साना किसानको नाफा १३ लाख ८४ हजार

भद्रपुर ।  साना किसान सहकारी संस्था महेशपुर भद्रपुरको १३ औं साधारणसभा सम्पन्न भएको छ ।
भद्रपुर–४  स्थित चन्द्र मौलेश्वर सोम तीर्थधाम परिसरको सामुदायिक भवनमा आयोजित साधारणसभाको उद्घाटन प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका थिए ।
संस्थाका प्रवन्धक तीर्थराज ओझाले सञ्चालन गरेको साधारणसभाका अध्यक्ष एवम् संस्थाका अध्यक्ष मदनबहादुर वस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष ०७३÷०७४ मा संस्थाले १३ लाख ८४ हजार ८४४ रुपैयाँ नाफा गरेको जानकारी दिए ।
प्रतिवेदनअनुसार ०७४ असार अन्त्तिम सम्ममा संस्थाको शेयर पूँजी ३३ लाख ९० हजार एक सय रुपैयाँ पुगेको छ भने समूहगत सदस्य संख्या १७१ पुगेको छ । ती समूहमा ८७२ सदस्य आबद्ध छन् । संस्थाले आर्थिक वर्ष ०७३÷०७४ मा एक करोड १६ लाख ८१ हजार ४११ रुपैयाँ वचत संकलन गरेको छ भने चार करोड ५१ लाख ४१ हजार रुपैयाँ लगानी गरेको छ ।
संस्थाले ६ वर्षअघि भद्रपुर ४ को झापाचोकमा खरिद गरेको १४ धुर जग्गामा २८ लाख १९ हजार ५६२ रुपैयाँ लागतमा आफ्नै भवन निर्माण गरी सोही भवनबाट कारोबार सञ्चालन गरिसकेको छ भने साना किसान बैंकको सहयोगमा हरेक वर्ष केही युवालाई कृषि अध्ययनका लागि इजरायल पठाउँदै आएको अध्यक्ष वस्नेतले जानकारी दिए । अघिल्लो वर्ष दईजना इजरायल गएकोमा यस वर्ष पनि दुईजना पठाइएको सचिव ओझा बताउँछन् ।
सदस्य किसानहरुलाई मल, बीउलगायतका कृषि सामग्री सहलियत दरमा उपलब्ध गराउँदै आएको संस्थाले चालु वर्षमा एक करोड ५० लाख पशुपालनतर्फ र तीन करोड रुपैयाँ लघुतर्फ र्जा प्रवाह गर्ने योजना बनाएको पनि सचिव ओझाले जानकारी दिए । संस्थाले लघु, सोलार, पशुपालन, शैक्षिक, वैदेशिक रोजगार र आकस्मिक गरी ६ प्रकारका कर्जा कार्यक्रम सञ्चालन गरिरहेको छ भने समूह, ग्रासु, अन्तर समूह, व्यक्तिगत, बाल, जेष्ठ नागरिक र नारी वचत गरी ७ प्रकारका वचत कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सञ्चालक सदस्य हस्तकला बेघाले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, साना किसान सहकारी संस्था घैलाडुब्बाका प्रवन्धक देवीप्रसाद उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )