बर्दियाबाट २७६ गौमाताको उद्धार गरी झापा ल्याइयो

बर्दियाबाट २७६ गौमाताको उद्धार गरी झापा ल्याइयो

बिर्तामोड । झापाको शिवसताक्षीमा रहेको गोलोक गोवर्धन गौशाला शताक्षीधामले दुई सय ७६ वटा गौमाताको उद्धार गरेको छ ।

बर्दिया जिल्ला राजापुर नगरपालिकास्थित गौशालामा दयनिय अवस्थामा रहेका ती गौमाताको उद्धार गरी सकुशल गोलोक गोवर्धन गौशाला शताक्षीधाम झापामा ल्याइएको गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले जानकारी दिए ।
बर्दियास्थित राजापुर गौशालाबाट ट्रकमा राखेर एक सय ४४ वटा गौमाता ७० घण्टा लामो यात्रा पार गरी सकुशल ल्याई पुर्याइएको उनले बताए । यसअघि पनि सोहि ठाउँबाट एक सय ३२ वटा गौमाताको उद्वार गरेर गोलोक गोवर्धन गौशाला शताक्षीधाम झापामा ल्याइएको उनले जानकारी दिए ।

सताक्षी गुरुकुलका प्राचार्य तथा गौशालाका ब्यवस्थापक मदनमोहन अधिकारी , गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजलगायतले अगुवाई गरेर गौमाताको उद्वार गरेर गोलोक गोवर्धन गौशाला शताक्षीधाम झापामा ल्याइएको बताइएको छ ।
बर्दिया राजापुरस्थित गौशालामा रहेका गौमाताहरुको उचित रेखदेख र स्याहारसुसार नहुँदा वर्षायाममा जमेका पानीको कारण हिलो र दलदलमा गाडिएको कारण दैनिक गौमाताहरूको मृत्यु हुने, बिरामी हुने भएको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफूहरु त्यस स्थानमा गएर गौमाताहरुको उद्धार गरेर गोलोक गोबर्धन गौशाला ल्याईएको गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले बताए ।

अत्यन्त दयनिय अवस्थामा रहेका गौमाताहरूको उद्धारका लागि देश तथा बिदेशबाट सेवा सहयोग गर्ने गौ सेवकहरूले आग्रह र सहयोग गरेपछि आफूहरुले बर्दिया राजापुरस्थित गौशालामा गएर गौमाताहरुको उद्धार गरेर गोलोक गोबर्धन गौशाला ल्याईएको उनले बताए ।
बर्दिया राजापुरस्थित गौशालाबाट उद्धार गरेर गौमाताहरु गोलोक गोबर्धन गौशालामा ल्याउँदा आफूहरुले सरकार , प्रहरी,प्रशासनद्वारा दुःख कष्ट भोग्नु परेको उनले बताए । सडकमा भेटिएका प्रहरीहरुले आफूहरुलाई गाईको तस्करी गर्नेलाई जस्तो व्यवहार गरेर दुःख दिएको उनले बताए ।
हाल गोलोक गोबर्धन गौशालामा वेवारिसे अवस्थामा उद्धार गरी ल्याइएका छ सय ५० भन्दा वढी गौमाताहरु रहेको उनले जानकारी दिए ।

गोलोक गोवर्धन गौशालामा धेनुमानस कथा
यसैबीच गोलोक गोवर्धन गौशालामा धेनुमानस कथा बाचन भइरहेको छ । धेनुमानस कथाको बाचन अन्तराष्ट्रिय वैदिक विद्धत परिषद्का प्रवक्ता गोभक्त पंडित घनश्याम खनालले गरिरहेका छन् ।

वैदिक सनातन ग्रन्थहरुमा रहेको गौमाताको महिमाले ओतप्रोत भएको ग्रन्थ धेनुमानस सद्ग्रन्थ रहेको प्रवक्ता खनालले बताए ।
पछिल्लो समय नेपालमा गौ तस्करी , गौ काटेर खाने जस्तो जघन्य अपराध बढ्दै गएकाले त्यस्ता कार्यलाई निरुत्साहित गर्न गौमाताको महिमाले ओतप्रोत भएको धेनुमानस कथा बाचन गरी सरोकारवालाहरुलाई सुनाउनुपर्नेमा उनले जोड दिए ।
स्थानिय सरकारका प्रमुख ,राजनीतिक दलका नेता,कार्यकर्ता, प्रहरी प्रशासनलगायतले पनि गौमाताको महिमाले ओतप्रोत भएको धेनुमानस कथा सुन्नुपर्ने र त्यसो गरियो भनेमात्र गौमाता माथी हुने जघन्य अपराध नियन्त्रण गर्न सहज हुने उनको भनाइ छ ।

बालाचतुदर्शीको अवसर पारेर मंसीर ७ गतेबाट गोलोक गोवर्धन गौशालामा श्रीशताक्षी गोरक्षा महोत्सव शुरु गरिएको गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले बताए ।
गत मंसीर ७ गते धेनुमानस कथा प्रारम्भ गरिएको छ भने ८ गतेबाट सहश्र चण्डी पाठ र श्रीशताक्षी शक्ति यज्ञ प्रारम्भ गरिएको उनले बताए ।
त्यस्तै मंसीर १२ गतेदेखि आचार्य धु्रवश्री गुरागाईंको प्रमुख कथावाचकत्वमा मार्कण्डेय महापुराण संगीतमय कथाप्रवचन प्रारम्भ गरिएको बताउँदै गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले हरेक दिन ५१ जना व्राह्मणद्वारा सहश्र चण्डी पाठ, १५ जना व्राह्मणद्वारा श्रीशताक्षी शक्ति यज्ञ,गौमाता परिक्रमा, लक्ष्यवर्ति र महाआरती भइरहेको जानकारी दिए ।
त्यस्तै मंसीर १६ गते बेलुकी बालाचतुदर्शी मेलाको आयोजना गरिएको शताक्षीधाम मन्दिर विकास समितिका अध्यक्ष प्रसाद सुव्वाले बताए । १६ गते बेलुकी हजारौं भक्तजनले आफ्ना पितृहरुको स्मरण गर्दै दिपदान गर्ने बताउँदै उनले उक्त कार्यमा सहभागी हुन सवैलाई आग्रह गरे ।
मंसीर १७ गते बालाचतुदर्शीको दिन शत्वीज रोपणसंगै वालाचतुदर्शी महोत्सव, गोलोक गोवर्धन गौशालाको वार्षिकोत्सव मनाइने उनले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )