरूले त्यहाँ श्रमदान गर्नुपर्ने र प्यान अनि टिनबेरा उनीहरू आफैँले ल्याउनुपर्ने भनेपछि धेरै जना यो अभियानमा अग्रसर भएर आएका मेयर श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (1 )