झापामा यति स्तरीय गोल्डकप हुने !

झापा, २३ कात्तिक

सतासीधाम स्पोर्टिङ क्लवले कात्तिक २८ गतेदेखि आयोजना गरेको सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।

क्लबले बिहीवार पत्रकार सम्मेलन गरी ए डिभिजनका विभिन्न टीमको सहभागितामा कात्तिक २८ देखि मंसिर ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

शिवसताक्षीमा खेलकुद एकाडेमी सञ्चालन गर्ने उद्देश्यसहित स्थानीयस्तरबाट आवश्यक स्रोत व्यवस्थापन गरी प्रतियोगिताको आयोजना गरिएको आयोजक सतासीधाम स्पोर्टिङ क्लवका अध्यक्ष रमेश लावतीले बताए ।

सात हजार दर्शक अट्न सक्ने प्याराफिट
झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा हुने खेलका लागि करिव सात हजार दर्शक अट्न सक्ने प्याराफिट बनाइएको छ ।

गतवर्ष पहिलो संस्करणमा पनि दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । क्लवका उपाध्यक्ष फूर्वा तामाङले अघिल्लो वर्षको सहभागितालाई हेरेर प्याराफिट बनाइएको बताए ।

गत वर्ष २५ हजार दर्शकले सो प्रतियोगितामा सहभागिता जनाएका थिए । यसवर्ष ५० हजार दर्शकको सहभागिता रहने अनुमान गरिएको छ ।

३१ लाख रुपैयाँ बचत गर्ने लक्ष्य
आयोजक सतासीधाम स्पोर्टिङ क्लवले यस वर्ष प्रतियोगिता सञ्चालनबाट ३१ लाख ५० हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखेको छ ।

बचत रकमबाट कोषमा १० लाख रुपैयाँ राखेर बाँकी रकम खेलकुद एकाडेमी सञ्चालनका लागि खर्च गरिने क्लवका आर्थिक समिति संयोजक गणेश प्रधानले बताए ।

यस वर्ष ८१ लाख रुपैयाँको लागतमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । ४९ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गतवर्ष २०७३ बैशाखमा भएको पहिलो संस्करणमा २१ लाख ४२ हजार रुपैयाँ बचत भएको थियो ।

बचत भएको रकममध्येबाट सतासीधाम मन्दिर परिसरमा प्रतिक्षालय बनाइएको छ ।

१० टीमको सहभागिता रहने निश्चित
प्रतियोगितामा झापा ११, नेपाल आर्मी, सशस्त्र प्रहरी, मनाङ मस्र्याङदी, मोरङ ११, चर्च व्वाइज, रुपन्देही ११, मध्य प्रदेश भारतको डायमण्ड अफ फुटवल एकाडेमी, पोखरा ११ र आयोजक सतासीधाम स्पोर्टिङ क्लब गरी १० वटा टिमले सहभागिता जनाउँदैछन् ।

प्रतियोगितामा यसपटक नेपाल पुलिस क्लब र थ्री स्टारको सहभागिता नरहने भएको छ । एन्फाले कात्तिक २८ देखि प्रतियोगिता सञ्चालन गर्न सतासीधाम स्पोर्टिङ क्लवलाई अनुमति दिएको थियो ।

सोही मितिमा चन्द्रागिरी गोल्डकपको कार्यतालिका जुधेकाले पुलिस र थ्रीस्टार सहभागी नहुने भएका हुन् ।

बिजेतालाई पाँच लाख पुरस्कार
प्रतियोगिताको बिजेता टीमले पाँचलाख, उपविजेता टीमले दुई लाख पचास हजार र खेलको प्लेयर अफ द म्याचले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

हाइ स्कोरले २५ हजार, उत्कृष्ट मिड फिल्डरले २० हजार, उत्कृष्ट फरवार्डले २० हजार र म्यान अफ द म्याचले १० हजार पुरस्कार पाउनेछन् ।

शिवसताक्षी नगरपालिकाले पाँच लाख दिने
प्रतियोगिता सञ्चालनका लागि शिव सताक्षी नगरपालिकाले पाँच लाख रुपैयाँ दिने भएको छ । त्यसैगरी झापा विर्तामोडको बी एण्ड सी टिचिङ हस्पिटलले पनि ५० हजार रुपैयाँ दिने भएको आर्थिक संयोजक प्रधानले बताए ।

प्रतियोगिता टुवोर्ग वियरले प्रायोजन गर्ने जनाइएको छ ।

अध्यक्ष थापाद्वारा २५ हजार दिने घोषणा
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले खेलप्रेमीको उत्साहले झापामा सञ्चालन भइरहेका प्रतियोगिता सफल भएको बताए ।

‘गाँस काटेर भए पनि खेलकुदका लागि दर्शकले सहयोग गरेका छन्’, अध्यक्ष थापाले भने, ‘यो हाम्रा लागि सबैभन्दा खुशी र गौरबको विषय हो ।’ कार्यक्रममा अध्यक्ष थापाले प्रतियोगिताका लागि व्यक्तिगत तर्फबाट २५ हजार रुपैयाँ दिने घोषणा गरे ।

‘सकिन्छ भने टोलैपिच्छे गरौँ’
झापामा फुटबल प्रतियोगिता सञ्चालन गर्ने होडबाजी चलिरहेका बेला जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङले भने स्रोत व्यवस्थापन गर्न सक्दा टोलैपिच्छे भए पनि फरक नपर्ने बताए ।

इमान्दारिताका साथ गरिएको काममा स्रोत साधन अभाव नहुने भन्दै अध्यक्ष गुरुङले झापाली फुटबलमा दर्शकको साथ भएका कारण आत्तिनु पर्ने अवस्था नरहेको बताए र संघका उपाध्यक्ष भगिरथ आले मामाले खेल प्रवद्र्धन र खेलाडी उत्पादनमा झापा अब्बल रहेको बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )