सुखानी सहिद स्मृतिसभामा पुस्तक विमोचन

झापा ।  ४५ वर्षअघि कम्यनिष्ट आन्दोलनका क्रममा ५ जनाले सहादत प्राप्त गरेको स्थल सुखानीमा एमाले र माओवादी केन्द्रले सोमबार संयुक्त रुपमा सहिद स्मृति दिवस मनाएका छन् ।

२१ फागुन २०२९ मा सुखानीको जंगलमा हत्या गरिएका योद्धाहरुको सम्झनामा ४५औँ सुखानी सहिद स्मृतिसभा मनाइएको हो ।

स्मृति दिवसमा हरेक वर्ष एमाले अध्यक्ष केपी ओली सुखानी आउने गरेका थिए । यसपटक भने प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा सुखानी सहिद स्मृति दिवस मनाइएको हो ।

मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे लगायतले ५ जना सहिदको शालीकमा माल्यार्पण गरे ।

कार्यक्रमको अध्यक्षता एमाले जिल्ला अध्यक्ष चिन्तन पाठकले गरे भने सञ्चालन माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजय साम्पाङले ।

कार्यक्रममा एमाले र माओवादी केन्द्रका नेताहरु पालैपालो बोलेका थिए । यसअघि यी दुई पार्टीले फरक–फरक स्थानमा यो दिवस मनाउँदै आएका थिए ।

के हो सुखानी काण्ड ?
४५ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँच जनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ले देशभर परिचित छ ।

तत्कालीन पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा पक्राउ परेका पाँचजना योद्धालाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो ।

नेत्र घिमिरे, कृष्ण कुईकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई सुखानीमा हत्या गरिएको थियो । घिमिरे, कुईकेल र श्रेष्ठ झापाको गरामनी, दाहाल चारपाने तथा राजवंशी ज्यामिरगढीका बासिन्दा थिए ।

उनीहरुलाई हत्या गरिएकै स्थानमा अहिले सहिदकै संख्याका पाँचवटा रुख छन् । घटनास्थललाई सहिद स्मारकको नाम दिएर संरक्षण गरी राखिएको छ । सुखानी दानाबारीस्थित इलाम र झापाको सीमानामा पर्छ ।

पूर्वको राजनीति विमोचित
सोही कार्यक्रममा झापाका पुराना पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘पूर्वको राजनीति’ नामक पुस्तक विमोचन गरिएको छ ।

पुस्तकको विमोचन प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले गरे । मुख्यमन्त्री राईले राजनीति गर्नेहरुका लागि पुस्तक अत्यन्त लाभदायी हुने बताए ।

अढाई दशक लामो पत्रकारिताको अनुभव बोकेका लेखक सिग्देलका अनुसार पुस्तक राजनीतिसँग सम्बधित छ ।

‘राजनीति गर्नेहरुलाई यो पुस्तक अत्यावश्यक छ,’ लेखक सिग्देलले भने, ‘किनभने जो मान्छे आफ्नो काममा लाग्छ, त्यस बिषयमा दख्खल राख्न जरुरी छ, राजनीतिक घटनाक्रम र त्यसमा आएका उतारचढावको आँकलन गर्न सकेन भने ऊ असफल पनि हुन सक्छ ।’

युवा पुस्ता र विद्यार्थीका लागि आफ्नो पुस्तक सन्दर्भ सामाग्री बन्ने सिग्देलले बताए । कोर्षका किताब मात्र पढिरहेको विद्यार्थीका लागि आफ्नो पुस्तकमा भएका ऐतिहासिक तथ्यहरु सहयोगी सामाग्री बन्न सक्ने उनले बताए ।

पत्रकार सिग्देलद्वारा लिखित यो दोस्रो पुस्तक हो । गतवर्ष उनले आफ्नो पत्रकारिता जीवनको भोगाइमा आधारित ‘जीवनको गति’ नामक पुस्तक निकालेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )