शिवसताक्षी गोल्डकपः मनाङसँग रुपन्देही पराजित

झिलझिले ।  अन्तिम एक मिनेट सम्हालिन नसक्दा झापाको शिवसताक्षीमा जारी दोस्रो सताक्षी गोल्डकपबाट रुपन्देही–११ बाहिरिएको छ । खेलको ६ मिनेटमै अग्रता लिएको रुपन्देहीलाई टाइब्रेकरमा हराउँदै मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनल प्रवेश गरेको हो । फाइनल प्रवेशका लागि मनाङले आयोजक सतासीधाम स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

टाइब्रेकरमा रुपन्देहीका रजिन धिमालको प्रहार बाहिरिएको थियो भने विजय धिमालको प्रहार गोलरक्षक दिनेश थापा मगरले बचाउ गरेका थिए । मनाङका विमल बस्नेत, कमल श्रेष्ठ, निराजन मल्ल र दोणा थापाको प्रहार गोल भएको थियो भने रुपन्देहीका निरज बस्नेतले मात्र गोल गर्न सफल भएका थिए ।

खेलमा अग्रता रुपन्देहीले लिएको थियो । उसका विदेशी खेलाडी अबाले पहिलो हाफको ६ मिनेटमा गोल गरेका थिए । रजिन धिमालको कडा प्रहार मनाङका गोलरक्षक दिनेश थापा मागरको हातबाट रिबाउन्स भएको थियो । सो बलालाई सदुपयोग गर्दै अबाले गोल गरेका थिए । ७९ औँ मिनेटमा मनाङका दोणा थापाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । डि–बक्स नजिकै रुपन्देहीका सौरव मगरको हातमा बलले छोएपछि मनाङले फ्रि–किक पाएको थियो ।

१८ औँ मिनेटमा अबाको प्रहार गोलरक्षक थापा मगरको हातबाट फुत्किएपछि मनाङका कमल श्रेष्ठले गोललाइनबाट बचाएका थिए । ४१ औँ मिनेटमा सुल्लाह सुलेमानले अबालाई लडाएपछि रुपन्देहीले फ्रि–किक पाएको थियो । सो बललाई अबाले गरेको प्रहार गोलरक्षक थापा मगरले पञ्च गरेर बाहिर पठाएका थिए । ७० मिनेटमा मनाङका अभिषेक रिजालको फ्रि–किक रुपन्देहीको पोष्टबार नजिकैबाट बाहिरिएको थियो ।
खेलको म्यान अफ द म्याच मनाङका दोणा थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा सोमबार पहिलो सेमिफाइनलमा रमपम झापा ११ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष रमेश लावतीले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )