बिर्तामोडमा फागुन २७ र २८ गते ‘मिस्टर कञ्चनजंघा बडीबिल्डिङ च्याम्पियनसीप’

बिर्तामोडमा फागुन २७ र २८ गते ‘मिस्टर कञ्चनजंघा बडीबिल्डिङ च्याम्पियनसीप’

बिर्तामोड । झापाको बिर्तामोडमा प्रदेश नं. १ स्तरीय ‘मिस्टर कञ्चनजंघा बडीबिल्डिङ च्याम्पियनसीप’ शारीरिक सुगठन प्रतियोगिताको तयारी गरिएको छ ।

बिर्तामोडमा – ५ मा रहेको ‘बडी ग्यारेज’ले आगामी फागुन २७ र २८ गते प्रदेश नं. १ स्तरीय ‘मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसीप’ शारीरिक सुगठन प्रतियोगिताको आयोजना गरेको हो ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण विगत २ बर्षदेखि कुनैपनि प्रतियोगिता हुन नसकेकोले शारीरिक सुगठनमा नयाँ खेलाडी उत्पादन र प्रोत्साहनका लागि प्रदेश नं. १ स्तरीय ‘मिस्टर कञ्चनजंघा बडीबिल्डिङ च्याम्पियनसीप’ शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक तथा ‘बडी ग्यारेज’का सञ्चालक गोल्डमेडलिष्ट राम दाहालले जानकारी दिए ।

उक्त प्रतियोगिताका लागि ५५, ६०, ६५, ७० र ७० केजीभन्दा माथि पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुने र सबै तौल समूहबाट विजेताबीच प्रतिस्पर्धा गराएर च्याम्पियन अफ द च्याम्पियन छानिने उनले बताए ।
प्रतियोगितामा पहिलो हुनेलाई तीन लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख, चौथोलाई ७५ हजार र पाँचौँ हुनेलाई ५० हजार नगद पुरस्कार दिइने उनले बताए ।
त्यस्तै, प्रतियोगिता अन्तरगत महिलाहरुको पनि शारीरिक सुगठन प्रतियोगिता गराइने र उक्त प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार, दोस्रोहुनेलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने उनले जानकारी दिए । उक्त प्रतियोगितामा प्रदेश नं. १ का एक सय जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहने उनले जानकारी दिए ।
शारीरिक सुगठनमा नयाँ खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिने भएकाले राष्ट्रिय तथा अन्तर्राष्टियस्तरका खेलाडीले प्रतियोगतामा सहभागी हुन नपाउने उनले बताए ।
खेलाडीलाई प्रतियोगितामा सहभागी हुन तयारीका लागि कम्तीमा ९० दिन लाग्ने भएकाले सोही अनुसार प्रतियोगिताको मिति तय गरिएको उनले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न व्यवसायी अर्जुन मैनालीको अध्यक्षतामा २९ सदस्यीय आयोजक समिति र १७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
‘मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसीप’ शारीरिक सुगठन प्रतियोगिता १ नं. प्रदेशस्तरीय हुने भएकाले उक्त प्रतियोगिता सफल बनाउन आयोजक समितिका अध्यक्ष मैनालीले सबैलाई आग्रह गरेका छन् ।
त्यस्तै आर्थिक उपसमितिका धिरज अग्रवालले प्रतियोगिता सम्पन्न गर्न अनुमानित २० लाख रुपैयाँ खर्च लाग्ने जानकारी दिए ।
त्यस्तै ‘बडी ग्यारेज’ बिर्तामोडका सञ्चालक तथा नेपाल वडीविल्डिङ एशोसिएसनका केन्द्रीय सदस्य दीपेन चौधरीले शारीरिक सुगठनमा रुची राख्ने खेलाडीहरुलाई यो प्रतियोगिताले हौसला जगाउने बताए । त्यस्तै फुर्वा लामा, अंकित अधिकारीलगायतले प्रतियोगिता सफल बनाउन आयोजकलाई शुभकामना दिए ।
कार्यक्रमको सञ्चालन आयोजक समितिका सचिव दुर्गाराज निरौलाले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )