सहारा साकोस मुलुककै ठूलो सहकारी

बिर्तामोड ।  झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल (साकोस) आर्थिक कारोवारको दृष्टिले प्रदेश नम्बर १ को सबैभन्दा ठूलो सहकारी संस्था बनेको छ । शेयर सदस्यको हिसाबले भने सहारा नेपाल (साकोस) नेपालकै ठूलो संस्था हो ।

संस्थाका सचिव महेन्द्रकुमार गिरीका अनुसार आर्थिक वर्ष ०७४ को असार मसान्तसम्म १ वर्षको अवधिमा ५ अर्व २८ करोड ४२ लाख ५१ हजार ६ सय ५८ रुपैयाँ ९७ पैसाको कारोबार सहारा नेपाल (साकोस)मा भएको छ ।

यो कारोबार अघिल्लो वर्षको भन्दा १ अर्ब ४८ करोड ३१ लाख ६० हजार ६ सय १ रुपैयाँ ३१ पैसाले बढी हो । सहारा नेपाल (साकोस)ले ०७३ असार मसान्तसम्म एक वर्षको अवधिमा ३ अर्ब ८० करोड, १० लाख ९१ हजार ५७ रुपैयाँ ६६ पैसाको आर्थिक कारोबार गरेको थियो ।

सहारा नेपाल (साकोस)द्वारा आयोजित वित्तीय व्यवस्थापनसम्बन्धी तीन दिने तालिममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । मंगलबार सम्पन्न उक्त तालिम संस्थाको नाफा नोक्सान–वासलात हिसाबको विश्लेषणमा केन्द्रीत थियो ।

सञ्चालक समितिसहित अधिकृतस्तरका कर्मचारी सहभागी कार्यक्रममा संस्थाले अझ उत्कृष्ट हुन सुधार गर्नुपर्ने पक्ष र अवलम्वन गर्नुपर्ने नीतिबारे समेत त्यहाँ विस्तृत छलफल भएको थियो ।

नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का केन्द्रीय कोषाध्यक्ष केशवप्रसाद पोखरेलले वित्तीय व्यवस्थापन तालिमको सहजीकरण गरेका थिए ।

संस्थाको पूँजी ५० करोड रुपैयाँ बढी पुगेको छ । संस्थागत पूँजी बढी हुने सहकारी सक्षम मानिन्छन् । यो पूँजी बर्षेनि बढ्दो मात्रामा छ ।

सहारा नेपाल (साकोस)को शेयर सदस्य संख्या १ लाख १९ हजार २ सय ९७ पुगेको छ । त्यस्तै शेयर पूँजी ६२ करोड ३७ लाख ४७ हजार २ सय रुपैयाँ पुगेको संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताए ।

१४ जिल्ला रहेको प्रदेश नम्बर १ को ६ जिल्लामा सहारा नेपाल (साकोस)को कारोबार छ । अध्यक्ष सञ्जेलका अनुसार १ मुख्य कार्यालय, ४ इलाका र ५५ सेवाकेन्द्र मार्फत संस्थाले झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम र पाँचथरमा सेवा प्रवाह गरिरहेको छ ।

संस्थाका कर्मचारी ४ सय जना छन् । ०७४ को असार मसान्तसम्म १ वर्षको अवधिमा संस्थाले २९ करोड ५३ लाख ६५ हजार ९ सय ३ रुपैयाँ ९२ पैसा मुनाफा आर्जन गरेको छ । यो करअघिको अवस्था हो ।

सहारा नेपाल (साकोस)ले सरकारलाई ५ करोड ५३ लाख ४३ हजार १ सय ३८ रुपैयाँ ९४ पैसा आयकर बुझाएको सचिव गिरीले जानकारी दिए ।

सहारा नेपाल (साकोस) का सचिव तथा प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी संस्था, शेयर, सदस्य र समुदायलाई सँगै अघि बढाउने नीति नै यो सफलताको मुख्य कारण भएको बताउँछन् ।

सहारा नेपाल (साकोस)सँग यसैवर्ष धुलाबारीस्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. (हावस) समेत आवद्ध भएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )