निर्वाचन ऐतिहासिक उपलब्धि : खनाल

इलाम ।  इलाम क्षेत्र नम्बर १ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आजको निर्वाचन ऐतिहासिक निर्वाचन भएको बताए ।

विहीबार बिहान इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट ९ः४० बजे मतदान गरेपछि प्रतिक्रिया दिदै उनले संविधान कार्यान्वयनको महत्वपूर्ण उपलब्धि भनेको आज हुँदै गरेको निर्वाचन हो, भने ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि देश विकास निर्माण र आर्थिक समृद्धिको बाटोमा उन्मुख हुने बताउँदै नेता खनालले भने, ‘देश महत्वपूर्ण र समृद्धिको उन्मुख हुने चरणमा छ, निर्वाचन भएपछि देशमा विकासको मूल फुट्छ ।’

‘इलामको क्षेत्र नम्बर १ मा बिहानैदेखि मतदाता लाइनमा बसेर शान्तिपूर्ण रूपमा मतदान गरिरहेको देख्दा आफू ज्यादै हर्षित र गौरवान्वित भएको महसुश गरेको छु’, उनले भने, ‘यो निर्वाचन क्षेत्रमा वाम मोर्चाले सबै सिट जित्छ ।

दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धन पहिलो हुन्छ ।’ आफ्नो निर्वाचन क्षेत्रमा करिब १० हजार मतले आफूले विजयी हासिल गर्ने उनले दाबी गरे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )