युएईको मरुभूमिमा झापाली सागवाला

रामप्रसाद ढुंगेल/युएई
कृषिप्रधान देशमा बसेर आर्थिक समृद्धि नहुने निश्चय भएपछि आजभन्दा १६ वर्षअघि विदेसिएका ध्यान केसीको फुर्सदको समय हिजोआज तरकारबारीमा बित्छ ।

व्यावसायिक किसानजस्तै सिजन अनुसारका तरकारी फलाउछन् उनी । बारीभरी करेला, फर्सी, टमाटर र मौसमी तथा बेमौसमी तरकारीहरुले नेपालकै करेसाबारीको झल्को दिन्छ ।

कुनै रासायनिक मल वा बिषादीको प्रयोग पनि गर्दैनन् उनी ।

अरबको अधिकतम् तापक्रम ५० डिग्री पुगे पनि उनको बारीमा लटरम्म फलेका हुन्छन्, गोलभेडा र फर्सीहरु । विभिन्न प्रकारका सागहरुले उनको बारी नेपालको कुनै व्यावसायिक कृषि फारमझै देखिन्छ ।

अरबका बलौटे जङ्गलमा रहेका कुनै भेडीगोठ या मजराहरुमा काम गर्ने भिसामा उनी आएका चाहिँ होइनन् ।

उनी त युएईको राजधानी अबुधाबीको एक भब्य सेखको दरबारमा काम गर्ने सेक्युरिटी गार्ड हुन् ।

आफैँले काम गर्ने दरबारको खाली जग्गामा उनीे फुर्सदको समय सदुपयोग गर्न र तरोताजा तरकारी खाने उदेश्यले मलजल गरेर नेपाली पारामा एक करेसाबारी बनाएका छन् ।

आफ्नै उपभोगका लागि नेपालबाट बीउ ल्याएर सुरु गरेको तरकारी बारीमा अधिक मात्रामा उत्पादन भएपछि उनले नजिकका साथीहरूलाई दिन थाले ।

दरबारमा आफ्नै लागि फलाएको तरकारी बेचबिखन गर्न नैतिकताले पनि दिएन ।

साथीभाइ र आफन्तले मिठो मानी तरकारी लान र खान थालेपछि उनले सिजन अनुसारका तरकारी फलाउँदै गए ।

उनको तरकारीको प्रचारप्रसार हुँदै गएपछि दुबई, सारजा र अजमानदेखि नेपालीहरु तरकारी लिन आउन थाले ।

आफुले पनि सिजनेबल तरकारी खान पाउने, साथीभाइ र आफन्तहरु पनि खुशी हुने, फुर्सदको समयमा सिर्जनशील काम हुने भएपछि उनको तरकारीमोह बढदै गयो ।

ड्युटीपछिको समय पनि अनावश्यक डुलेर र नशामा भुलेर बिताउनुभन्दा उत्पादनमुलक काममा लाग्नु नै उचित लाग्यो ।

सबैको सकारात्मक प्रतिक्रियाबाट हौसिएका केसीले आफ्नो नियमित कामबाट फुर्सद निकाल्दै तरकारी फलाउँदै गए ।

तरकारीप्रतिको लगाव त्यसैत्यसै बढदै गयो ।

यहाँसम्मकी उनले फेसबुकमा आफ्नो नाम नै मरुभूमिको सागवाला सम्म राखेका छन् ।

‘पोहोर त एक ट्रक साग फलाएँ होला,’ केसीले भने, ‘मिहिनेत ग¥यो भने बालुवामा पनि फल्दो रहेछ, नेपालको माटोमा सुन नै फल्ने रहेछ ।’

बालुवाले भरिएको जमिनमा दरबारको बाख्रा फारमबाट प्राङगारिक मल आफैँले ल्याएर पाइपबाट नियमित पानीको व्यवस्था गरेका कारण पनि तरकारी उत्पादन सहज भएको केसीको अनुभव छ ।

आफ्नो नियमित रोजगारीका साथमा फुर्सदको समयमा तरकारी उत्पादन गर्दै केसीले उदाहरणीय र प्रेरणादायी काम गरेको सेख प्यालेसमा ३५ वर्षदेखि कार्यरत पाकिस्तानी म्यानेजर मुजफ्फर खान बताउँछन् ।

परदेशमा १६ वर्ष
तत्कालीन शाही नेपाली सेनाको जागिर छाडेर वैदेशिक रोजगारीका लागि सर्वप्रथम साउदी हिँडेका गौरादह–१ झापाका ध्यान केसी मलेसिया र कतारको रोजगार यात्रापछि विगत ९ वर्षदेखि युएईको सेख प्यालेसमा सुरक्षागार्डको रुपमा काम गरिरहेका छन् ।

वैदेशिक रोजगारीमा भोगेका दुःखसुखका किस्साहरु बग्रेल्ती संगालेका छन् उनले ।

नेपाल सरकारको जागिरमा लामो समय टिक्न नसकेजस्तै साउदी, कतार र मलेसियामा पनि लामो समय जम्न सकेनन् ।
साउदीमा त भनेअनुसार काम र दाम नभएपछि ६ महिनामै घर फर्किए ।

त्यसपछि केसी सन् २००१ मा मलेसिया हानिए । एउटा भिसाको अवधि समाप्त भएपछि उनले कतारको रियालको सपना देख्न थाले ।

नेपालमा आर्मीमा काम गरेको अनुभवले केसीलाई ३ वर्ष कतारमा सेक्युरिटी गार्डमा जसोतसो टिक्न सहज भयो । तर, कतारको रियालले मात्रै आवश्यकताहरु पूरा गर्ने धौधौ हुने अवस्था आएपछि युएई आयो रोजाइमा । यो रोजाइ नै दिगो साबित भयो ।

आफन्तले नै पठाइदिएका थिए भिसा । दरबारमा सुरक्षागार्डकै काम ।

तुलनात्मक रुपमा राम्रै दाम । छोराछोरी बोर्डिङ जान थाले । परिवारको आर्थिक अवस्था सुधार हुँदै आयो । छोराछोरी हुर्किदै गएपछि श्रीमतीलाई पनि सैलुनमा काम गर्न युएई नै बोलाए ।

काम, दाम र मामको खोजीमा परदेश जानेहरुको औसत सपना पूरा भएको छ उनको ।

युएईको रोजगारीसँगै तरकारी उत्पादनमा रमेका ध्यान केसीजस्तै सबैले यस्तै सिर्जनात्मक काममा ध्यान दिने हो भने विदेशको बसाइ सार्थक नहुने कुरै छैन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )