झापामा प्रहरीले यसरी थाल्यो सडक सुरक्षा अभियान

बिर्तामोड ।  झापामा प्रहरीले सडक सुरक्षा अभियान थालेको छ ।

पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको निर्देशनपछि मेची अञ्चल प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारी नेतृत्वको प्रहरी टोलीले झापामा सडक सुरक्षा अभियान सुरु गरेको हो ।

मंगलबारबाट सुरु भएको अभियान १५ दिनसम्म चल्ने एसएसपी अधिकारीले जानकारी दिए ।

अभियानका क्रममा प्रहरीले जिल्लाका मुख्य–मुख्य राजमार्गमा रहेका अवरोध हटाउने काम गरिरहेको छ ।

एसएसपी अधिकारी नेतृत्वको प्रहरी टोलीमा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी हरि शर्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरीहरुसँगै मोरङ र सिराहाका ट्राफिक इञ्चार्जहरु पनि छन् ।

‘झापामा अघिल्लो आर्थिक वर्षको दुर्घटनाको तथ्यांक असाध्यै डरलाग्दो छ, धेरैले ज्यान गुमाए, धेरै अंगभंग भए,’ एसएसपी अधिकारीले भने, ‘त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यसहित काँकडभिट्टा हुँदै दमक, इलाम जाने बाटो, चन्द्रगढी र शनिश्चरे जाने बाटोमा रहेका अवरोधहरुलाई हामी क्लियर गर्दैछौँ ।’

अभियान सुरु गर्नुअघि प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा बिर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटी, स्थानीय व्यापारी लगायत सडकसँग सम्बन्धित सम्पूर्ण सरोकारवालासँग परामर्श लिएको थियो ।

मंगलबार चारपानेबाट अभियान सुरु गरेको प्रहरीले बिर्तामोड, चारआली र काँकडभिट्टामा सडक क्लियरिङ गरेको छ ।

‘सडकमा राखिएका दुर्घटना हुने खालका वस्तुहरु तुरुन्त हटाइँदैछ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख इन्स्पेक्टर ढुण्डीराज गिरीले भने, ‘हामी सडक क्लियरिङ मात्र गर्दैनौँ, सडकमा अवरोध पुर्‍याउनेहरुलाई सचेतना पनि दिँदैछौँ ।’

अञ्चल प्रहरी प्रमुख एसएसपी अधिकारीले भने चेतना भएर पनि स्थानीय व्यवसायी अटेरी हुँदा सडक अवरोध भएको बताए । ग्यारेज र हार्डवेयर पसल सञ्चालकहरुले सडक मिचेर सामान राखेको उनको भनाइ छ ।

‘यो चेतनाको कमी पटक्कै होइन,’ उनले भने, ‘सरासर अटेरीपन हो, पार्किङमा उस्तै मनोमानी छ । ट्रकहरु र ट्याक्सीहरु जथाभावी राखिएका छन् । इलेक्ट्रिकल रिक्सा र टेम्पोले पनि जुनसुकै बाटो प्रयोग गर्दैछन् ।’

अभियानको पहिलो दिन काम गर्न सहज भएको प्रहरीले जनाएको छ । मंगलबार बिर्तामोडमा जथाभावी राखिएका ४० वटा ट्रकलाई प्रहरीले तोकिएको पार्किङस्थलमा राख्न लगाएको छ ।

फुटपाथमा बसेका फलफूल व्यवसायीलाई हटाउन भने समस्या आइपर्ने प्रहरीको अनुमान छ । यद्यपि, १५ दिनमा सबैले महसुस गर्ने गरी परिवर्तन ल्याउने एसएसपी अधिकारीले दाबी गरेका छन् ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )