दराजमै थन्किए कृषि इन्जिनियरिङका दर्जनौं शोध

इटहरी । प्रदेश १ सरकारले कृषिलाई समृद्धिको पहिलो आधारको रूपमा ब्याख्या गरे पनि कृषि इन्जिनियरिङ पढाइ हुने धरानको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका थेसिस (शोधपत्र)हरू शोधपत्रमै सीमित हुने गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत सञ्चालित नेपालकै एक्लो कृषि इन्जिनियरिङ कलेजका शोधपत्रहरु कृषकहरुमाथ पुग्नै नपाउने कृषि इन्जिनियरहरूको दुःखेसो छ ।

‘सरकारले करोडौं लगानी गरेको कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्न कृषि इन्जिनियरिङ शिक्षा धरानमा मात्रै पढाइन्छ’, धरानमा कृषि इन्जिनियरिङ गरेर हाल अध्यापन गराउँदै आइरहेका अध्यापक सागर काफ्ले भन्छन्, ‘धेरै विद्यार्थीहरूले ४वर्षे स्नातक कृषि इन्जिनियरिङ परीक्षा सक्दा केही न केही शोधहरु गरेका हुन्छन् ।

तर,ती कुनै पनि कृषकहरू माझ पुग्न पाँउदैनन् ।’

कृषि इन्जिनियरिङका विद्यार्थीले गरेका शोधपत्रहरुको आधारमा विभिन्न प्रविधिहरू बनाएको खण्डमा स्वदेशी प्रविधिमा नेपाली कृषिको यान्त्रिकीकरण र आधुनिकीकरण बढ्ने काफ्लेको तर्क छ ।

कोरियाको काङ्गन राष्ट्रिय विश्वविद्यालयबाट नवीकरणीय ऊर्जा विषयमा स्नातकोत्तर गरेका काफ्ले नेपालका कृषि इन्जिनियरिङका शाधेपत्र शोधपत्रमै थन्कनु विडम्बना भएको बताउँछन् ।

‘कोरियामा विश्वविद्यालय, उद्योग र सरकारबीचमा नजिकको सम्बन्ध हुन्छ’, काफ्ले भन्छ्न, ‘विश्वविद्यालयका नयाँ थेसिसका कुराहरु उद्योगले उत्पादन गर्छन् र उत्पादनमा असहज भएमा सरकारले सहयोग गर्छ र त्यहाँको कृषि इन्जिनियरिङले राम्रो फड्को पनि मारेका छन् ।’

कोरिया, इजरायल र जर्मन जस्ता देशले कृषि इन्जिनियरिङबाट आएका शोधपत्रहरुलाई उद्योगबाट उत्पादन गरेर कृषककोमा पुर्याएरै कृषिमा व्यापक विकास गरेको काफ्ले बताउँछन ।

के–के शोधपत्र बने पूर्वाञ्चल क्यापसमा ?
पुर्वाञ्चल क्याम्पसमा ०५७ सालयता नेपालमै पहिलोपटक कृषि इन्जिनियरिङको पढाइ हुँदै आएको छ ।

४८ जनाको कोटा रहेको यो क्याम्पसमा १२ जनालाई पूर्ण छात्रवृत्ति र ३६ जनालाई ३ लाख शुल्क लिएर पढाइँदै आएको छ ।

नेपालकै पहिलो र एकमात्रै कृषि इन्जिनियरिङ कलेज भएकोले यहाँ विभिन्न कृषिको यान्त्रिकीकरण र आधुनिकीकरणको लागि शोधपत्रहरु सम्पन्न भएका छन् ।

सपन थापा मगरको समूहले बनाएको आलु रोप्ने प्रविधि देखि प्रतीमा कार्की समूहले फलफूल छान्ने मेसिनको शोधपत्र गरेका छन् ।

क्याम्पसका पुरानो व्याचले गरेका बिउ छर्ने प्रविधि र धान रोप्ने औजार तथा जैबिक ऊर्जा, सिँचाइ तथा जलविद्युत्तका प्रविधिहरूमा पनि शोधपत्रहरु बनेका छन् । यस्तैगरी माटोरहित बाली पनि विद्यार्थीहरूले बनाएका छन् ।

नवीकरणीय ऊर्जामाथि पनि धेरै शोधपत्रहरु बनेका छन् । तर हरेक वर्ष बन्ने यस्ता नयाँ–नयाँ शोधपत्रहरु धमिराको खजना बन्दै आएका छन् । ती शोधहरुको मद्दतले व्यावसायिक उत्पादन बढाउन सकिने सम्भावना रहे पनि सरोकारवालाहरुले चासो दिने गरेका छैनन् ।

‘एक्सटेन्सन एजुकेसन’ भनेर विद्यार्थीहरूले भन्ने यो प्रक्रियामा सरकारकै दोष देख्छन्, विद्यार्थीहरू । कृषि इन्जिनियरिङ सपन थापा मगर त कृषि इन्जिनियरिङ सकेको एउटा विद्यार्थीलाई करियरको प्रमुख समस्या हुनु र जे विकल्प आयो त्यै बाटो रोज्ने कारण यस्तो समस्या आएको बताँउछन् ।

भन्छन्, ‘ल्याबबाट नयाँ प्रविधि निकालेको इन्जिनियरलाई सरकारले उत्प्रेरित र रोजगार दिएन भने जे काममा पैसा पाउँछ उसले त्यै गर्छ । यसले खास गरी कृषि क्षेत्र र कृषकहरूलाई समस्यामा पार्छ ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )