नेपालबाट साइकलमै अमेरिका
सुरुंगाका युवराजविक्रम मैनाली र पर्वतका भेषबहादुर कँडेल ४२ मुलुक छिचोलेर अमेरिका पुगेका छन् ।
साढे दुई वर्ष साइकल चलाएपछि उनीहरू अमेरिका पुगे । तर, उनीहरूको लक्ष्य त्यहाँ पुग्नु मात्र होइन ।
उनीहरू रक्तदानमार्फत मानव सेवा गर्नुपर्ने सन्देश दिन र भूकम्पपछि धर्मराएको नेपाली पर्यटन क्षेत्रलाई सकारात्मक सन्देशमार्फत टेवा दिन विश्वयात्रामा निस्किएका हुन् ।
एक सय ५० देश पुग्ने लक्ष्य लिएका यी यात्री अहिलेसम्म एसियाली, युरोपेली र उत्तर अमेरिकी धेरै देश पुगिसकेका छन् ।
हिउँ परेर अमेरिकामै
साइकलमा झन्डै २० हजार किलोमिटर यात्रा गरेपछि युवराज र भेषराज अमेरिकाको मेरिल्यान्ड पुगे ।
तर, उनीहरू दुई महिनादेखि मेरिल्यान्डमा नै रोकिए । कहिले वासिङ्गटन डिसी पुगेर फर्किए त कहिले भर्जिनिया पुगेर । उनीहरूलाई नेपाली मूलका रिपब्लिकन नेता एचबी भण्डारीले मेरिल्यान्डमा आश्रय दिए ।
तर, युवराज र भेषराजको गन्तव्य अमेरिका होइन ।
उनीहरू विश्व भ्रमणमा निस्केका हुन् ।
काँकडभिट्टा नाकाबाट नेपाल छाडेका उनीहरूले एसिया र युरोपका धेरै देश नाघिसके । अमेरिकाको चिसो मौसमले उनीहरूलाई अगाडि बढ्न दिएन ।
सडकमा हिउँ जमेको छ । साइकल चिप्लिने हुनाले कुदाउन मिल्दैन ।
नभए उनीहरू हुइकिँदै क्यानडाको राजधानी ओटावा पुगिसकेका हुन्थे ।
तर, मौसम सुध्रिने आशामा अझै एक महिना अमेरिकै बस्न बाध्य छन् ।
गोविन्दाले फोटो खिचाए
गत वर्षको १४ जुनमा उनीहरू काठमाडौँबाट बिदा भएका थिए ।
साथमा थियो, पासपोर्ट, परराष्ट्र मन्त्रालयले दिएको चिठी, रेडक्रस र जेसिस हेडक्वार्टरले विश्व साइकल यात्राका लागि बनाइदिएको सिफारिस ।
काठमाडौँबाट साइकल यात्रा सुरु गरेपछि पहिलोपटक दुबैजना झापाको सुरुंगास्थित युवराजविक्रम मैनालीको घरमा बास बसे ।
निकै कष्टपूर्ण रात थियो ।
भेषराजले घर छाडिसकेका थिए ।
युवराज भोलिपल्ट सबेरै आमा, बुवा, श्रीमती र सानो छोरालाई छाडेर अनन्त बाटो हिँड्दै थिए ।
तर, आमाले दिएको हिम्मत उनीसँगै थियो ।
श्रीमतीले बिदाइमा आँसु झारेकी थिइन् ।
त्यही मायालु आँसुलाई छातीमा राखेर उनले देश छाडे ।
उनीहरूले पहिलोपटक टेकेको विदेशी भूमि थियो, भारत ।
मुम्बई नपुग्ने कुरै भएन ।
मुम्बईको सानो सहर अँधेरी पुगेपछि बलिउड अभिनेता गाविन्दासँग भेट भयो ।
गोविन्दाको पूरै परिवार घुमघाममा थियो ।
साइकलमा राखेको नेपालको झन्डा देखेपछि गोविन्दाकी श्रीमती उनीहरूसम्म आइन् ।
गोविन्दा पनि आए ।
अनि सबै परिवार आए ।
झन्डै १५ मिनेट कुराकानी भयो ।
गोविन्दाको श्रीमतीले हिन्दी र नेपाली दुवैमा कुरा गरिन् ।
उनले नेपाली बोल्दा युवराज र भेषराज अचम्ममा परे ।
गोविन्दा र उनकी श्रीमतीले शुभकामना मात्र दिएनन्, सँगै फोटो पनि खिचाए ।
तर, मोबाइलमा ब्याट्री सकिएकाले उनीहरूले भने फोटो खिच्न सकेनन् ।
जापानी युवतीको बिहे प्रस्ताव
उनीहरू जापानको राजधानी टोकियोमा थिए ।
त्यहाँबाट ओसाका जानुपर्ने थियो । बाटामा नै रात प¥यो ।
अंग्रेजी बोल्ने जापानी भेट्टाउनै मुस्किल ।
उनीहरू त निकै टाढाको परम्परागत प्रकारको गाउँमा थिए ।
उनीहरू एउटा घरमा छिरे ।
घरमा बुवा, आमा र छोरी रहेछन् ।
छोरी २६–२७ वर्षकी, तर अविवाहित ।
संयोगबस उनी अंग्रेजी जान्दिरहिछिन् ।
राति अबेरसम्म ती युवतीसँग उनीहरूको कुराकानी भयो ।
उनी परिवारसहित केही वर्षअघि नेपाल घुम्न आएकी रहिछन् ।
नेपालीबाट त्यो परिवार खुब प्रभावित रहेछ ।
भोलिपल्ट युवतीले केही दिन बसेर गाउँ घुम्न आग्रह गरिन् ।
उनको नाम युना थियो । युनासँगै उनीहरू साइकलमा अरू तीन दिन त्यो पुरानो गाउँ घुमे । जापानका सबै सडकमा साइकल लेन छ । गाउँका हरेकसँग साइकल थियो ।
गाउँ छाड्ने वेला युनाले आँखाभरि आँसु बनाइन् ।
उनले युवराजसँग बिहेको प्रस्ताव राखिन् ।
जापानमै बस्न उनको आग्रह थियो ।
युवराजको पनि दोष थियो ।
उनले सहयोग पाइने आशामा आफू अविवाहित भएको भनेर ढाँटेका थिए ।
तर, जब हिँड्ने वेला युना पग्लिन थालिन्, युवराजले आफ्नो यथार्थ बताए ।
अहिले पनि युनालाई ढाँटेको कुरा सम्झिँदा उनलाई पछुतो लाग्छ ।
लिफ्ट मागेर कोरिया यात्रा
जापानको ओसोकाबाट फुकुका जानुपर्ने थियो ।
जिपिएसबाट छोटो बाटो खोजेर यात्रामा निस्किए, उनीहरू ।
तर, गलत बाटो समातेछन् ।
फुजी माउन्टेनको कठिन यात्रा पार गरी दुई दिनमा मात्र फुकुका पुगे ।
फुकुकाबाट कोरिया छिर्नुपर्ने थियो ।
साथमा पैसा थिएन ।
स्पिड बोटमा जापान घुम्न आएको कोरियाली जोडीसँग उनीहरूले लिफ्ट मागे ।
बोट चढेको तीन घण्टामा कोरियाको बुसान उत्रिए ।
कोरियामा मजदुरी गर्न गएका नेपाली धेरै छन् ।
नेपालको नाम जोडेर खोलिएका संस्था पनि धेरै छन् ।
ती संस्थाले अनेक कार्यक्रमका नाममा मजदुरसँग पैसा उठाएर हैरान पारेका रहेछन् ।
तर, युवराज र भेषराजले कोरियामा सहयोग पाएनन् ।
बरु एकजना शुभचिन्तकले काममा लगाइदिए ।
उनीहरूले १५ दिन काम गरे ।
रातिको काम थियो ।
कन्टेनरमा आएका सामान छुट्याएर स्टोरमा राख्नुपर्ने ।
कन्टेनरमा मासु, चामल, चिनीलगायत खाद्यान्न र लुगाकपडालगायत सामानका बोरा आउँथे ।
बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म काम गर्नुपथ्र्यो ।
काम सुरु गरेपछि उनीहरूका हातका छाला निस्किए ।
नङ उप्किएर रगताम्मे भए । सुपरभाइजरले एकैछिन उभिन दिँदैन थियो ।
उभियो भने, ‘पाली पाली’ भन्थ्यो ।
अर्थात्, कोरियाली भाषामा ‘छिटो छिटो’ भनेर कराउँथ्यो ।
सकिनसकी १५ दिन काम गरेपछि तीन लाख रुपैयाँ जम्मा भयो ।
अनि हिँडे, युरोपतिर ।
रेल स्टेसनमा अनिँदो
कारियाको राजधानी सोलबाट प्लेन चढेर युरोप छिरे ।
पोल्यान्डको राजधानी वार्सा उत्रिए ।
सोल र वार्साको मौसम धेरै फरक थियो ।
वार्सामा हिउँ परिरहेको रहेछ ।
उनीहरूको तुरुन्तै जाने ठाउँ कहीँ थिएन ।
युरोपमा अन्य महादेशमा जस्तो सहज इन्टरनेट पहुँच छैन । त्यसका लागि पैसा तिर्नुपथ्र्यो । पैसा थिएन । वार्सामा बल्लतल्ल नेपालीको होटेल पत्ता लगाए ।
युरोप भ्रमणकै क्रममा रेलबाट जर्मनी पुगे । त्यहाँ पुग्दा हिउँ परिरहेको थियो । वाइफाई थिएन । न त कोही चिनेको मान्छे नै थियो, सहयोग गर्ने ।
रातभर रेलस्टेसनबाहिर हिउँले कक्रिरहे ।
लुटिए, लडे, खान पाएनन्
चरम गरिबी झेलिरहेका एसियाका कतिपय देशमा उनीहरूले धेरै समस्या भोगे ।
केही देशमा प्रहरीले नै लुटेराको साथ दिने गरेको तीतो भोगे ।
मलेसियामा उनीहरूले असुरक्षित महसुस गरिरहँदा पारिको सिंगापुर सबैभन्दा सुरक्षित महसुस गरे ।
मलेसियाको राजधानी क्वालालम्पुरबाट जोहरबारु हुँदै सिंगापुर छिर्नुपर्ने थियो ।
जोहरबारु पुग्न जंगल पार गर्नुपर्छ ।
उनीहरूलाई बसमा जान त्यहाँका नेपालीले सल्लाह दिएका थिए । तर, साइकल यात्रीले बसमा हिँड्नु ठीक हुँदैन भन्ने ठानेर साइकलमा नै निस्किए ।
उनीहरू जंगलको बाटोमा थिए ।
भोक र तिर्खाले सताएको थियो ।
जंगलको बीचमा ठूलो चौर भेटे ।
त्यहीँ साइकल राखेर बिस्कुट खान थाले ।
खान मात्र के सुरु गरेका थिए, तीनजना केटा उनीहरू भएतिरै आए ।
पैसा र मोबाइल मागे ।
झन्डै ८० हजार पैसा लुटियो ।
पुलिसले पनि लुटेराबाट कमिसन लिने हुनाले उजुर गर्नुको औचित्य हुँदैन थियो ।
उनीहरू जोहरबारुको पुल तरेर सिंगापुर छिरे ।
सिंगापुरको मुख्य राजमार्गमा साइकल कुदाउने अनुमति छैन ।
तर, उनीहरू अज्ञानताबस ‘हाइवे’मा नै छिरे । पुलिसको चारवटा गाडीले घेरा हालिहाल्यो ।
तर, विश्व साइकल यात्री भएको बुझेपछि कुनै कारबाही गरेन ।
बरु एक घण्टाको बाटो चारवटा भ्यानले स्कर्टिङ गरेर सुरक्षा दिए ।
गन्तव्यमा पुगेपछि सिंगापुरको नियम सम्झाए ।
म्यानमारबाट थाइल्यान्ड छिर्दा पनि उनीहरूले समस्या भोगे ।
जंगलैजंगलको पहाडी बाटो ।
थाइल्यान्डतिर सीमाक्षेत्रमा रोड बन्दै थियो ।
कच्ची र अप्ठेरो ठाउँ । भेषराज चिप्लेर लडिहाले । उनको घुँडामा गहिरो चोट लाग्यो । साइकल चलाउन त के हिँड्न पनि मुस्किल हुने गरी घाइते भए ।
अनि भेषराजका सबै सामान युवराजले आफ्नो साइकलमा लोड गरे । दुवैले साइकल डो¥याउन थाले ।
अलि अगाडि थाई पुलिस भेटिए, र आफ्नो गाडीमा राखेर ५५ किलोमिटर टाढा गाउँमा पु¥याइदिए । त्यहीँ दुई दिन आराम र उपचार पनि गरे ।
उनीहरूले लाओस, कम्बोडिया र भियतनामको गरिबी पनि देखे । यी देशमा खान नपाएर सास्ती पनि भोगे । लाओसबाट कम्बोडिया जाने क्रममा गाउँलेले गलत बाटो देखाइदिए । सायद भाषा नबुझेको हुनाले त्यसो भएको हुन सक्छ ।
अत्यधिक सर्प लाग्ने ठाउँ थियो । साथमा चार लिटर पानी र एक टुक्रा पाउरोटी ।
त्यहाँ लुटेराले मान्छे नै मार्छन् भन्ने उनीहरूले सुनेका थिए । त्यसकारण बाटो बिराए पनि फर्किंदा उनीहरू गाउँ छिरेनन् । बरु त्यही एक टुक्रा पाउरोटी खाएर साइकल चलाइरहे । सर्पहरूबाट जोगिँदै तीन दिनपछि मात्र कम्बोडिया छिरे ।
कान्छी औँलाको भाषा खतरनाक
यो यात्रामा उनीहरूले युरोप र अमेरिकाभन्दा एसियामा भाषाको समस्या भोग्नुप¥यो ।
खासगरी अंग्रेजी नबोलिने र नबुझ्ने जापान, कोरिया, ताइवान, लाओस, कम्बोडिया र भियतनाममा धेरै समस्या भयो । लाओसमा त्यहाँका स्थानीयले बाटो नै गलत देखाइदिए । ताइवानमा उनीहरूले दुई दिनसम्म खान पाएनन् ।
कोरियाको घटना सम्झिँदा भने युवराजको हाँसो अहिले पनि रोकिँदैन ।
उनीहरू बसेको ठाउँमा एकजना महिला थिइन् ।
युवराजलाई पिसाब लागेको थियो ।
शौचालय देखेनन् ।
ती महिला अंग्रेजी नबुझ्ने ।
उनले कान्छी औँलो देखाएर संकेत गरे ।
तर, ती महिला त रिसाएर बर्बराउन थलिन् ।
उनी अचम्ममा परे ।
भोलिपल्ट नेपाली साथीहरूसँग भेट भयो ।
उनले हिजोको घटना सुनाए ।
साथीहरू हाँस्न थाले ।
कोरियामा कान्छी औँलो देखायो भने ‘आइ लभ यु’ भन्ने अर्थ लाग्दो रहेछ ।
त्यसपछि युवराजको पनि हाँसो रोकिएन ।
साइकल फेर्न स्पोन्सरको खोजी
भूकम्पलगत्तै रगत अभाव भएपछि युवराजले रक्तदानको प्रचार गर्न साइकलमा नेपाल भ्रमण गर्न थाले ।
त्यतिवेला उनीसँग १० हजारमा किनेको रेन्जर साइकल थियो ।
उनको साइकल पोखरामा होटेलअगाडि पार्किङ गरेकै ठाउँबाट हरायो ।
उनलाई एक स्थानीयले समाजसेवी सनतकुमार श्रेष्ठलाई भेट्न सल्लाह दिए ।
श्रेष्ठले आफ्नो छोराका बर्थ डेको अवसर पारेर उनलाई एक लाख ५० हजार रुपैयाँमा जाइट कम्पनीको टेलोन साइकल किनिदिए ।
पोखरामा नै उनको भेषराज कँडेलसँग पनि भेट भयो । त्यहीँबाट उनीहरूले विश्व भ्रमणको योजना बनाए । भेषराजले पनि उस्तै साइकल किने ।
अहिले उनीहरूको साइकल पुरानो भइसकेको छ ।
अमेरिकाको एनआरएनए पदाधिकारीले नयाँ साइकल किनिदिने आश्वासन दिएका छन् ।
अहिले युवराज र भेषराज नयाँ साइकल र मौसम परिवर्तनको प्रतीक्षा गर्दै मेरिल्यान्डमा बसिरहेका छन् ।
दुवै अनुकूल हुनेबित्तिकै फेरि घुमाउनेछन्, पाइडल ।
नयाँ पत्रिकाबाट