घुससहित जनस्वास्थ्यका अधिकृत पक्राउ

झापा, २४ साउन
अख्तियारले घुससहित जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एक अधिकृतलाई पक्राउ गरेको छ ।

जनस्वास्थ्यका अधिकृत रामप्रसाद साह दुई लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले अधिकृत साहलाई भद्रपुरस्थित उनकै इन्स्टिच्युटबाट मंगलबार दिउसो पक्राउ गरेको हो ।

जनस्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन समेत रहेका साहले झापाको दमकस्थित एक हस्पिटलबाट दुई लाख रुपैया घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीका डिएसपी रमेश बस्नेतले बताए ।

रकम दिन आएका व्यक्तिलाई जनस्वास्थ्यमा नबोलाएर भद्रपुर–८ स्थित पृथ्वी निमावि परिसरमा उनले खोलेको रामप्रसाद–लक्क्षेन्द्र टेक्निकल इन्सिच्युटमा रकम लिएसँगै उनी पक्राउ परेका हुन् ।

जनस्वास्थ्य कार्यालयमा वार्षिक रुपमा गरिनुपर्ने दर्ता नविकरणको प्रमाणपत्र दिने सर्तमा अधिकृत साहले हस्पिटलबाट दुई लाख रुपैयाँ घुस माग गरेका थिए । माग गरेको रकम नदिए प्रमाणपत्र नदिने साहले हस्पिटललाई जनाएका थिए ।

प्रमाणपत्रको नाममा साहले हस्पिटलबाट दुई लाख रुपैयाँ घुस माग गरेपछि हस्पिटलका सञ्चालक समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसहितको लिखित निवेदन दिएपछि अख्यितारको टोली खटिएको थियो ।

पक्राउ परेका अधिकृत साहलाई आवश्यक कार्वाहीका लागि विशेष अदालतमा पेस गरिने डिएसपी बस्नेतले बताएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )