प्रदेश १ का १४ जिल्लाका सामग्री प्रदर्शन गर्न धनकुटामा महोत्सव सुरु

धनकुटा । निकासीका लागि तुलनात्मक लाभको सूचीमा परेका वस्तुको प्रवर्द्धन तथा स्थानीय सामग्रीको प्रचारका लागि महोत्सव सुरु गरिएको छ ।

आइतबारदेखि सुरु भएको ’धनकुटा महोत्सव’मा नेपाल व्यापार रणनीति कार्यक्रम (एनटिआइएस)मा परेका १९ वटा वस्तुसहित १ सय ६० वटा स्टल राखिएको छ ।

नेपाल उद्योग ववाणिज्य संघ धनकुटाको आयोजना ३० फागुनसम्म चल्ने मेलाको मुख्य आकर्षण हेलिकोप्टरबाट जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलको दृश्यावलोकन गराइने कार्यक्रम रहेको छ ।

हेली फ्लाइटमार्फत् ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी मन्दिर र संखुवासभाको गुफापोखरीको दर्शनका लागि टुर प्याकेजको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

महोत्सवमा हर्स राइडिङ (घोडचढी) छ भने धनकुटालगायत प्रदेश १ का १४ वटै जिल्लाका उत्कृष्ट उद्यमीहरूद्वारा सामग्रीहरू राखिएको छ ।

महोत्सव अवधिभर दुई लाख दर्शकहरूले अवलोकन गर्ने र तीन करोड रुपैयाँ बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ।

मेला उद्घाटनको क्रममा मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को समृद्धिको आधार पर्यटन, कृषि र उद्योग भएको बताउँदै निजी क्षेत्रसँग सहकार्य गरेर प्रदेशलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )