अबको ५० वर्ष कम्युनिस्टको एकलौटी सरकार : भट्टराई

झापा ।  एमाले सचिव योगेश भट्टराईले अबको ५० वर्षसम्म कम्युनिस्टहरूको एकलौटी सरकार बन्ने बताएका छन् ।

धनकुटाको पाख्रीवासमा शनिबार संयुक्त वाम गठबन्धन धनकुटाले आयोजना गरेको चुनावी सभामा भट्टराईले ३० वर्षसम्म कम्युनिस्टहरू प्रतिपक्षमा बसेर काम गरिसकेको बताउँदै अब कम्युनिस्टहरूको पालो आएको दाबी गरे ।

उनले भने, ‘हामी (कम्युनिस्ट) हरू ३० वर्षसम्म प्रतिपक्षमा बसेर धेरै कुरा सिक्यौँ । अब ५० वर्ष प्रतिपक्षमा बसेर सिक्ने पालो कांग्रेसको आएको छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टहरूको शासन आए रुन पनि नपाइने भनेर दिएको अभिव्यक्तिप्रति इंगिकत गर्दै भट्टराईले भने, ‘कम्युनिस्टहरूको शासन आएमा रुन नपाए पनि हाँस्न भने पाइन्छ ।’

अहिलेको वाम गठबन्धन वामपन्थीहरूको मात्र नभएर लोकतन्त्रवादीहरूको भएकाले एमाले र माओवादीको गठबन्धनबाट कांग्रेसलाई नआत्तिन आग्रहसमेत गरे ।

प्रतिनिधिसभा र प्रदेश सभा दुवैमा कम्युनिस्टहरूको स्पष्ट बहुमत आउने भएकाले केन्द्र र प्रदेश दुवैमा वामपन्थीहरूको सरकार बन्ने उनको दाबी छ ।

कम्युनिस्टहरूको नेतृत्वमा बनेको ५ वर्षको सरकारले गरेको कामका कारण ५० वर्षसम्म कम्युनिस्टहरूको एकलौटी सरकार बन्ने दाबी गर्दै भट्टराईले वाम गठबन्धनका उम्मेदवारहरूलाई जिताउन मतदातासँग आग्रह गरे ।

१० मंसिरमा भएको निर्वाचनमा आफूले जितिसकेको तर्क गर्दै उनले प्राविधिक रूपमा मात्र घोषणा हुन बाँकी रहेको बताए । लोकतन्त्रलाई विश्वास गर्ने कांग्रेसले धनकुटामा लोकतान्त्रिक गठबन्धनका नाममा सामान्तवादलाई बोकेर सामन्ती प्रथा ब्युँताउन खोजेको आरोपसमेत लगाए ।

‘मरेको सिनुलाई बोक्नुभन्दा अहिले नै ठण्डा दिमागले सोच्न धनकुटा कांग्रेसलाई आग्रह गर्छु,’ उनले भने, ‘नत्र भने सहिद भीमनारायण श्रेष्ठ, छिन्ताङ, खोकु, आँखिसल्लाका सहिदहरूको आँसुले कांग्रेलाई पोल्नेछ ।’

निर्वाचनपछि एउटै कम्युनिस्ट पार्टी बन्ने उनले दाबी गरे । ‘निर्वाचनपछि कम्युनिस्टको पछाडि एमाले, माओवादीजस्ता पुच्छर हुँदैनन् । नेपाल कम्युनिस्ट पार्टी मात्रै हुन्छ ।’

स्थानीय निर्वाचनमा सबै तह जितेको एमालेले प्रतिनिधिसभामा राजेन्द्र राईको जित अनिवार्य भएको उनले बताए । धनकुटालाई प्रदेश–१ को राजधानी बनाउने विषयमा एमाले सकारात्मक रहेको उनको भनाइ थियो ।

‘वाम गठबन्धनको सरकार निर्माण भए धनकुटालाई राजधानी मात्र होइन, तरकारी र फलफुलको विशेष क्षेत्रसमेत घोषणा गरेर काम गर्छौँ,’ उनले भने ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )