प्रदेशसभा १ एमालेका प्रदीप भण्डारी सभामुखको उम्मेदवार

विराटनगर । नेकपा एमालेले प्रदेश १ को प्रदेशसभा सभामुखमा प्रदीप भण्डारीको नाम सिफारिस गरेको छ ।

सुनसरी १ क बाट निर्वाचित प्रदेश सांसद भण्डारीलाई एमालेले सभामुखको उम्मेदवारमा अघि सारेको हो ।

प्रदेशसभा १ मा सभामुखका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम छ भने सोमबार निर्वाचन रहेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहमति अनुसार प्रदेश १ मा सभामुख र मुख्यमन्त्री एमाले नै रहनेछन् । उपसभामुख भने नेकपा माओवादी केन्द्रबाट हुनेछ ।

को हुन् भण्डारी ?

एमालेको धरान उपमहानगरपालिका इन्चार्ज र सुनसरी जिल्ला सचिवालय सदस्य भण्डारीले ४ वर्षअघि शिक्षण पेशाबाट अवकाश लिएका थिए ।

उनी एमाले सचिव तथा प्रदेश १ इन्चार्ज भीम आचार्यको निकट मानिन्छन् ।

शनिबार आचार्य र हालै संसदीय दलको नेता चुनिएका शेरधन राईबीच भण्डारीलाई सभामुखको उम्मेदवार बनाउने सहमति भएको एमाले स्रोत बताउँछ ।

प्रदेशसभा निर्वाचनमा एमालेले सुनसरी १ क बाट भण्डारी निर्विरोध सिफारिस गरेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )