लकडाउन उल्लंघन गर्ने बिर्तामोड र शनिश्चरेमा ११० जना

झापा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन झापाको बिर्तामोड र शनिश्चरेमा शनिबार बिहान ११० जनाले उल्लंघन गरेका छन् ।
लकडाउन उल्लघंन बढेपछि झापामा प्रहरीले बुधबारदेखि नयाँ रणनीति अपनाएको थियो । प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई सडकमै २ घण्टा उभ्याएर कारवाही थालेको छ ।
शनिबार बिहान बिर्तामोड क्षेत्रमा लकडाउन उल्लंघन गर्ने ८० जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजार र प्रहरी चौकीको कार्यालयमा ३० जनालाई उभ्याएर लकडाउन उल्लंघन नगर्न सुझाव दिएर पठाइएको छ ।
शनिश्चरे बजारमा शुक्रबारदेखि यो अभियान सुरु गरिएको हो । झापा प्रहरीले ‘टु आवरस् लकडाउन सेल’ नाम दिएर सामाजिक दूरीमा राखेर कारवाही थालेको हो ।
अभियान झापा प्रहरीसँगै सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्प र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोली परिचालित छ ।