सहारा नेपाल साकोसको साधारण सभा कात्तिक २७ गते

बिर्तामोड । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सहारा नेपाल साकोसले अल्पसंख्यक अतिविपन्न परिवारका छोराछोरीलाई डाक्टर पढाउने भएको छ ।
सहारा नेपाल साकोसले आगामी कात्तिक २७ गते हुने संस्थाको २५औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
सहारा नेपाल साकोसका सचिव तथा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थामा आवद्ध अल्पसंख्यक अतिविपन्न सन्थाल, मुसहर, लेप्चा, किसान सदस्यका छोराछोरीलाई डाक्टर (एमवीवीएस) अध्ययनका लागि सहयोग गरिने जानकारी दिए । स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले संस्थाले त्यस्ता परिवारका १० जनालाई डाक्टर अध्ययन गराउने लक्ष्य लिएको बताउँदै उनले आर्थिक वर्ष २०७८÷०७९मा संस्थामा आवद्ध अल्पसंख्यक, अतिविपन्न परिवारका सदस्यका दुई जना छोराछोरीलाई सहयोग गर्दै अभियान शुरु गर्ने र आगामी आर्थिक वर्षबाट यो कार्यक्रमलाई निरन्तरता दिने जनाए ।
सहारा नेपाल साकोसले यस वर्ष दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउँदै उनले एमबीबीएस अध्ययनका लागि एक जना विद्यार्थीका लागि २५ लाख रुपैयाँ खर्च गरिने बताए ।
क्षमता भएर पनि आर्थिक अभावले डाक्टर पढ्नबाट बञ्चित भएका अल्पसंख्यक अतिविपन्न परिवारका सदस्यलाई डाक्टर पढाएर स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उनले बताए ।
त्यस्तै, संस्थाले यस वर्ष दुई सय अतिविपन्न परिवारलाई राशन कार्ड उपलब्ध गराउने भएको र राशन कार्ड पाएपछि उनीहरुले चामल, दाल, तेल, नून, चिनीमा ५० प्रतिशत अनुदान पाउने गिरीले वताए ।
त्यसैगरी संस्थाबाट व्यावसायिक ऋण लिएर गाई तथा भैंसी पालन गरिरहेका सदस्यलाई गाई÷भैंसी सुत्केरी भई बाछाबाछी , पाडापाडी जन्मेको अवस्थामा एक हजार रुपैयाँ सुत्केरी भत्ता दिने भएको उनले जानकारी दिए । यस वर्ष संस्थाले आफ्नो कार्यक्षेत्रको छ वटा पालिकाबाट यो कार्यक्रमको सुरुवात गर्ने जनाएको छ ।
त्यस्तै संस्थाले यस वर्षदेखि सदस्यहरुको उत्पादनलाई वजारीकरण गर्न यसको सम्भाव्यता अध्ययन गरी किसानहरुको १० वटा कृषिजन्य वस्तुको उत्पादन र बजारीकरणमा आर्थिक÷ प्राविधिक सहयोग गर्ने भएको जनाएको छ ।
कृषि क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले ‘एग्रो बिजनेश युनिट’ स्थापना गरी किसान र बिक्रेता दुवैलाई फाइदा पुग्ने गरी काम गर्दै आएको संस्थाले जनाएको छ ।
यस वर्ष पाँचथर र उदयपुरका विकट पालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रलाई चार वटा एम्बुलेन्स सहयोग गर्ने भएको संस्थाले यसअघि सोही क्षेत्रका दुई वटा पालिकाका प्राथमिक स्वास्थ्य केन्द्रलाई दुई वटा एम्बुलेन्स प्रदान गरिसकेको जनाएको छ ।
प्रदेश १ का ११ जिल्लाका ८० वटा पालिकामा कार्यक्षेत्र रहेको संस्थामा २०७८ असार मसन्तसम्म एक लाख ५० हजार ३५४ जना शेयर सदस्य, रू एक अर्ब ४६ करोड ६५ लाख शेयर पुँजी, रू ९४ करोड एक लाख जगेडा कोष, रू ३७ करोड ५७ लाख अन्य कोष, रू आठ अर्ब २३ करोड ९४ लाख बचत, रू १० अर्ब एक करोड ४२ लाख लगानीमा रहिरहेको ऋण, रू ४० करोड ८८ लाख भौतिक सम्पत्ति र रू एक अर्ब ३२ करोड बाह्य ऋण रहेको छ भने संस्थाको बासलात रू १२ अर्ब ७१ करोड ८१ लाख रुपैयाँ पुगेको छ । संस्थाले आव २०७७÷०७८ मा रू ४५ करोड १२ लाख खुद मुनाफा गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरको स्मार्ट सर्टिफिकेशन प्राप्त गरेको संस्थाले बाह्य ऋणका लागि पहल थालेको छ ।संस्थाले विदेशी लगानीकर्ताबाट दुई प्रतिशत ब्याजमा ५० हजार डलर ऋण लिन लागेको र थप ऋणका लागि पहल भइरहेको संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाले जानकारी दिए ।
संस्थाले ‘म पनि उद्यमी’ कार्यक्रम अन्र्तगत ४ बर्ष भित्रमा १० हजार उद्यमी सदस्य तयार गर्ने उक्त कार्यक्रमका लागि अध्ययन, तालिम÷सीप, ऋण, बजार र प्राबिधिक ज्ञानका लागि सहयोग गरिने गिरीले बताए ।
संस्थाले यसै बर्षदेखि सहुलियत ब्याजदरको वैदेशिक ऋण ल्याउने प्रयत्न गर्ने साथै रोजगारी सिर्जना र गरिबी न्युनिकरणको लागि प्रदान गरिने संस्थाको योजना रहेको छ ।
संस्थाले सदस्यको स्वास्थ्य सेवालाई अझ सहज बनाउन सहारा हेल्थ सेन्टर स्थापना गर्ने, आधारभूत डाइग्नोसिस सेवा शुरु गर्ने र एउटा भवन निर्माणको कार्य थालनी गर्ने भएको छ ।संस्थाले यस वर्षदेखि मेरो गौरव,मेरो सहारा ,संधैका लागि ,सबैको लागी भन्ने नयाँ नारा तय गरेको जनाएको छ ।
कोभिडका कारण ऋणको साँवा तथा व्याज तिर्न नसकेका सदस्यलाई संस्थाले कुनैपनि प्रकारको ऋणमा हर्जना र जरिवाना नलिएको संस्थाले जनाएको छ ।
संस्थाले एकीकरण प्रक्रियालाई निरन्तरता दिदै यसआवका ८५ सेवा केन्द्र र २ लाख सदस्य नीति लिएको तथा १० बर्ष भित्रमा २ सय सेवा केन्द्र र ५ लाख सदस्य बनाउने लक्ष्य राखेको गिरीले बताए । त्यस्तै संस्थाको छैठौं अधिवेशनबाट सञ्चालन समिति तथा लेखा सुपरिवेक्षक समिति सर्वसम्मत प्रक्रियाबाट चयन गर्न पहल गरिने बताइएको छ ।
संस्थाका कार्यबाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी मात्रिका सुवेदीले गरेका थिए ।