किस्ने खोलाको सिँचाइ परियोजना अलपत्र

झापा । झापाको गौरादह–१ मा सञ्चालित माथिल्लो किस्ने खोला सिँचाइ परियोजनाको काम अन्तिम चरणमा आएर अन्यौलमा परेको छ ।

ठेकेदार कम्पनीले काम सम्पन्न भइसकेको बताए पनि उपभोक्ता समितिले भने काम सम्पन्न भइनसकेको जनाएको छ ।

तीन वर्षभित्रमा सम्पूर्ण परियोजना सम्पन्न गर्ने बताए पनि अझै काम गर्न बाँकी रहेको उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी दाहाल बताउँछन् ।

१० करोडको लागतमा कन्काई इन्टरनेशनल बिल्डर्स कम्पनीलाई सिँचाइ डिभिजन कार्यालयमार्फत ठेक्का दिए पनि ६५ प्रतिशतमात्र काम सम्पन्न भएको उनको दाबी छ ।

सिँचाइ डिभिजन कार्यालयका प्रमुख ईश्वरीप्रसाद तिवारीले भने सम्झौताअनुसारको काम सम्पन्न भइसकेको दाबी गरे ।

उनले गौरादह–१ स्थित टिकघारीतर्फको शाखा नहरको मात्र काम बाँकी रहेको बताए । त्यसलाई पनि चाँडै उपभोक्ता समितिसँगको छलफलपछि सम्पन्न गर्ने जनाए ।

कन्काइ इन्टरनेशनल बिल्डर्स कम्पनीका ठेकेदार राम मैनालीले ठेक्का बमोजिमको परियोजनाको काम सबै सम्पन्न भइसकेको बताएका छन् । उनले भने, ‘हामीले अहिलेसम्म गरेका कुनै पनि परियोजना अपूरो छोडेका छैनौँ ।

जहाँ काम गर्छाै त्यहाँ राम्रोसँग सम्पन्न गरेका छौ ।’

दुबै पक्षले काम सम्पन्न भइसकेको दाबी गरे पनि आफूहरुलाई परियोजना सम्पन्न गरेर अहिलेसम्म हस्तान्तरण नभएको उपभोक्ता समितिका अध्यक्ष दाहालको भनाइ छ ।

सिँचाइ डिभिजन कार्यालयका प्रमुख तिवारीले भने सिँचाइ परियोजनाको पुनर्निर्माण गरेकाले उपभोक्तालाई हस्तान्तरण गर्नु नपर्ने बताए ।

स्थानीय किस्ने खोला र लालपानी खोलालाई बाँध निर्माण गरी सिँचाइको लागि नहर बनाइए पनि काम अपूरो नै रहेको छ ।

गौरादहको करिब ७ सय बिगाह क्षेत्रफललाई सिँचाइ सुविधा र्पुयाउने उद्देश्यले सो परियोजना सुरु गरिए पनि अझै काम बाँकी रहदा समस्या भएको हो ।

उपभोक्ता समिति र सिँचाइ डिभिजन कार्यालयले एक अर्काप्रति आरोप लगाइरहँदा स्थानीय उपभोक्ताले भने बाँध होचो बनाएको भन्दै गुनासो गरेका छन् ।

तीन तहको उचाइमा बनाइएको बाँध बर्खाको समयमा पानी नाघेर जाने उनीहरु बताउँछन् । उनीहरुले बाँध अझै अग्लो बनाउनुपर्ने माग गरेका छन् ।

यसैबीच, परियोजनाले क्षति र्पुयाएको पीडितहरुले बताएका छन् ।

उनीहरुले आफूले भोगचलन गर्दै आएको जग्गाको मुआब्जा, बोटबिरुवा तथा बालीनालीमा पुगेको क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

आफूहरुको कुरै नसुनी परियोजनाले पेलेर काम गरेको उनीहरुको आरोप छ । स्थानीय महेश्वरी बिष्टले नहरका कारण आफ्नो १५ कठ्ठा जमिन बालुवामा परिणत भएको बताइन् । उनले उब्जाउ हुने बालीमा बालुवा थोपरिदिएको भन्दै आक्रोस व्यक्त गरिन् । उनले भनिन्, ‘ यो नहर बनाउनेहरुले मेरो सबै बारी नै खाल्डो पारिदिए । अब के उब्जाउ हुन्छ र हामीले खानु ।’

अहिले बाँध निर्माण भएकै ठाउँमा घर बनाएर बसेका सागर सिवाले परियोजनाले आफूहरुलाई विस्थापित नै बनाएको गुनासो गरे ।

पहिला भोगचलन गर्दै आएको जग्गा छोडेर अहिले महिनाको १ हजार रुपैयाँ कोठा भाडा लिएर बस्नु परेको उनले बताए ।

भोक तिर्खा नभनी विभिन्न निकाय धाए पनि जग्गाको मुआब्जा नपाएको उनको दुस्खेसो छ ।

त्यस्तै, बाँधको छेउमै बस्दै आएका यादवप्रसाद खनाल भने कुनबेला खोलाको कटानले आफ्नो घर लैजाने हो भन्ने चिन्तामा परेका छन् ।

उनले आफ्नो नम्बरी २ कठ्ठा जमिन बाँध बनाउँदा गएको तर त्यसको क्षतिपूर्ति नपाएको बताए ।

त्यस्तै, कमल गाउँपालिका वडा नम्बर २ का खेमनाथ सुवेदीले बाँध नै अपायक ठाउँमा बनाएको बताए ।

खोलाको धार एकातिर र बाँध अर्काेतिर बनाएकाले भविष्यमा पूरै कमल गाउँपालिका(२ खोलाको कटानबाट जोखिममा पर्ने उनी बताउँछन् ।

उपभोक्ता समितिका अध्यक्ष दाहालले भने साविकको खोला कुदेकै ऐलानी जग्गामा नै नयाँ नहर बनाएको हँुदा त्यसको क्षतिपूर्ति दिनु नपर्ने जिकिर गरे ।

उता सिँचाइ डिभिजन कार्यालयका प्रमुख तिवारीले स्थानीयलाई हर्जना दिने भन्ने कुरा आफूहरुको सरोकारको विषय नभएको भन्दै पन्छिए ।
यस्ता सामाजिक काम उपभोक्ता समितिले नै व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘जग्गाको व्यवस्थापन उपभोक्ता समितिकै काम हो ।

कतै काम गर्दै जाँदा बालीनालीमा नोक्सान पुगेको भए ठेकेदार कम्पनी त्यसको जवाफदेही हुनुपर्छ ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (1 )