तरकारी बजार निर्माण अन्तिम चरणमा

मोरङ । विराटनगर महानगरपालिकासँग जोडिएको कटहरी गाउँपालिका १ मा तरकारी तथा फलफूल थोक बजारको निर्माण अन्तिम चरणमा पुगेको छ ।

निर्माण कम्पनीले उक्त बजारको वैशाख महिनाभित्र निर्माण सम्पन्न गरेर जेठमा हस्तान्तरण गर्ने लक्ष्यका साथ काममा तीव्रता दिएको छ ।

कटहरी गाउँपालिकामा बजार निर्माण भए पनि उक्त बजार विराटनगर क्षेत्रमा नै सिंगिया खोला पारी रहेको छ ।

महानगरकै उपभोक्ताले उक्त बजार उपयोग गर्ने छन् ।

प्रदेश १ को राजधानी विराटनगरस्थित मूल सडकमा लाग्दै आएको साप्ताहिक हटियालाई उक्त बजारमा व्यवस्थापन गर्ने महानगरको योजना छ ।

विराटनगर महानगरपालिकाले गुदरी, शनीलगायतका केही हटियालाई उक्त थोक बजारमा व्यवस्थापन गरेर महानगरभित्रको ट्राफिक जामलाई सहज पार्ने योजनामा छ ।

महानगरका सामाजिक विकास शाखा प्रमुख दशिलाल माझीले गुदरी, महानगरको अगाडी मूल सडकमा लाग्ने शनी हटियालगायत केही हटियालाई उक्त थोक बजारमा यस वर्ष व्यवस्थापन गर्ने योजना रहेको बताए ।

‘महानगरस्थित प्रत्येक तरकारी हटिया सडकमा नै लाग्ने गरेकाले समस्या भएको छ,’ उनले भने, ‘सडकमा लाग्दै अएको हटियाले ट्राफिक व्यवस्थापन चुनौती बनेको छ र अब प्रदेशको राजधानीसमेत भइसकेकाले हटिया व्यवस्थापन नगरी नहुने अवस्थाको सृजना भएको छ ।’

व्यावसायिक कृषि तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरी को ४ बिघा २ कठ्ठा र १८ कठ्ठा २ धुर गरी कुल ५ बिघा २ धुर जग्गामा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँ लागतमा बजार निर्माण सुरु गरेको हो ।

बजार निर्माणको ठेक्का रमन र लामा कन्स्ट्रक्सन कम्पनी जेभिलेले पाएको छ ।

निर्माण कम्पनीका अबिनास बोहोराले आउँदो बैशाखभित्र निर्माण सकेर जेठमा हस्तान्तरण गर्ने लक्ष्यका साथ काममा तीव्रता दिएको बताए ।

‘कन्स्ट्रक्सनको काम अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने, ‘अब बाटो ढलान, केही प्लास्टर, ट्रस्टको केही काम, झयाल र स्यानेटरीको काममात्रै बाँकी छ ।’ उनले हालसम्ममा ७५ प्रतिशत काम पूरा भइसकेको बताए ।

विराटनगरस्थित गुद्दरी हटियाको फोहोर, घुइँचो, तरकारीको गाडी पार्किङ गर्ने ठाउँको अभावलगायतको समस्या साधानका लागि उक्त बजार निर्माण थालिएको छ ।

व्यवस्थित तरकारी बजारको अभावमा यहाँ प्रत्येक दिन सडकमा नै साप्ताहिक हाट लाग्ने हुँदा दुर्घटनाको जोखिम हुन्छ ।

साँघुरो ठाउँमा लाग्ने हाटबजारमा कृषक तथा व्यापारीहरूलाई तरकारी तथा फलफूल बिक्रीमा समेत समस्या छ ।

गुदरीका तरकारी वयवसायीहरूले यहाँको साँघुरो ठाउँको विकल्प आवश्यक रहेको अवस्थामा निर्माण भइरहेको तरकारी तथा फलफूल थोक बजार आफूहरूको आशाको केन्द्र रहेको सुनाए । उनीहरूले यहाँ बाहिरबाट खरिद गरेर ल्याएको तरकारी अनलोड गर्न सडकमा गाडी रोके बापत पनि मासिक रूपमा ट्राफिक प्रहरीलाई मोटो रकम बुझाउनु परेको मार व्यापारी र उपभोक्ता दुबैलाई पर्दै आएको गुनासो पोखे ।

तराकारी तथा फलफूल व्यापारीहरूले निर्माणाधीन थोक बजारमा सटर भाडा लिन तछाडमछाड गर्न थालेको व्यावसायिक कृषि तथा व्यापार आयोजना कार्यान्वयन सहयोग समूह विराटनगरका अनुगमन तथा मूल्यांकन अधिकृत बसन्त राज अर्यालले बताए ।

‘उक्त जग्गा विद्यालयसँग ५० वर्षका लागि भाडामा लिएर बजार निर्माण गरिरहेका छौं,’ उनले भने, ‘रमन र लामा कन्स्ट्रक्सन कम्पनी जेभिलेले १३ महिनामा उक्त बजार निर्माणका लागि सन् २०१६ अगस्त २६ मा सम्झौता गरेको थियो तर साउन अन्तिम साता आएको बाढीले निर्माण काम प्रभावित भएको थियो ।’

अधिकृत अर्यालले विराटनगर प्रदेश राजधानी भएदेखि निर्माण चाँडो पूरा गर्न दबाब बढेको सुनाए ।

‘निर्माण कम्पनीले निर्माण कामलाई तीव्र गतिमा अगाडि बढाएको छ,’ उनले भने, ‘अब २० र २५ प्रतिशत काममात्रै बाँकी रहेकाले जेठमा हस्तान्तरण गर्न सकिन्छ ।’

‘कुल १७ हजार ८ सय ८१ वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको उक्त बजार अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको हुनेछ,’ अर्यालले भने, ‘थोक बिक्रेताका लागि गोदामसहितको १४ सय ८८ वर्गमिटरमा १७ वटा सटर, खुद्रा बिक्रेताका लागि ३ सय ५१ दशमलव २ वर्गमिटर सटर, कृषकले आफ्नो उत्पादन आफंै बिक्री गर्न १ सय ३८ दशमलव ५ वर्ग मिटरको सेड निर्माण भइरहेको छ ।’

बजारभित्र निर्माण भइरहेको तीन तले प्रशासनिक भवनमा प्रशासन, म्यानेजर आवास, सुरक्षा गार्ड आवास, ६ बेडको कृषक अतिथि गृह, सार्वजनिक शौचालय, स्वास्थ्य क्लिनिक, चमेना गृह, बैंक शाखा रहने उनले सुनाए ।

तरकारी बोकेर आएको ट्रक तौल गर्ने मेसिन, फोहोर संकलन यार्ड, तरकारी लोड अनलोड गर्ने क्षेत्र, डिप ट्युवेल, जेनेरेटर, सोलार व्याट्री, सिसिटिभी, सुरक्षा गार्ड पोस्ट र गाडी पार्किङको व्यवस्था तरकारी बजारभित्र रहने उनले बताए ।

अर्यालले तरकारी तथा फलफूल थोक बजारमा वर्षेनी ४४ हजार ९ सय ६६ दशमलव ३ मेट्रिक टन तरकारी र ८ हजार ७ सय ३ दशमलव ३ मेट्रिक टन फलफूल बिक्री हुने लक्ष्य रहेको बताए ।

उक्त तरकारी बजारले यहाँ २ दशमलव ५ प्रतिशत वर्षेनी आर्थिक वृद्धि हुने लक्ष्य रहेको उनले सुनाए ।

उक्त तरकारी तथा फलफूल बजार अत्याधुनिक सुविधा सम्पन्न भए पनि बिक्री नभएको तरकारी राख्न चिस्यान केन्द्रको व्यवस्था गर्न माग गरेको छ ।

अधिकृत अर्यालले चिस्यान केन्द्र आवश्यक भएको स्विकारे ।

उनले यो योजनामा चिस्यान केन्द्र पर्न सकेन तर अर्को योजनामा आफूहरूले त्यसको व्यवस्थाका लागि पहल गरिरहेको बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )