राजा पृथ्वीनारायण र उनको अर्थनीति

राजा पृथ्वीनारायण र उनको अर्थनीति

गणेश निरौला

बाइसी–चौबिसी राज्यहरुमध्ये जम्मा आठवटा शाहवंशीय राजाहरुद्वारा शासित राज्यहरुमा सबैभन्दा कान्छो मात्र होइन, उपेक्षित र गरिब पहाडी राज्य गोर्खाका राजा पृथ्वीनारायण शाह जत्तिको साहसी, दूरदर्शी र कुटनीतिप्रवीण राजा नभएकैले भारत जस्तो विशाल राज्य झन्डै दुईसय वर्षसम्म अंग्रेजी साम्राज्यभित्र उपनिवेशका रुपमा रह्यो । पृथ्वीमा उक्त विशेषता भएकैले उनले गोर्खाभन्दा समृद्ध र शक्तिशाली राज्यहरुलाई पराजित गरी नेपाल एकीकरणको जग बसाएका थिए । त्यति मात्र होइन, दुईवटा विदेशी शक्ति (इस्ट इन्डिया कम्पनीको अंग्रेजी फौज र मिरकासिमको मुुसलमान फौज)लाई पनि उनले घुँडा टेकाएका थिए । पृथ्वीनारायणले झन्डै बत्तीस वर्षको शासन कालमा धेरैजसो समय लडाइँको योजना बनाउन, गोलाबारुद–बन्दुक–तरवार–खुकुरी जस्ता युद्धसामग्री जम्मा गर्न, यी कामका लागि धन जुटाउन अनि लडाइ गर्नमै बिताए । यसको अर्थ उनी वीर लडाकु मात्र थिए भन्ने कुरा होइन । उनी कुशल प्रशासक, परिपक्क कुटनीतिज्ञ र उत्कृष्ट अर्थविद् समेत थिए । तत्कालीन नेपालका लागि उनले जुन आर्थिक नीति अवलम्वनको कुरा गरेका थिए, त्यो आज पनि उत्तिकै सान्दर्भिक, मननीय र अनुसरणयोग्य छ । उनले योजना बनाएर आर्थिक समृद्धि दिन त भ्याएनन्, तथापि दिव्योपदेशमा उनको आर्थिक नीति प्रवीणताको प्रमाण पाइन्छ ।

 

लिच्छवीकालमा चार वर्ण अठार जातमा समायोजित नेपाल खाल्डाको समाज जयस्थिति मल्लका पालासम्म आइपुग्दा आप्रवासी र वर्णशङ्करको बढ्दो संख्याले अस्तव्यस्त बनिसकेको थियो । त्यसैकारण मल्लले त्यस समाजको पुनर्समायोजन गरे चार वर्ण छत्तीस (चौसठ्ठी ?) जातमा । सबैको मर्यादाक्रम र व्यवसाय तोकिदिए । यसरी निश्चित नीतिनियममा मर्यादित र अनुशासित बनेको त्यही नेवारी समाजले उद्योगमा प्रगति ग¥यो, व्यापारमा सफलता पायो, कलाको रचना र उन्नयन अभूतपूर्व रुपमा ग¥यो, साहित्य र संस्कृतिको नमुना बन्यो । यस भेगका सबै समाजलाई उछिन्यो । यो देखेका पृथ्वीले भने– “आफ्ना आफ्ना जात विशेषको कर्म गर्नु भनी भन्देज गरिजाला ।” वर्ण र जातलाई पेसाव्यवसायसँग जोड्ने तत्कालीन सुधारात्मक कार्य त्यही समय, समाज र परिस्थितिमा हेर्नु र मूल्याङ्कन गर्नुपर्छ ।
विदेशी व्यापारीको देशभित्र आगमन भए देश टाट पल्टन्छ भन्ने चेत थियो उनलाई । भारतमा अंग्रेजी, फ्रान्सेली र पोर्तुगाली व्यापारीहरुले गरेको हालिमुहाली र परन्तुमा राजनीतिक व्यवस्थामा तिनले गरेको हस्तक्षेप देखेका थिए । ती व्यापारीहरु युरोपका जुन मुलुकबाट आएको भए पनि उपनिवेश दोहन गर्ने र इसाई धर्म प्रचार गर्ने कुरामा तिनको मतैक्य थियो । विदेशी व्यापारीको राष्ट्रियता हुँदैन । नाफामा आर्जित सम्पत्ति नै तिनको ईश्वर हुन्छ । यस तथ्यलाई बुझेका पृथ्वीनारायणले निर्देशन दिए – “उप्रान्त । (वि) देसका महाजनलाई गोडप्रासाह देषि उभ आउन नदिनु, देसका महाजनहरु हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरिछाड्छन् ।”
उनको राष्ट्रिय उद्योगनीतिले देशको उत्पादन वृद्धि गराउँछ– आयात घटाई निर्यात बढाउँछ । देशलाई आत्मनिर्भर बनाउँछ । स्वदेशी उत्पादनप्रति प्रेम दर्साउँदै उनले भने– “हामीले च्यांगापांगालाई (स्वदेशी घरबुना कपडा लगाई) तिन सहर नेपाल र नौलाष किलायत (किरात) र हिन्दुपतिको राज आज्र्यथ्येउ, (वि)देसका कपरा लगाउनलाई मन्हाइ गरिदिनु, आफ्ना देसका कपरा बन्न ज्यान्यालाई नमना देषाइ सधाउनु र बन्न लाउनु र यस्व भया नगत (वि)देस जादैन ।” राष्ट्रियताले ओतप्रोत यस उद्धरणले उनको राष्ट्रिय अर्थनीतिको दिग्दर्शन गराउँछ । अहिले मुलुकको एउटा सानो बजारबाट कपडाका लागि एक हप्तामा कति नगद विदेसिन्छ ? अरु सामानको कुरा नगरौं । अब त चामल र गहुँसमेत हामी विदेशबाटै ल्याउँदै छौँ । चेतनशील–स्वाभिमानी नागरिकले ख्याल गर्ने बेला बितेन र ? पृथ्वीनारायणको अर्थनीति अनुसरण गरेमा स्वदेशमै रोजगारी सिर्जना हुने र जीविकोपार्जनका लागि विदेश जानु नपर्ने अवस्था बन्ने छ । बरु निर्यात बढाएर नगद भित्र्याउन सकिनेछ । स्वदेशी कला–हस्तकलाको संरक्षण–संवर्धन हुन्छ । उन्नाइसौं शताब्दीको सातौं दसकमा जर्मनीका चान्सलर विस्मार्कले यस्तै राष्ट्रवादी उद्योगनीति तर्जुमा गरी लागु गरेका थिए । केही वर्षमा नै औद्योगीकरणमा बेलायतलाई उछिनेर जर्मनीले युरोपको बजार कब्जा गरेको थियो । नेपालमा नै पनि वीर शमशेरको पालासम्म नेपालभारत व्यापार सन्तुलनमा थियो । बरु नेपाल नाफामा थियो । अहिले ती कुरा हाम्रा लागि दन्त्यकथा बनेका छन् । विश्वग्राममा बाँचेका हामी नागरिक त्यस्ता राष्ट्रवादी कुरामा सीमित हुन सकेनौं ।
नेपाल उस बेला वन सम्पदामा अति समृद्ध थियो । तराईको चारकोसे झाडीसहित चुरे र महाभारा शृङ्खलाका जंगल, वन्यजन्तु, हिमाली र पहाडी जडिबुटी निर्यात गर्ने, प्रशस्त धन कमाउने स्थिति थियो नेपालको । यसको राम्रो फुम पाएका थिए पृथ्वीनारायणले र नै उनले भने– “आफ्नो देसको जिनीस जरिबुटी (वि)देस लैजानु र नगत षैचि राषनु र प्रजामोटा भया दरबार बलियो रहन्छ ।” प्रजा र राजालाई उनले एकै सिक्काका दुई पाटा मानेका थिए ।
पृथ्वीनारायण शाहको समयभन्दा अगाडिदेखि नै नेपालको व्यापार भोट र भारत दुवैतर्फ हुन्थ्यो । भोटको बजारमा नेपाली मुद्रा (टक) नै चल्थ्यो । भोटको आफ्नै मुद्रा थिएन । कान्तिपुर राज्यले मुद्रा आपूर्ति गथ्र्यो । तर, पृथ्वीनारायणले उपत्यकाको नाकाबन्दी गर्दा कान्तिपुरको आर्थिक अवस्था कमजोर भयो र जयप्रकाश मल्लले मिसावट भएको मुद्रा भोट पठाए अनि भोटनेपाल व्यापारमा समस्या आयो । भोटले मिसावट भएका (नयाँ) दुई मुद्रा बराबर पुरानो (शुद्ध) एक मुद्रा हुनुपर्ने सर्त राखेको थियो । भारततर्फ त नेपाली दुई मोहर बराबर एक भारतीय रुपैया सटही हुने गरेकोमा मिसावट भएका मुद्रा निष्कासन गरेपछि ३६ वटा नेपाली मोहर बराबर एक भारतीय रुपैंया चल्न थालेको थियो । यस्तो देखेका र भोगेका पृथ्वीले भने – “उप्रान्त टक्सार पनि चोखो चलाउनु” वर्षै भरि अत्यन्त कडा मिहिनेत गर्दा मात्र मुस्किलले खान लाउन पुग्ने राज्य गोर्खाबाट आएका पृथ्वीनारायण शाहलाई उब्जाउयोग्य जमिनको महत्व थाहा थियो । गोर्खामा खानी पनि थिएन; अरु त अरु नूनखानीसम्म राम्रो थिएन । त्यसकारण गोर्खामा खानीजन्य उद्योग र खेती फस्टाउन सकेनन् । तर पृथ्वीनारायणले निर्माण गर्दै गरेको नेपाल राज्यको त्यो अवस्था थिएन । खेतीयोग्य जमिन प्रशस्त थियो । खानीजन्य उद्योगको प्रचुर संभावना थियो । आवश्यकता थियो त राज्यको उपयुक्त नीतिको । पृथ्वीले दिव्य उपदेश गरे – “षानि भयाका ठाउँमा गाउ भया पनि गाउ अरु जगामा सारिकन षानि चलाउनु, गह्रा बन्या जगामा घर भया घर अरु जगामा सारि कुलो काटि षेत बनाई आबाद गर्नु ।”
उनले नेपाललाई वाह्य व्यापारको केन्द्र बनाउने सोच पनि राखेका थिए । त्यसबेला भारत र तिब्बतबिच पूर्वमा सिक्किमतिर र पश्चिममा कुमाउगढवालतिरबाट व्यापार हुन्थ्यो । यसैलाई दृष्टिगत गरी उनले भने – “पुरुव पछिमको रस्ता वन्ध गरि नेपालको रस्ता चलाई दिउला ।”
अन्त्यमा उनको एउटा उपदेशको उल्लेख गरौँ – “अन्याय मुलुकमा हुन नदिनु, निञा निसाव बिगान्र्या भन्याको घुस दिन्या र घुस षान्या ईन दुईको धनजिव गरि लियाको पनि पाप छैन ई राजाका महासतुर हुन् ।”
साँच्चै यो उपदेश हुबहु लागु गर्ने हो भने हामी कोको “धनजिव गरिलिने” (सर्वस्वहरणसहित प्राणदण्ड) कार्बाहीबाट बँच्नेछौँ होला ? हत्या, लुट, ठगी, बलात्कार, शोषण र हिंसाले ग्रस्त, नैतिकता गुमाउँदै गएको हाम्रो वर्तमान समाजमा भ्रष्ट र स्वार्थीद्वारा शासित हाम्रो मुलुकमा पृथ्वीका यी उपदेशहरु गायत्री मन्त्र हुन्, धम्मपदका बुद्धवाणी हुन्, मुन्धुमका मन्त्र हुन् । सबैलाई चेतना भया ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )