नाका सिल गरे पनि ग्वारग्वारर्ती पसे भारतीय नागरिक, के भन्छन् मोरङका सिडिओ?

विराटनगर ।  आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका सिल गरिएको भए पनि विराटनगरको रानी नाकाबाट भारतीय नागरिकको ओइरो लागेको छ । उनीहरुलाई त्यहाँका सुरक्षाकर्मीले सामान्य चेकजाँच गरेर नेपाल प्रवेश गर्न दिइरहेका छन् ।

रानीदेखि करिब ३ सय मिटर उत्तर–पश्चिमको दशगजा क्षेत्रबाट भारतीय नागरिक आउने क्रम बुधबार पनि जारी छ । विराटनगरको मुख्य नाका क्षेत्र रानीमा सशस्त्र प्रहरी तैनाथ गरेर आवतजावतमा पूर्ण प्रतिबन्ध गरिए पनि सहज रुपमा भारतीय नागरिकले आवतजावत गर्न थालेपछि निर्वाचन मुखमा सुरक्षा चुनौती बढेको छ ।

खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश गर्नेको कुनै अभिलेख नराखी निर्वाध रुपमा नेपाल प्रवेश दिइरहेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले नाका शिल गरिएको भएपनि शतप्रतिशत रोक्न नसकिएको स्वीकार गरे । ‘केही मानवीय हिसावले पनि रोक्न नमिल्नेहरु आवश्यक सुरक्षा जाँच गरेर नेपाल प्रवेश गरेका छन,’ आचार्यले भने, ‘कोही उपचार गर्न, कोही बिहेबारी गर्न आएका छन् ।’

उनले सुरक्षा चुनौती हुने किसिमको हुल तथा सवारीसाधन प्रवेशमा भने रोकिएको बताए । स्थानीय गंगा थापा मगरले रोजगारीका लागि आउने जानेको नाकामा भीड लागेको बताए ।

उनका अनुसार नेपालबाट भारत काम जाने र भारतबाट नेपाल काम गर्न आउने मजदुरका कारण वैकल्पिक नाकामा भीडभाड देखिएको हो । स्थानीय प्रशासनले मंसिर २१ गते साँझ ६ बजेसम्मका लागि नेपाल भारतको सीमा सिल गरेको जनाएको छ । मोरङमा भारतसँग सीमा जोडिएको ६३ किलोमिटर क्षेत्र छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )